‘परिक्षण प्रधानमन्त्री’ भट्टराईको अमेरिकामापनि परिक्षण
देश र जनताले जति आशा गरेपनि डा बाबुराम भट्टराई परिक्षण प्रधानमन्त्री हुन् । कुरो उति बाहिर ल्याएर प्रचार प्रसार सार्वजनिक रुपमा गरिएको त छैन नै । तरपनि जनताले आशा गरेझैं पुर्लुङ्गै देशको अवस्था पल्टाउलान् र एकाएक आर्थिक र सामाजिक रुपमा देशलाई जरक्कै उचाल्लान भन्ने आशा कम्तिमा माओवादीले गरेका छैनन् । बरु उनलाई आफ्नो पार्टीमा परिक्षण प्रधानमन्त्रीका रुपमा लिईने रहेछ ।
उनको एकातर्फ माओवादीले परिक्षण गर्दै छन् । जनताले परिक्षण गरिरहेकै छन् । अब अन्तर्राष्ट्रिय जगतका सामू एउटै प्लेटफर्ममा परिक्षण हुँदै छ संयुक्त राष्ट्र संघको महासभामा । त्यसैले यतिखेर उनी चौतर्फी परिक्षण प्रधनमन्त्री बनिरहेका छन् । किन लिइएका हुन् त डा सापलाई परिक्षण प्रधानमन्त्रीका रुपमा ?
माओवादीको वास्तबिक पार्टी लाइन भनेकै जनबिद्रोहको लाइन हो । पालुङटार भेलाले बहुमतबाट त्यहि लाइन अनुमोदन गर्यो । तर भट्टराईले तत्कालका लागि शान्ति र संविधानको फरक मत प्रस्तुत गरे । संविधान सभाबाट जनताका हितमा, जनयुद्द र जनआन्दोलनले स्थापित गरेका माग सम्बोधन हुने संविधान बन्छ, बन्न सक्छ र दलहरुले बनाउँछन् भन्ने पक्षमा जनता देखिए । यहि चुरोका कारण माओवादी पुग्यो भट्टराईलाई प्रधानमन्त्री बनाउन । जनतामा के देखियो आशा भने, रक्तपात बिनानै, जनबिद्रोह बिनानै आमूल परिवर्तन संभव छ भने किन जनबिदोह गर्ने ?
भट्टराईले फेरी के जोड दिँदै आए भने अब शान्ति र संविधान बनाएर आर्थिक विकासको मूल फुटाउनु पर्छ । शान्ति र संविधान बन्यो र स्थायी सरकार बन्यो भने १० वर्षमै देशलाई आर्थिक रुपमा सम्पन्न राष्ट्र बनाउन संभव छ । भट्टराइ पक्षको यहि दाबीले जनतामा विश्वास जगायो । उनले अर्थमन्त्री हुँदा महत्वपूर्ण केहि सुधारका कामपनि गरेर देखाएकोले जनताले साँच्चै संभव छ भन्ने विश्वास गरे । अन्तर्राष्ट्रिय जगलेपनि उनको दाबी, कार्यशैली र पूँजीवादी निकटको नीति हेरेर उनैलाई बढि विश्वास गरे । आशा गरे ।
माओवादीका आम नेता र कार्यकर्ता भने त्यसमा पटक्कै विश्वास गर्दैनन् । अलिकति मात्रै सुधारको काम गर्दा त यस्तरि भाँजो हालिन्छ भने जनयुद्दले उठाएका र जनआन्दोलनले चाहेको जस्तै जनताका समस्या हल हुनेगरि देशको पूनर्संरचना गर्न संभव छैन । तर आम जनता र अन्तर्राष्ट्रिय जगतको चाहनालाई आदर गरौं । लौ न एक पटक भट्टराईलाई प्रधानमन्त्री बनाउँ । उनले साँच्चै गर्न दिईने रहेछ कि रहेनछ परिक्षण गरौं । पर्टीको सारा शक्ति लगाएर उनलाई सहयोग गर्ने र उनले जनताका पक्षमा केहि सुधारका काम गरेर देखाएभने ‘माओवादीले केहि गर्न खोजेका थिएनन्’ भन्ने पर्छ । जनबिद्रोह गरेर राज्य सत्ता आम रुपमा नबदलि संभव हुन्न भन्ने कुरो प्रस्टिन्छ । अनि आम जनता र अन्तर्राष्ट्रिय जगतलाई देखाउन सकिन्छ कि जनबिद्रोह मार्फत राज्यसत्ता पुरै नबदलि संभव रहेनछ नेपालमा । यसो गर्दा अन्तत: जनबिद्रोहको औचित्य प्रस्ट्याउन सजिलो हुन्छ । जनताले फेरी माओवादीलाई साथ दिनेछन् । यहि मूल्यांकनका कारण परिक्षण प्रधान मन्त्रीका रुपमा हेरेका छन् माओवादीले डा भट्टराइलाई । माओवादीले परिक्षण गर्ने ढंगले जनताका पक्षमा अधिकतम सुधारका कार्य गर्नका लागि डा भट्टराईलाई पार्टीका तर्फबाट अधिकतम सहयोग गर्ने । र गर्न खोजेको थियो दिएनन् भनेर सिद्द गर्ने । अनि अर्को जनबिद्रोहको पक्षमा जनता र बाहिरी जगतलाई विश्वासमा लिने ।
अन्तर्राष्ट्रिय जगतमा परिक्षण
अहिले भट्टराई संयुक्त राष्ट्र संघको महासभामा भाग लिन अमेरिका छन् । झण्डै ९० देशका राष्ट्रप्रमुख एवं ४५ देशका सरकार प्रमुख उपस्थित हुने यो उच्चस्तरीय बैठक महासभाको सबैभन्दा ठूलो कार्यक्रम मानिन्छ । विश्वभरिका राष्ट्र प्रमुखका बिचमा उनले २१ सताब्दिमा के कति कारणले माओवाद र मार्क्सवादको खाँचो छ भन्ने औचित्य सिद्द गर्न सक्नुपर्छ । पूजीवादी विश्व समूदायका अगाडि त्यो औचित्य सिद्द गर्नु भट्टराईका लागि चुनौतिपूर्ण छ ।
अर्को पाटो विश्वमा अमेरिकाको सर्वाधिक चासो रहेको आतंकवाद बिरुद्दको लडाइ हो । अमेरिकाले माओवादीलाई अझैपनि आतंककारी सूचीबाट हटाएको छैन । अमेरिकी नेति ले विश्वमा ठूलो महत्व राख्छ, प्रभाव जमाउँछ । जनयुद्द छोडेर शान्तिपूर्ण प्रजातान्त्रिक मार्गमा आएर संसमा ठूलो दल बनेपनि अमेरिकाले किन पत्याएको छैन माओवादीलाई ? यसलाई कसरि उनले आफ्नो पक्षमा विश्वास पार्न सक्छन् ? अमेरिकालाई उनले आतंककारी सूचीबाट आफ्नो पार्टीलाई हटाउन विश्वास दिलाउन सक्छन् कि सक्दैनन् ? यो अर्को ठूलो परिक्षण हो ।
उनले अमेरिकामा मरुभुमीकरण सम्वन्धी उच्चस्तरिय वैठक, परमाणु वचाउ र सुरक्षा सम्वन्धी उच्च स्तरीय वैठक, रंगभेद र जातिय भेदभाव विरुद्दको घोषणा दश वर्ष पुगेको अवसरमा डर्वान घोषणासम्वन्धी उच्चस्तरीय वैठकमा सम्वोधन, दीगो विकासका चुनौती संवन्धि कार्यक्रममा भाग लिँदै छन् । यी सबै कार्यक्रम पूजीवादी देशहरुले आफ्नो नीति, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्वार्थ अनुकूल ल्याएका हुन् । माओवादी र मार्क्स्वादी सिद्दान्तबाट होइन । यी विषयमा माओवादी नेता भट्टराइ कसरि प्रस्तुत हुन्छन् ? ति मुद्दामा माओवादीको मूल्यांकन के हो ? ति तमाम समस्याको हल माओवादीले कसरि गर्न सक्ने देखेको छ ? भट्टराईको यसमापनि परिक्षण हुने छ । ‘एक्काइसौं शताब्दीमा माक्र्सवादको सान्दर्भिकता’ भन्ने अर्को छलफल कार्यक्रम छ । सारा विश्व पूँजीवादतिर लर्केको बेला उनले नेपालमा आफ्नो पार्टीको मार्क्सवादी नीतिलाई आम बौद्दिक समूदायका बिच कसरि सिद्द गर्न सक्लान् ? परिक्षण यसमापनि पक्का हुने छ उनको ।
आम जनतामा सबैभन्दा बढि इछ्याइएका, आशा गरेका नेता हुन् नै, अन्तर्राष्ट्रिय जगतलेपनि बडो आशा, भरोसा र चनाखोकासाथ हेरेका नेता हुन् उनी । त्यति हुँदापनि आफ्नो पार्टीमा उनले आफ्ना बैचारिक मान्यतालाई बहुमतका साथ सिद्द गर्न सकेका छैनन् भने अन्तर्राष्ट्रिय जगतका सामु स्पष्ठ पार्न सहज पक्कै छैन । आम जनता र बाहिरी जगतले सुन्दै आएका भट्टराईलाई यस पटक सम्मुख भएरै परिक्षण गर्ने छन् ।
उनकै पार्टीमा पनि परिक्षण हुन्छ उनको यो भ्रमणका विषयमा । किनभने अमेरिकालाई लामो समयदेखि माओवादीले आतंककारी सूचिबाट हटाउन आग्रह गर्दै आएको हो । तर मानेको छैन । यसपटक अमेरिकी राष्ट्र प्रमुखसितै भेट्दै छन् उनले । अमेरिकी सरकारलाई आफ्नो पार्टीलाई आतंककारी सूचीबाट हटाउनुको औचित्य सिद्द गर्न सक्छन् कि सक्दैनन् ? विश्वास दिलाउन सक्छन् कि सक्दैनन् ? माओवादी पार्टेलेसमेत यसमा परिक्षण गर्ने छ । यो सभामा उनले प्रभाव जमाउन सके उनको मात्रै होइन देश, जनता र माओवादीलाई संगठनात्मक रुपमापनि लाभ हुन्छ नै । सकेनन् भने लुते प्रधानमन्त्री भनेर सबैभन्दा बढि आलोचना उनलाई पार्टे भित्रैबाट गरिने पक्का छ । अर्को तर्फ मार्क्सवादी औचित्य प्रस्ट पार्न सकेनन् भनेपनि सुधारवादी, धोकेवाज, साम्राज्यवादीका अगाडि झुकेको बनेर आलोचना खप्नुपर्छ । मार्क्सवादी रटानमै सिद्दान्तका कोरा आदर्श दिए भने फेरी माओवादी उहि पूरानै माओवादी आडम्बरमा रहेको, आतंककारी मनशायमै रहेको भनेर ति नेताहरुले टिको लगाइदिन्छन् । माओवादी सरकारलाई पत्याउँदैनन् । त्यसैले उनी आफ्नो पार्टीका मात्रै होइन सारा जगतकै लागि परिक्षण प्रधानमन्त्री बनेका छन् ।




