बैध्य पक्षका ढुलमुले कुरा
ढिलो र चाँडोको कुरो मात्रै हो । माओवादी अब ढिलो चाँडो फुट्छ । अझ धेरै धारे हात लगाउँछन् एकले अर्कालाई । आरोपका तह चुलिँदै जान्छन् । जनतासित गरेका बाचा पूरा नहुँदै ति छिनभिन्न हुँदै छन् भन्ने लगभग निश्चित जस्तै छ । संस्थापन पक्ष सुधारवादी धारमा गयो भनेर अहिले बैध्य पक्षका नेता कार्यकर्ताले आरोप लगाइरहेका छन् । त्यसको नेत्रित्व प्रचण्डले गरिरहेका छन् भन्नेमा क्रियाकलापलेनै देखाउँछन् ।
तर त्यत्ति भन्दैमा बैध्य पक्ष उम्किहाल्न पाउने, बच्ने र पार्टी फुटको औचित्य साबित गर्न सजिलो छैन । किनभने जुनसुकै आरोप, तरिका र बाटो लिएर फुटेपनि बैध्य पक्ष वा हार्ड लाइनर भन्नेहरुनै हिँड्नुपर्छ पार्टी छोडेर । किनकि बाबुराम भटराईको अति सुधारवादी धार र प्रचण्डको सुधारवादी (हार्डलाइनरका भाषामा) धारको धोल्लो खालकै भएपनि यतिखेर एकता छ । त्यसैले बैध्य बाले जनता, मध्यपन्थि कार्यकर्ता र बाहिरि जगतलाई केहि पक्षमा स्पष्ठ पार्नु जरुरि छ । किनभने अहिले अस्पष्ठ भनेकै हार्डलाइनर पक्षको देखिएको छ ।
संस्थापन पक्षले भनिसक्यो, जनबिद्रोहबाट सत्ता कब्जा गर्न सकिएन । अब संभव छैन । त्यसैले शान्ति र संविधानबाट अगाडि बढ्ने र सुधारको बाटोबाटै आर्थिक सुधार गर्नुको उपाय छैन । भट्टराइको त पहिलेदेखैनै लाइन अझ स्पष्ठ थियो शान्ति र संविधानका पक्षमा । तर बैध्य पक्षिय भनिने हार्डलाइनरहरु त्यसलाई पार्टीमाथिको गद्दारी भनिरहेका छन् । प्रचण्ड र भट्टराईको शान्ति र संविधानको प्रस्ताबलाइ सुधारवादी, दक्षिणपन्थी धार भनेर आरोप लगाइरहेका छन् । प्रचण्ड पार्टी मरिरहेको तर्क गर्छन् । उता बैध्य बा नयाँ पार्टी जन्मिरहेको दाबी गर्छन् । जनबिद्रोहकालागि झन उपयुक्त परिस्थिति स्रिजना हुँदै गएको तर्कपनि बैध्य पक्षको छ । तर कसरि ?
मधेशी दलसित मिलेर चार बुँदे सहमती गर्दा पार्टीमा हार्डलाइनर भनिने बैध्य पक्षले बिरोध गरेको आम नागरिकले देख्न पाएनन् । उनीहरुले बिरोध गरेका थिए भने त्यो सहमती हुनासाथै किन गरेनन् ? किन सरकार बनाउने बेला अर्थमन्त्री, ग्रिहमन्त्री लगायतका पद भिन्न पक्षकाले पाउनुपर्छ भन्दै दाबी गरे ? उनीहरुले मधेशी पार्टीहरुसित गरेको चार बुँदे सहमती राष्ट्रघाती छ त भनेका छन् तर त्यो सहमती गरेकै बेला बाहिर ल्याएनन् । सरकारमा आफूले मागेका महत्वपूर्ण पद नपाउने अवस्थामा मात्रै देखापर्यो । यहिँनिर उनीहरुले स्पष्ठ पार्नुपर्ने के छ भने त्यस्तो राष्ट्रघाती सहमती पार्टीले गरेको थियो भने त्यहि सरकारको राम्रो पद लिन चाहिँ किन दाबी गरे ? के महत्वपूर्ण पद पाए मधेशी मोर्चासितको सहमती ठिक हुने र पद नपाउँदा बेठिक हुने हो ? त्यसैले उनका कुरा ढुलमुले लाग्छन् । यदि तिनको पद लिएर क्रान्तिकै पक्षमा काम गर्ने, मधेशीसितको समहती तुहाउने योजना थियो भने के कसरि थियो ? उनीहरुले स्पष्ठ पार्नै पर्छ ।
अहिले पार्टी फूटको डिलमा पुग्नुको कारण नै पालुङटार भेलाले पास गरेको जनबिद्रोहको दिशामाथि धोका भयो भन्ने छ । नेकपा माओवादीले अघिल्लो साल काठमाडौं नाकाबन्दि गरिगरि जनबिद्रोह गर्ने कोसिस गरेकै थियो । त्यतिबेला त्यो जनबिद्रोह सकिएन भनेर खुट्टा झिके । त्यसमा प्रचण्ड एक्लैले पक्कै निर्णय गरेका थिएनन् । जनबिद्रोह गर्ने र नसकेर फिर्ता लिने दुबै निर्णय पक्कै माओवादी पार्टीकै थियो । त्यसमा फरक पक्ष भनिनेपनि पर्छन् नै । यदि जनबिद्रोहको लागि तत्कालिन परिस्थिति उपयुक्त थिएन भने अहिले कसरि उपयुक्त छ ? अबको जनबिद्रोह कसरि हुन सक्छ ? के कति कारणले जनबिद्रोह आवश्यक छ र त्यो कसरि सफल हुन सक्छ ? जनबिद्रोहको को कोरा आदर्शले मात्रै जनताले पत्याउने होइनन् कि त्यसलाई तर्कपूर्ण र युक्तिसंगत, व्यवहारिक ढंगले स्पष्ठ पारिनु पर्छ ।
सबैभन्दा ठूलो दोधारेपन त उनीहरुले न क्रान्ति न शान्ति र संविधान केहिमा पनि स्पष्ठ पारेको दिखिन्न । बैध्य बा नेपालका सबैभन्दा अब्बल मानिन्छन् कम्युनिष्ट दर्शनशास्त्रमा । उनी कम्युनिस्टका आदर्श र दर्शन जान्दा हुन् पनि सबैभन्दा बढि, बुझ्दा हुन् पनि । तर जनताले अहिले देखेको के भने बैध्य बा कहिले ‘हामी शान्ति र संविधानका बिरोधी होइनौं’ भन्छन् । कहिले ‘हामीपनि शान्ति र संविधानकै पक्षमा छौं’ भन्छन् । कहिले संविधान सभालाइ भंग गरेर तत्कालै जनबिद्रोहमा जानुपर्छ पनि भन्छन् । एकातिर शान्ति र संविधान भन्ने । अर्कोतिर जनबिद्रोहपनि भन्ने । कहिले यो सरकार भंग गरेर महासचिव रामबहादुर थापाको नेत्रित्वमा राष्ट्रिय सहमतीको नयाँ सरकार बनाउनुपर्छ पनि भन्ने। आफूले पाए प्रधानमन्त्री लिएर सरकारमै जाने । अरु हुँदा भंग गरेर जनबिद्रोहमा जाने । यो भिन्नता कसरि ? केका लागि हो ? यो कस्तो लाइन हो ? आफू सरकारमा गए कसरि जनबिद्रोह हुन्छ ? कि आफू पक्षका नेताले सरकारको नेत्रित्व गर्न पाए जनबिद्रोह नचाहिने हो ? उनका नीति स्पष्ठ लाग्दैनन् । यस्तो दोहोरो भनाई र तर्क जनताले बुझ्न सक्ने कुरै हुँदैन । जनबिद्रोहनै बिकल्प हो भने ‘हामीलाइ यो संविधान सभामा बिश्वास नै छैन, हामीलाइ यो सरकारमा जानुनै छैन’ भनेर किन नभनेका ? यो यो कारणले गर्दा अन्तिम र एक मात्रै बिकल्प हो जनबिद्रोह भनेर पार्टीमा आफ्ना मत किन नलगेका ? किन स्पष्ठ नपारेका ?
देशले दश वर्षभन्दा लामो समय युद्द लड्यो । अरबौंको क्षती भयो । १६ हजार नागरिकको ज्यान गयो। आर्थिक र भौतिक संरचना ध्वस्त भए । के देशले अब अर्को लामो हत्या र हिंसा धान्न सक्ला ? देशमा फेरी ग्रिहयुद्द मच्चिए त्यसले कस्तो परिणाम ल्याउला ? अघिल्लो वर्षसम्म जनबिद्रोहका लागि अनूकुल परिस्थिति नबनेको भन्दै पछाडि हटेकोमा अहिले यति छिट्टै कसरि उपयुक्त भयो ? जनबिद्रोहमा जाने भन्नाले के बुझाउँछ ? तत्कालै जाने हो कि ? जनताका मागहरु लिएर आन्दोलन गर्ने हो पहिले कि ? ति माग पूरा भएनन् बैधानिक बाटोबाट भने मात्रै जनबिद्रोह गर्ने हो कि ? पार्टी फुटाएर पुरानोसत्ता को ध्वंश हुनुपर्छ पहिले भन्दै तत्कालै अर्को हतियारबद्द युद्द शुरु हुने हो ?
संस्थापन पक्ष दक्षिणपन्थी धारमा जान लागेको सिद्द गर्न गाह्रो नहोला । आम जनताका वास्तविक समस्या हल गर्नेतिर भन्दा प्रचण्डको नेत्रित्व सिमित समूह, वर्ग र आफ्नै स्वार्थ केन्द्रित भएको बुझाउन पनि कठिन छैन । जनयुद्दले गरेका बाचाहरु, जनताका अगाडि जनयुद्दको आव्हान गर्दै दिएका आश्वासनहरु अब प्रचण्ड नेत्रित्वले पूरा गर्ने छाँट छैन । तर त्यसको समाधान भनेको अर्को जनबिद्रोहनै हो, फेरी जनयुद्दको निरन्तरता नै हो भन्ने औचित्य कसरि साबित गर्ने ? यत्रो जनयुद्द लडेर आएको पार्टीका नेता, पार्टी यति छिटै खुइलिएर एउटा सिमित वर्ग, समूह र नेताकै प्रतिक्रियावादी चिन्तनमा डुब्छ भने उनैसित जनयुद्द गरेका अबका नेतालाई कुन आधार र विश्वासमा जनताले पत्याएर जनबिद्रोहलाई साथ दिने हुन् ? केहि नेता र कार्यकर्ताको चाहनाले मात्रै हुने होइन । जनता साँच्चै जनबिद्रोहका लागि तयार होलान् ? साथ देलान् ? त्यसलाइ कसरि पुष्टि गर्ने हो ? सिंगो पार्टी लागेर जनबिद्रोहको कोसिस गर्दा त हुन नसकेको अब कसरि सफल होला ? देश सधैं अशान्ति र लडाइंमा जाँदा वैदेशिक हस्तक्षेपको संभावना कति होला ? त्यस्तो हस्तक्षेप भैहाले त्यसलाई कसरि पराजित गर्ने हो ?
फरक मत, हार्ड लाइनर वा बैध्य पक्ष जे भनेपनि तिनले स्पष्ठ पार्नुपर्ने कुरा धेरै छन् जनबिद्रोहमा जाने निर्णय गर्नु पहिले । युद्द जनताले साथ नदिइ लडिँदैन । जनताको इच्छा र चाहनाबिना केहि नेता र कार्यकर्ताको चाहनाले युद्द लडिन्न । मूलत जनता तयार हुनुपर्छ जस्तोसुकै परिवर्तनकालागिपनि। त्यसको लागि जनता स्पष्ठ हुनुपर्छ । तर अहिले शान्ति र संविधान, सरकारको नेत्रित्व, जनबिद्रोह, संविधान सभा बिघटन पनि भन्दै गरेर जनता अलमलमा परेका छन् । यसमा वैध्य बाले स्पष्ठ पार्नै पर्छ ।




