देशै ट्क्र्याउनेहरुका अगाडि सुरुङयुद्द लड्नेहरु चुपचाप

टुकुचाको खोलामा भन्दा बढि रगत बगे होला माओवादी जनयुद्दका नाममा । जजसको बगेपनि नेपाली जनताको मुक्तिको नाममा बग्यो । राष्ट्रियता, राष्ट्रिय अखण्डता र सार्वभौमसत्ताको रक्षा गर्ने नाममा माओवादीले उचाल्दा धेरै नेपाली छोराछोरीले रगत दिए । कांग्रेसले देश बेच्यो, एमालेले सहि ठोक्यो भन्दै पाठ घोकाए माओवादीले ‘यो देशको रक्षा गर्ने हामी माओवादीले मात्रै हो’ भन्दै । भारतले सिमा अँचेट्यो, हाम्रो सार्वभौमसत्ता र राष्ट्रिय अखण्डतामाथि आक्रमण भयो भन्दै सुरुङयुद्द घोषणा गरे माओवादीका अध्यक्ष प्रचण्डले । बिचरा माओवादी कार्यकर्ता, अन्धभक्तले सकिनसकि सुरुङ खने, खाडल बनाए । त्यो सब देश जोगाउनलाई थियो ।

शान्तिवार्तामा आएपछि पनि भारतले सिमा मिच्यो भन्दै नेपालका पूर्वदेखि पश्चिमसम्म बडे बडे नेताले भागबण्डा गरिगरि सिमा मिच्यो भारतले भन्दै भाषण ठोके । त्यसका बिरुद्द भातरसित राष्ट्रियताको लडाई लड्नुपर्छ भने । अन्धभक्त कार्यकर्ता, सोझा जनताले पत्याए । तर अहिले सरकारमा गएपछि देश टुक्रा पार्छु भन्दापनि माओवादी सरकार चुँ सम्म बोल्दैन । आखिर देशका सबैभन्दा बुद्दिमान, शिक्षित, दूरदर्शी नेता प्रधानमन्त्रीलाई चाहिएको के रहेछ ? सबैभन्दा क्रान्तिकारी नेता प्रचण्डको सुरुङयुद्द केका लागि रहेछ ?

सिंगै मुलुकले रक्षा मन्त्रीको राजिनामा मागिरहेको छ । सत्ताको स्वाद, मात, अन्धोपन पनि यति देखियो सरकार बोल्दैन । राष्ट्रिय अखण्डामाथि धावा बोलेको भनिरहेछन् दलहरुले । तर सरकार त्यसलाई लत्याइरहेको छ । जसले देशको रक्षा गर्नुपर्ने हो उसैले टुक्रा पार्छु भन्दापनि सरकार पटक्कै मुख खोल्दैन । प्रतिपक्षी दलहरुले रक्षामन्त्रीको राजिनामा मागिरहेका छन्। तर सरकारले चित्तबुझ्दो जवाफ दिँदैन । आफ्नै पार्टीका नेता र कार्यकर्ताले रक्षा मन्त्रीको राजिनामा मागेर सडक अवरुद्द गर्दापनि सरकार पुरै नालायक बनेर कुर्सीमै टाँस्सिएको छ । यदि नैतिकता छ, सरकारको ह्याउ छ भने यस्तो रक्षामन्त्री एक मिनेटपनि राख्न मिल्दैन । सत्ता मात्रै सबै थोक होइन भन्ने ब्यवहारत सिद्द गर्ने हो भने सरकारको हिम्मत हुनुपर्थ्यो रक्षामन्त्रीलाई कारवाही गर्ने ।

प्रचण्ड कामरेड त सुरुङ युद्दमा पोख्त हुन् क्यारे । उहिल्यै उनले सुरुङ युद्दको घोषणा गरेका भारत बिरुद्द । हाम्रो सिमानामा भारतले चोइट्याउँदा सुरुङ युद्द घोषणा गरेका । उनले त्यत्रो मुलुक भारतलाई त तह लगाउन खोजेका थिए । अहिले त झन २२ जिल्लानै आलू चाना पारेझैं उछिट्याउँछु भनेर प्रचण्ड कामरेडकै मन्त्रीले चुनौती दिएका छन् । तर उनी किन चुपचाप ? भारतलाई युद्द लडेर सोत्रान पार्न कस्सिएका प्रचण्ड कामरेड र अहिले उनैका फोटोकपी बनेका बिद्वान डाक्टर साप । यस्ता शरदसिं भण्डारी जस्तालाई फु गर्दा उडाइदिनुपर्ने हो । तर सर्वभौम  अखण्डता भन्दा अहिले सरकार जोगाउनु बढि राष्ट्रिय हितमा भएर होला चुप चाप छन् २२ जिल्ला टुक्रा पार्ने सित ।

कुर्सी, पद, प्रतिस्ठा, सत्ता र शक्तिले क्रान्तिकारीहरुलाई कति अन्धो बनाउने रहेछ । अथवा क्रान्तिकारी मुकुण्डो कसरि उदांगो पार्ने रहेछ भन्ने यो सायद गज्जबको उदाहरण हो । जुन बेला भारतले नेपालका सिमाना मिच्थ्यो, मिचेको थियो त्यो बेला यी नेपालको सिमानामा गएर भारततिर चोर औंलो ठ्ड्याउँदै धारे हात लगाए । युद्दनै गरौंला झैं गरे । सबैभन्दा ठूलो क्रान्तिकारी, राष्ट्रप्रेमी, सार्वभौमको रक्षक बनेर देखाए । आफ्नो थैली कस्नतिर ध्यान नदिएर छिमेकीलाई चोर दोष लगाउन कस्सिए। अहिले आफ्नै सरकारमा बिखण्डनकारी घुसेर हाकहाकी देश टुक्रा पारिदिन्छु भनेर चुनौति दिँदापनि यी सत्ताका माखाहरुले चुँ सम्म बोल्दैनन् । सरकारले कम्तिमा प्रतिपक्षी दल र जनतासित माफी माग्नुपर्छ । तर  सरकारको भोकले लम्पटलाई त्यसको पटक्कै वास्ता छैन । एकातिर देश टुक्रा पार्छु भन्ने र अर्कोतिर राष्ट्रियताको प्रतिक हाम्रो झण्डा हल्लाउँदै कुदिरहेका छन् लाज नभएकाहरु । अखिर यीनको क्रान्तिकारी ढ्वाङ, राष्ट्रप्रेम, सार्वभौमको रक्षा गर्ने हुंकार, भारतसित सुरुङ युद्द गर्छु भन्ने चिच्याहट त सत्तामा उक्लिने भर्‍याङ पो रहेछ ।

तपाइँको प्रतिक्रिया