जनता सताउने गुण्डालाइ के को शहिद ?

कहिलेकाहिं यो कांग्रेस पार्टी देखेर अचम्मै लाग्छ । प्रजातान्त्रिक मूल्य मान्यता र आदर्शको कुरो । असल शासनको गफ । हामी पुरानो पार्टी भन्छ । तर उसका नेता सबैभन्दा भ्रस्ट छन् । ज्यानमारा भएपनि भयो । लूटेरा भएपनि सकार्‍यो । भ्रस्टहरुलाइ फूलमाला भिराएर स्वागत गर्‍यो । अरुलाइ भन्नु पर्दा शहिदको अपमान भो भन्ने आफूले चाहिं लूटेरा, गुण्डा, जनता सताउने, फटाहा, अपराधीलाई शहिद बनाउनु परो भन्दै देश ठप्प पार्ने । अहिले नेपाली कांग्रेसले त्यहि गरिरहेछ आफ्नो भात्री संगठन तरुण दलको जिल्ला अध्यक्ष शिव पौडेललाई शहिद बनाउनुपर्‍यो भन्दै। जसलाई आफ्नो संगठनबाट कारवाही गरेर उहिल्यै मिल्काउनु पर्ने थियो उसैलाइ काखि च्याप्ने र अपराधिक क्रियाकलापमा मुछिएकालाई शहिद बनाउुनुपर्ने कांग्रेसको जबर्जस्ति ।

घटना हुनु हुँदैनथ्यो । हरेक नागरिकले बाँच्न पाउनुपर्छ । नागरिकको सुरक्षा जहाँ होस् सरकारले गर्नुपर्छ । जेलभित्रका नागरिकको सुरक्षामा प्रशासन चुकेको छ । ग्रिहमन्त्री यसको जिम्मेवारीबाट उम्कने ठाउँ छैन । जसको जिम्मेवारी उ सजायँको भागि हुनै पर्छ । तर घटना भैसक्यो । अब त्यसलाई निहुँ खोजेर हुन्न । म्रितकका विषयमा उचित न्याय हुनै पर्छ । सरकार त्यसमा गम्भिर नदेखिएको होइन । म्रितकका परिवारलाइ क्षतीपूर्ती स्वरुप दश लाख र घटनाको न्यायिक छानबिन गर्न तुरुन्तै समिती गठन गरेर सरकारले गम्भिरता देखाएको छ । अब गर्ने के ? नेपाली कांग्रेस सरकारमा हुँदो हो त गर्दो हो के ?

देशमा सबैभन्दा लामो समय सरकार चलाएको हो कांग्रेसले । प्रजातान्त्रिक दल मध्ये सबैभन्दा धेरै । कांग्रेसको शान्ति सुरक्षा देखिएकै हो । नेपाली कांग्रेसकै मन्त्रीले हजारौं जनताको ज्यान लिएकोपनि यथार्थ हो । आतंककारी र माओवादी जस्ता आरोपमा सडकमै हिँडिरहेका निर्दोष नागरिकको हत्या ढुकुर झैं गरेकै हो कांग्रेसले । तिनको लागि गर्‍यो के ? सायद नेपाली कांग्रेसका नेताको टाउकोमा होला सबै भन्दा धेरै नागरिक हत्या गरेको किर्तिमान । तर ति ठाँट पल्टेर हिँडिरहेकै छन् । तिनै सबैभन्दा ठूला मानव अधिकारका संरक्षक, प्राजातान्त्रिक । शिव पौडेलको घटनामा त्यो ईतिहास भुले तिनले ।

यो र त्यो भन्नु छैन, हाम्रा सबै राजनितिक दलले गुण्डा पालेका छन् । लूटेरालाइ पोसेका छन् । त्यसैले चितवनमा कांग्रेस र एमालेका पाल्तु गुण्डाबिच झगडा भयो । झगडापनि लुट्नका लागि । कसले कति लुट्ने भनेर । ठेक्कापट्टा, ढाट, कर, कमिशनमा कसले रामराज्य मच्चाउने भनेर । शिव पौडेल तरुण दलको अध्यक्ष बनेको राजनितिक आवरणमा लुट्न हो । नत्र ठेक्का पट्टा, कमिशन र ढाटमा कब्जा जमाउन गरिन्न राजनिति । उसलाई देश र जनताको, समाजको सेवा गर्न होइन नेपली कांग्रेसको छहारी लुट्न, जिल्लामा आतंक मच्चाउन, मान्छेलाई आतंकित पारेर नेता र प्रशासनको आडमा बच्न चाहिएको थियो ।

तैपनि, बिनासकाले बिपरित बुद्दी। अपराध गर्नेहरु सधैं बच्छन् र ? आफ्ना पाखुरा बलि या हुँदा, आफ्नो बल पुग्दा शिव पौडेलले अरुमाथि आक्रमण गरेको थियो । एमालेको युथ फोर्समाथि उसले आक्रमण गरेको थियो । पछिल्लो पटक एमालेकाले सिध्याए । राजनितिक प्रतिशोधले होइन कि एउटा गुण्डा, समाज सताउने, लुटेरा, अपराधीका रुपमा उसको जिवन समाप्त भएको हो । जिल्लामा राजनितिक ब्यक्तित्व होइन कि गुण्डागर्दी मच्चाउने उसले परिचिय बनाएको हो । भलै चुनाबमा भोट लुट्न र अरुलाई थर्काउन नेताले राजनितिक घेरो भित्र सुरक्षा दिइरहे ।

नेपाली कांग्रेसले त्यसको यथार्थलाई कुल्चेर शहिद घोषणा गर्नुपर्ने माग राखेको छ । पहिले माओवादीले जहां जे जसरिपनि मारिएका कार्यकर्तालाई शहिद घोषणा गर्न लगाएर सात हजार बनायो शहिद संख्या । सरकारलाइ दबाब दियो । अहिले पालोको पैंचो झैं कांग्रेसले शहिदको माग गरेर देशलाई अपांग बनाउने कार्यक्रम घोषणा गरेको छ । तोडफोड, आगजनी, कुटपिट र आतंक मच्चाएर खुब बदलि इरहेका छन् कांग्रेस कार्यकर्ताले । आर्थिक घाटा त छँदै छ देशलाई, आम नागरिकलाईपनि एक्कासि दिनुसम्म सास्ति दिएका छन् । शिव पौडेलले बाँचुन्जेल जनतालाइ सास्ति दिए, जिल्लाको सुरक्षामा चुनौति दिएर आतंकित पारे, दुख दिए। मरेपछि फेरि उनैको नाममा नेपाली कांग्रेस सिंगो पार्टीले दुख दिँदै छ । एउटा गुण्डाको हत्यामा नेपाली कांग्रेसले यतिबिघ्न देश हल्लाउनु कति उचित होला ? तिनले साँच्चै सोचेका छैनन् ।

देशकालागि, समाजकालागि लड्दा लड्दै, देश र जनताको मुक्तिको लागि कसैसित नझुक्ने ब्यक्तिले हाँसी हाँसी संगिनलाइ छातीमा थापेर ज्यान गुमाए हुने हो शहिद । यो कांग्रेसले नबुझेको होइन । तर बुझि बुझिपनि नेपाली कांग्रेसले एउटा लूटेरा, गुण्डा, ठग र समाजमा आतंक मच्चाउंदै हिँड्ने, जनता सताउनेलाई शहिद घोषणा गर्न्नु पर्ने शर्त राखेर आफ्नै पार्टीको गरिमालाई अवमूल्यन गरिरहेको छ । आफ्नै इतिहास र संगठनको आदर्शमा हिलो छ्यापिरहेको छ । जनताका बिचमा नेपाली कांग्रेसलाइ थप नांगो पार्न कांग्रेसी नेतानै यो घटनामा कम्मर  कसेर लागेका छन् । उनीहरुले ठग, चोर, लोटेर, डांका, गुण्डालाई आपसी झगडामा परेर मारिएपनि शहिद बनाउने कुसंस्क्रितिको परम्परा शुरु गर्न खोजेको धब्ब्दा बोक्न खोजिरहेका छन् ।

सरकारलाइ के कसरि असहयोग गरौं, थप असफल पारौं, खुइल्याउँ भन्ने योजना होला कांग्रेसको । यो मसला बन्यो भन्ने लागेको होला कांग्रेसका नेतालाई । तर जुन मसला तिनले प्रयोग गरिरहेका छन् तत्कालकालागि शान्ति सुरक्षामा चुनौति देखिएपनि अन्तत : त्यो नेपाली कांग्रेसनै जाक्किने महा खाडल हो । तर के गर्नु, कांग्रेसलाई त्यसको हेक्का देखिन्न । बाहिरकाले त राम राम सम्म भन्ने न हो, नेपाली कांग्रेसका बुद्दिहिन नेतासितै प्राण त्याग्न सकिन्न क्यारे !

तपाइँको प्रतिक्रिया