देश लुट्न नपाएपछि सर्बोच्चलाई सत्तो सराप

हाम्रा सभासदले चार वर्ष भन्दा बढि देश लुटे । जनतालाई संविधान दिन्छौं भनेर ढाँटे । राष्ट्रमा शान्ति ल्याउँछौं, देश विकास गर्छौं भन्दै झुक्याए । सरकार फेरी फेरी देशको ढुकुटीमा खुनी नंग्रा गाडेर खाए । ढाँट्दै र झुक्याउँदै देश लुट्नुसम्म लुटेपछि सर्बोच्चले राष्ट्रिय हितका पक्षमा निर्णय गर्दा तिनलाई खपिसक्नु भएन । अनि देशलाई अझै लुट्न नपाइने भो भन्ने डरले सर्बोच्च अदालतलाई गाली गर्न लागेका छन् । सर्बोच्च अदालतले राजनितिक निर्णय गर्न पाउँदैन । हामी राजनिति गर्नेको अधिकारमाथि धावा बोल्यो । उसले क्षेत्राधिकार नाघ्यो भन्दै कुर्लिएका छन् एमाले र माओवादीका चुसाहाहरु ।

चार वर्षसम्म हामी सभासद भन्दै भत्ता खाए । संसद भवनमा निदाउन गएको पैसो लिए । देशलाई भड्खालामा जाक्न दगुरेको पैसो पनि सोहोरे । जनतालाई महँगीको मार खुवाउन गएको दिनको भत्तापनि छोडेनन् । कुर्सी भाँच्न जाँदापनि यता पैसो लिए । मुखले छ महिनामा संविधान बनाउन सकिन्छ भने तर चार वर्षसम्म म्याद थप्दै देश लुट्दै गरे । देशलाई थप कंगाल बनाए । अनि अब त अति भो भन्ने पर्‍यो देशको सर्बोच्च न्यायिक थलो सर्बोच्चलाइ । उसले मुख्य खोल्यो, ल कि बिकल्प देउ । कि ताजा जनदेशमा जाउ । कि यो छ महिनामा संविधान बनाउ । अब संविधान सभाको म्याद नथप । बाफ रे बाफ अनि त माओवादीका जो ठग्न गएका छन् पोष्टबहादुर बोगटी मार्काका । ति र ठगी खान पल्केका एमाले मार्कालाइ खपिसक्नु भएन । तिनले अझै संविधान सभाको म्याद थप्ने दाउ कुरेर बसेका रहेछन् । संविधान नबनाउने । सकेसम्म बरु १२ वर्ष सम्म म्याद थप्दै सभासद हुँ भन्दै भत्ता खाएर देश लुट्ने ।

देश लुट्न बसेका, काम चोर, संविधान बनाउँछु भनेर ढाँट्न पल्केका यी ढँटुवा, संसदमा गएर सुत्दै फर्किँदै गर्ने यी कुम्भकर्णलाई मान्छेका झैझगडा र मारपिटका घटना अनि जग्गाको किचलो मिलाउने मात्रै हो सर्बोच्च अदालतको काम भन्ने लाग्दो रहेछ कि कि के ? नामनै सर्बोच्च न्यायालय । सर्बोच्च न्यायालयको काम देश, जनता, राष्ट्र र राष्ट्रिय हितको सुरक्षा गर्ने हो । संबिधान सभा भन्दै म्याद थप्दै भत्ता खाँदै गरेका थिए । सर्बोच्चमा उजूरी पर्‍यो । उसले म्याद थप्दै देशलाई अनिर्णयको बन्दि बनाउने काम टुलुटुलु हेर्न चाहेन । किनभने जनता त्यो चाहँदैनन् । संविधान नदिने, जनतालाई राहत दिन नसक्ने, देशलाई राजनितिक दिशा नसक्ने यो संविधान सभाबाट जनता आजित भैसके ।

संसदभित्र बसेर देश र जनताको रगत र पसिना चुस्दै बसेका, राष्ट्रिय ढुकुटीको ब्रम्हलूट गरेकालाई अब जनताले पाल्न सक्दैनन् । जनतालाई ढाँट्ने काम गर्दै राष्ट्रिय ढुकुटीबाट भत्ता कुम्ल्याउन नछोड्ने सभासदलाई अब जनाताले पाल्न सक्दैनन् । त्यो भंग नभएसम्म देशले अर्को निकास पनि पाउँदैन । यीनले संविधान बनाउनकालागि संविधान सभाको मिति लम्ब्याउँदै गएका होइनन् । देशको सम्पतीमा मोज गर्नकालागि मात्रै हो भन्ने यीनले बोलेका ढाँट र यीनको नालायकीपनबाटै स्पष्ठ भैसक्यो । त्यो सबै अत्याचार, लूट, भ्रस्टिकरण र दिशाबिहिनता सर्बोच्च न्यायलयले हेरेर बसिराख्न सक्दैन र मिल्दैन ।

देश जसले लुटेर खान पायो उसको मात्रै होइन । संविधान बनाउँछौं भन्ने तर नबनाउँदा पनि गोजीमा देशको भत्ता हालिराख्नेको मात्रै यो मुलुक होइन । आम नेपाली जनता के चाहन्छन् ? जनताको न्याय कसरि सुनिश्चित हुन्छ ? जनतालाई कसरि न्याय दिन सकिन्छ ? देशको सर्बोच्च न्यायालयले गर्ने यहि नै हो । अहिले सर्बोच्च अदालतलाई जसले गाली गर्दै हिँडेका छन् ति देश लुट्ने लाइसन खोसियो, अझै देशको सम्पत्तीमा नंग्रा गाड्न पाइएन भनेर कुर्लनेहरु हुन् ।

सर्बोच्चको निर्णय स्वागतयोग्य छ । नेपालीको हितमा छ । आम नागरिकको चाहनामा उसले न्याय गरेको छ । चार चार वर्षसम्म शन्ति र संविधान दिन नसक्ने यो संविधन सभा राखिरहनुको कुनै अर्थ छैन । देशले अब कुनै न कुनै निकास पाउनै पर्छ । एउटा बाटो रोज्नै पर्छ ।

तपाइँको प्रतिक्रिया