कामरेडका किचलोले जनता वाक्क !

नेपालमा ६० वर्ष भन्दा बढि भो कम्युनिस्ट पार्टी गठन भएको । त्यो बेला देखि अनेक पार्टी, गूट र उपगूट हुँदै आएका नेता मध्ये अधिकांश उनै बासी छन् । नकपा माओवादीले त्यो ईतिहाँस चुँडालेर हामी सुन्दर मुलुक बनाउँछौं भने । जनताले पत्याए । हजारौंले ज्यान दिए । रगत बगाए । निजि, ब्यक्ति र पारिवारिक सपना त्यागे । लागे ति माओवादीका आदर्श, नारा, योजना र नीतिमा । गएको तिस वर्ष देखि यो त्यो गर्दै आएका अधिकांश कम्युनिष्ट नेता अहिलेपनि माओवादीमै छन् । तर अब जनतालाई केहि देलान्, मुलुक बनाउलान् भन्ने बेला दिन दिनै जनतालाई निराश पार्दै छन् माओवादी नेता । जनतालाई दिने त यीनले केहि भएनन् । कम्तिमा थप निराश त नपारे हुने । थप गाइ जात्रा त नदेखाए हुने । तर जनता बाध्य छन् यीनको रडाको सुन्न । गाइजात्रा हेर्न ।

नेपालको समस्या नै राजतन्त्र हो भने नेताले । जनताले हो क्यारे भन्दै साथ दिए । मिलेर हुत्याए । राज्य व्यवस्था नै बदल्नुपर्छ भन्दा त्यसमापनि साथ दिए । अब हामी शान्तिपूर्ण तरिकाले मुलुक फेर्छौं भनेर आए । जनताले फेरीपनि मतदान दिएर सबैभन्दा विश्वास तिमीहरु प्रतिनै छ भनेर देखाए । शान्ति प्रक्रियामा पार्टीकै निर्णयले आयौं भन्दै जनतालाई देखाए । आफैंले मागेको संविधान सभा, आफैंले निर्णय गरेको शान्ति प्रक्रिया । नयाँ संविधान उनीहरुकै चाहना । त्यसैमा एक ढिक्का भएर लाग्नु पर्ने हो ।

तर कामरेडहरु शान्ति प्रक्रियामा आएदेखि बखेडा बाहेक केहि देखाएका छैनन् । सेना समायोजनमा कुरो मिल्यो भन्छन् । तत्कालै अर्को थरीले आपत्ती जनाउँछ । पार्टीको निर्णय भन्दै प्रधानमन्त्री एउटा निर्णय गर्छन् । अर्को पक्ष मारमुंग्री मच्चाउँदै सडकमा जान्छ । एउटाले यहि सरकार नभै हुन्न भन्छ, अर्को प्रतिपक्ष झैं राजिनामा माग्छ । जिम्मेवारी प्रमुख दलका हिसाबले शान्ति र संविधानका लागि सबैभन्दा ठूलो छ । जनताले अरुलाई समेत मिलाएर लैजाने अभिमत दिएका छन् । तर कामरेडहरुले अरुलाई मिलाउनु त परै आफू नाथे ३ जनापनि मिलेर देखाउन सकेका छैनन् ।

मधेशी दलहरु सितको चार बुँदे सहमती र अन्य दलसितको सात बुँदे सामती लगायत वीपा संझौता भएदेखि माओवादीले पार्टी बिबाद र मन मुटाउ जनताका घर दैलोमा पुर्‍याए । कहिले सँगै बस्न सकिन्न भन्छन् । एक थरी पार्टी मरिरहेछ भन्छन् त अर्काथरी नयाँ पार्टी जन्मिरहेछ भन्छन् । कोहि सेना समायोजन गर्ने भनेपछि चाबी बुझाउन के भो ? भन्छन् त अर्का थरी जनसेनालाई आत्मसमर्पण गराइयो भन्दै बिरोध गर्छन् । मुख्य गरि बाबुराम प्रधानमन्त्री भएपछि बरु माओवादी प्रतिपक्षीसित उति झगडा गरेनन् तर आफूबिच कुनैपनि विषयमा सहमती भएन । जिल्ला जिल्लामा आफ्ना समर्थक बिच भिन्न भेला, अलग बैठक र एकले अर्कोमाथि आक्रमण, एक्ल्याउने गरे । जनतालाई नाटक र गाइजात्रा देखाउनसम्म देखाए । पार्टीका भिन्न नेता अलग अलग नारा, आरोप, तर्क र योजना लिएर जिल्ला पुगे । जनताले कसका कुरा पत्याउने ? कतातिर लाग्ने ?

लामो बाबबिबादले माओवादी पार्टीलाईमात्रै क्षती गरेन । कार्तकर्ता बिभाजित भए । पार्टी बदनाम भयो । नेता आफैं कमजोर बने । त्यसले आफ्नै सरकारलाई कमजोर बनायो । वैरीहरु खेल्न पाए । प्रतिपक्षीहरुले पेल्ने अवसर भेट्टाए । बल्ल तल्ल आआफ्ना प्रस्ताब थाँती राखेर समझदारी गरेक भनेका नेता भोली पल्टैदेखि एक ले अर्कोलाई चोर औंलो ठड्याउन थालेका छन् । समझदारीमा एकले अर्कोलाई ढाँटछल भो भन्दै आरोपित गर्दै फेरीपनि जगत हसाउँन शुरु गरेका छन् । लाग्छ, अब माओवादी नेता आरोप प्रत्यारोपमै रमाउने पक्षमा छन् ।

उनीहरुमा हाम्रो साथमा अझै जनसेना छन् । एमाले र कांग्रेसको भन्दा जनमत बढि छ । आम कार्यकर्ताको पंक्ति छ । जनताले पत्याएर ठूलो पार्टी बनाएको हाम्लाईनै हो । त्यसैले हामीले जे गर्दापनि हुन्छ । हिजो पनि जनताकहाँ गएको आज झगडा लिएरपनि जनता कहाँ नै जाने हो । यस्तै मानसिकता पालेका छन् सायद माओवादी नेताले । शान्ति, संविधान, विकास, राहत, सुविधा र मुलुकको अग्रगमन हेर्न चाहेका जनतालाई माओवादीले आफैंले सास्ति दिन थालेका छन् । जनताका दैनिक समस्या चुलिँदा छन् ।

देशमा शान्ति छैन । मान्छे दिन दहडै ढुकुर झैं मारिदा छन् । घरमा खाना बनाउने ग्याँस छैन । बत्ति नभएर सारा अन्धकार छ । कल कारखाना बन्द, हडताल र बत्तिको अभावले झन धरासायी बन्दै छन् । सडक दिनहुँ बन्द र हडतालको घेराबन्धि छ । नयाँ नयाँ माग थपेर सडक कब्जा गर्ने प्रब्रित्ति झन बढेको छ । जनताका नेता जति शहरमा खाँदिएका छन् । गाउँ एक्लिँदो छ । यस्तो बेथितिको पुरस्कार जनताको हातमा राखिदिएर माओवादीले के गर्न खोजेको हो ? सबै भन्दा बदनाम र भ्रस्टहरुलाई टाउकोमा बोकेर एकातिर अपजसजति आफूले लिने र पार्टीलाई अझ गन्हाउने बनाउने । अर्को तिर आफू आफू लड्ने र त्यसको कोकोहोलो जनतालाई सुनाएर कुर्सी ओगटेर बस्ने । न ओगटेरलाई राहत, न शान्ति र संविधान । साँच्चै माओवादीले एकातिर दिन प्रतिदिन आफैंलाई गन्हाउने बनाउँदै छन् भने अर्को तिर जनतालाई आजित पार्दै । वाक्कै  बनाइसके जनतालाई । तैपनि त्यो सरकार नामको कुहिएको हड्डी भने छोड्दैनन् किन होला ?

त्यो हड्डी नपाएर नेपाली कांग्रेस रोइरहेको छ । माओवादीलाई त्यो हड्डी स्थानान्तरण गर्न गाली र धम्कि दिइरहेको छ । त्यसमा झुण्डिएर बदनाम बाहेक अर्को हाति लागि हुनु केहि छैन । शान्ति र संविधानकालागि मधेशी दल नामका भारतीय चैकीदारका बदनामको भारी बोकेर सरकारमा जुका झैं टाँस्सिनु जरुरी छैन। बाहिरै बसेर झन प्रभावकारी र हस्तक्षेपकारी भूमिका खेल्न सकिन्छ । पार्टीमा बसेर बहस र छलफल गरे हुन्छ । पार्टी कार्यकर्ता र जनतामाझ गए अझ राम्रो हुन्छ । तर कामरेडहरुको सुद्दि त्यतातिर छैन। किनभने सत्ताले मान्छेलाई अन्धो र ढ्याक बनाउँछ । रछ्यानमा पार्टी मिल्काउने र आफूपनि घ्रिणित नभएसम्म कामरेडका मथिंगलले त्यसको हेक्का नराखेको किन होला ?

तपाइँको प्रतिक्रिया