माओबादी होली : पहिले रगतमा अहिले नगदमा

शिव राज पन्त

दश बर्षभन्दा बढी भैसक्यो माओबादीहरुले नेपालमा होली मनाइरहेको । युद्दका बेला जनताको रगतमा होली खेले आतंक फैलाएर । करिब १५ हजार नेपालीले ज्यान गुमाए । आखिर त्यो युद्दको उपलब्धि खासै थिएन भलै माओबादीहरु त्यसलाई महान र उपलब्धिमुलक ठान्छन र बेला बेला बोल्ने पनि गरेका छन् । त्यो युद्दले न ज्ञानेन्द्रको सत्ता ढालेको हो न देशमा गणतन्त्र आएको हो ।

यो आमुल परिवर्तन त आखिर महान नेपाली जनताको जनआन्दोलन २ को उपलब्धी हो । त्यसकारण त्यो युद्दको नाममा जे जति जनता मारीए तिनको रगत खेर गएकै हो । तिनले अनाहकमा ज्यान गुमाएका हुन् । चाहे ति माओबादी हुन् , चाहे सुरक्षा निकाएका या सर्वसाधारण जनता नै किन नहुन । आज माओबादी आफ्नो समर्थक जसले  युद्द वा अन्य बहानामा ज्यान गुमाए ति सबैलाई सहिद घोषणा गरेर सहिदको संख्या नै हजारौं पुर्‍याइदिएर हाँस्यास्पद काम गरे । 

त्यतिबेला शिक्षकको घाँटी रेटियो । पत्रकारको ज्यान लिएर खाल्डोमा पुरियो । चितवनको माडीमा त बसभित्रका सबै यात्रु ज्युदै आगोमा जलेर मरे माओबादीका कारण । अति निर्मम र गैरकानुनि हत्याहरु भए माओबादीबाट । जो उनीहरुको लहैलहै र सनकको पछी लागेर तालि बजाउन मानेन उसको ज्यान जोखिममा पर्यो ।  डर र धम्कीका कारण आफ्नो पुस्तैनी थलो छाडेर सदरमुकाम तथा राजधानी सर्नेको संख्या त कति हो कति । कति व्यक्तिका जग्गा माओबादीले बन्दुकको नालको बलमा कब्जा गरे । आज फिर्ता गर्छु भन्दै हिड्ने तर कहिले नगर्ने गरि ति पिडितहरुको घाउमा नुन छर्ने काम गर्दै छ माओबादी । किसानले लगाएको धान पाकेपछि माओबादीले लुटेको सम्म समाचार सुन्नु पर्यो हामीले ।  

युद्दका बेला मात्र सिमित नभएर हत्याको शृंखला माओबादी सरकारमा आएपछिपनि जारी रह्यो । पत्रकार विरेन्द्र साह, व्यापारी रामहरी श्रेष्ठ र दुइ युवा निर्मल र पुस्करले माओबादी सरकारमा आएपछि, प्रचण्ड प्रधानमन्त्रि हुँदा ज्यान गुमाउनु परेको थियो । अनि ति मारिनेहरु न सुरक्षा निकाएका थिए, न राजनीतिक पार्टीका थिए । ति केवल आम जनता थिए या आफ्नो श्रमगरि खाने व्यापारी वा पत्रकार थिए । यसरि माओबादीहरुले योजनाबद्द रुपले नेपाली जनताको गैरन्यायिक हत्या गरे । अनि आज सत्ता र सरकारमा गएपछि ति हत्याराहरुको मुद्दा फिर्ता लिने र आम माफी दिने काममा लागिपरेका छन् विद्वान, डाक्टर र सुशाशनका नाइके अहिलेका प्रधानमन्त्री बाबुराम भट्टराइ । कति घृणित र तल्लो स्तरको काम हो यो एउटा विधिको शाशन भएको मुलुकमा ।  

अब कुरा गरौँ माओबादीको नगद होलीको । नगदको होली खेल्ने क्रममा  माओबादीले गम्भीर आर्थिक अपराध गरिरहेका छन् । नौलो र चरम भ्रष्टाचार जनताले देख्नेगरि भएका छन् । राज्यकोषको दुरुपयोग गर्नेमा भट्टराई सरकारले सबै रेकर्ड तोडेको छ । उनले जम्बो मन्त्रीमंडल बनाएर नेपाली जनतालाई ठुलो भार बोकाए । ६०१ सभासदलाइ पहिले देखिनै राज्यले पालिरहेको छ । शिविरमा रहेका लडाकुहरु नेपाली जनताको करमा पाल्नुपरेको छ । अर्को कुरो के पुष्टि भयो भने आफ्ना सभासदलाइ तलब खुवाउन र ति लडाकुको नाममा राज्यकोष लुट्न जानी जानी माओबादीले संबिधान सभाको म्याद थपिरहेका रहेछन । नत्र शान्ति प्रक्रियाको महत्वपुर्ण पाटो सेना समायोजन बल्ल शुरु गर्नुको अर्थ के थियो ? आखिर यो अन्य दल भन्दा माओबादीसंग बढी सरोकार राख्ने विषय हो । कार्यकर्ता पोस्न र पार्टीको लागि द्रव्य जम्मा गर्न नै यो शान्ति प्रक्रिया माओबादीले लम्ब्याइरहेको स्पष्ट हुन्छ । ३००० जति लडाकु शिविरमा रहेनछन तर तिनको तलव माओबादीले ५ बर्षसम्म बुझिरह्यो ।  मतलव देश र जनता लुटीरह्यो । यो रकम करिब डेढ अर्ब हुन्छ ।  कहाँ गयो यो नेपाली जनताको पसिना ? कसले खायो ? प्रचण्डले कि बाबुराम ले ? या बैद्द ले ? या  फेरी सबै मिलेर खायौ ? नेपाली जनतालाई जवाफ चाहिन्छ । 

रडियोमा जनतासंग बोल्ने कार्यक्रममा यो रकमको कुरा उठाउँदा भट्टराइले शान्ति प्रक्रिया अवरुद्द हुने चेतावनी दिए । के यहि हो त जवाफ ? एउटा बौद्दिक, आश गरिएका र प्रधानमन्त्रीको कुर्सीमा बसेका अनि माओबादी पार्टीकै उपाध्यक्ष जस्तो व्यक्तिले यति तल्लो स्तरको जवाफ दिएर पन्छिन मिल्छ ? के शान्तिप्रक्रिया वा उनका लडाकुलाइ तह लगाउने नाम मा माओबादीले जनतालाइ यसरि लुटीरहन पाउँछ त ? त्यहि कार्यक्रममा उनले आफु शुसाशन कायम गराउन प्रतिबद्द रहेको र नातागोता र आसेपासेलाइ जागिर वा अर्थीक लाभ नदिने कुरा जनता अगाडी बोले । भोलिपल्ट उनकी पत्नी हिसिला यमीले आफ्नी दिदि तिमिला यमीलाइ जबर्जस्ति के यु के एल को अध्यक्ष पदमा नियुक्त गर्ने प्रक्रिया अघि बढाइन् ।  भनाइ एउटा र गराई एउटामा भट्टराईले प्रचण्डलाई उछिने । आखिर उनि बौद्दिक र जनताले आशा गरेका न परे ।  

२७ लाखको त चियापान नै भएछ मितव्ययी प्रधानमन्त्रिबाट । सल्लाहकारको संख्यापनि उनको जति धेरै कसैको छैन । मन्त्रि महेन्द्र यादवले सबै सरकारी योजनाको फाइल अघि बढाउन नै घुस मागेर प्रिपेड घुस भन्ने नौलो भ्रष्टाचारको थालनी गरे । त्यसमा शुशासनको मन्त्र जपिरहने प्रधानमन्त्रीले चुँक्क बोलेनन् र अख्तियार नै अघि बढेर फाइलहरु अघि बढाउन निर्देशन दियो । उनले पद सम्हाल्ने बित्तिकै कर्मचारी सरुवा नगर्ने बताएका थिए । तर बोलेको १ महिना नबित्दै व्यापक कर्मचारी सरुवा भयो । यसमा मूल्य नै तोकेर पैसा मागिएको खुलाशा भयो । तर भ्रष्टाचार प्रति शुन्य सहनशील प्रधानमन्त्रीको मुखको बिर्को यतिबेला पनि खुलेन । युवा स्वरोजगार कोषको रकम भटाभट आफ्नो कार्यकर्तालाई बाँडे माओबादीले । युवासंघले ज्ञापनपत्र बुझाउन जाँदा बुझ्न नमानेपछि झडप भएको थियो । 

लडाकुले अहिले माओबादी नेतृत्वले गरेको अर्को भ्रष्टाचारपनि खुलाएका छन् । प्रत्येक लडाकुको तलबबाट माओबादीले मासिक १००० रुपियाँ लिरहेका रहेछन । त्यसमध्ये ५०० रुपियाँ लडाकुको बचत र ५०० रुपियाँ पार्टीलाई चन्दा भनेर लिएको रहेछ । तर अहिले पुनार्बर्गीकरण सकिन लाग्दापनि माओबादी नेतृत्वले त्यो रकमको बारेमा केहि बोलेको छैन । ति ज्यानको बाजी लगाएर बन्दुक बोकेका, गरिब र यतिका बर्ष शिविरमा बस्न बाध्य पारिएका निमुखाको पैसा माओबादी नेतृत्वले हज़म गर्नु कहाँसम्म न्यासंगत होला ? पार्टीलाई चन्दा त आजका करोडपति प्रचण्ड, हिसिला, जमकट्टेल जस्ता नेताहरुले दिनुपर्ने होइन र ? या ५०००० रु. भन्दा बढी तलव भत्ता बुझ्ने सभासदहरुबाट लिनुपर्ने हो । सर्वहारा बर्गको पार्टी माओबादीको यो कस्तो नीति ? गाइ मारेर गधा पोस्ने । गरिब लुटेर सामन्ती पोस्ने । 

यसरि माओबादीले आज व्यापक आर्थीक हिनामिना गरि पार्टी र कार्यकर्ता पोषिरहेको छ । अब फेरी ६ महिना संबिधान सभाको म्याद थपियो, कम्तिमा पनि अर्को ६ महिना त यो ब्रह्मलुट चल्ने नै भयो । आशा गरौं अब फेरी चुनाव भएपछी जनताले माओबादीलाई  आफ्नो हैसियतमा झार्ने छन् र यो लुट रोकिने छ ।  

(बिचार तर्क सबैका आआफ्ना हुन्छन् त्यसैले तर्क संगत शिष्ठ तरिकाले प्रतिक्रिया जनाउनुहोला अशिष्ठ, विषयसित मेल नखाने, आक्रामक अभद्र प्रतिक्रियाहरु हटाउन बाध्य भइने नेपालप्लस)

तपाइँको प्रतिक्रिया