विश्वका खातेहरुलाई फ्रान्सले किन पाल्ने ?
फ्रान्समा अर्को वर्ष राष्ट्रपतीय निर्वाचन हुँदै छ । आआफ्ना नीति, दाबी र उमेदवारी पेश गर्दै छन् फ्रान्सेलीहरु । यो देशलाई कस्तो बनाउने अहिले देखिनै गरमागरम बहस चलेका छन् । फ्रान्सेलीहरु अघिल्ला निर्वाचनहरुमा भन्दा यो पटक ज्यादै सचेत र चनाखो देखिन्छन् । त्यसको कारण फ्रान्सको खस्कँदो आर्थिक र सामाजिक अवस्था हो ।
अर्को कारण हो, आप्रवासीहरुको प्रभाव र चापले पारेको आर्थिक र रोजगारीको समस्या । प्राय प्रभावहिन देखिने उग्र दक्षिणपन्थी पार्टीकी उमेदवार मारीन ल पेन यहि आप्रवासी समस्याकै कारण यतिखेर लोकप्रिय देखिएकि छिन् । उनले फ्रान्सबाट सबै आप्रवासीलाई लखेट्नुपर्ने तर्क अघि सारेकि छिन् । त्यसो भयो भने नेपालीहरुपनि स्वत पर्छन् ।
उनको पार्टी फों नासियोँनाल सधै आप्रवासीको बिरुद्दमा रहँदै आएको हो । तर यस पटक भने उनका नाराले फ्रान्सेलीहरुलाई निकै झस्काएको छ । सोचनिय बनाएको छ । उनले आफ्नो देशमा आउने आप्रवासीहरुलाई खातेको संज्ञा दिएकि छन् । उनेको तर्क छ, विश्वका खातेहरुलाई फ्रान्सले किन स्वागत गर्ने ?
हिजो फ्रान्सको सबैभन्दा लोकप्रिय मानिने टिभी टि एफ १ मा निकै चोटिला मन्तब्य दिईन् । उनले फ्रान्सेलीहरुलाई गम्भिर बनाईन् केहि सटिक र तथ्यगत कुराहरु औंल्याएर । आप्रवासीहरुलाई स्वागत गर्न हरेक वर्ष फ्रान्सले ७० करोड यूरो खर्च गरिरहेको छ । उनको भनाईमा फ्रान्स असक्षमहरुको डम्पिङ साईट भैरहेको छ । त्यस्ता असक्षमहरुलाई फ्रान्सले किन पाल्ने ? ति आप्रवासी खातेहरु आफ्नै देश फर्किनुपर्छ ।
अहिले फ्रान्समा ५० लाख फ्रान्सेली बेरोजगार छन् । ति सबैलाई बेरोजगार भत्ता दिइरहनुपरेको छ राज्यले । ति ५० लाख मध्ये २० लाख आप्रवासी मूलका छन् । उनको भनाईमा तिनलाई भत्ता दिन तुरुन्तै बन्द गरेर आफ्नै देश फर्कानुपर्छ । आफ्ना परिवार पाल्न सक्ने बिदेशीलाई मात्रै फ्रान्सले स्वागत गर्नुपर्छ । एक जना आउने अनि यहाँ बस्ने स्थायी कागज पाएपछि बाउ आमा, छोरा छोरीको लर्को लगाएर ल्याउने र सरकारी भत्तामा बाँच्ने । यस्ता मान्छेलाई सरकारले तुरुन्तै फर्काउनुपर्ने तर्कपनि उनको छ । उनले त्यस्ता भत्ता पचाउनेहरुलाई आनाकानी गरेमा राँको बालेर भएपनि लघार्नुपर्ने तर्क गरेकि छन् ।
उनले के तर्क गरेकि छन् भने फ्रान्सेलीहरुपनि विश्वका अन्य मुलूकमा छन् । तिनले फ्रान्समा आउने आप्रवासीले झैं मोज गर्न पाएका छैनन् । ति फ्रान्सेली काम गरेर आफ्नो परिवार पाल्छन् । हाम्रा नागरिकले अरु देशमा काम गरेर परिवार पाल्छन् भने फ्रान्सले चाहिँ किन काम नगर्ने बिदेशी पाल्ने ? उनका तर्कहरु बडो मननिय थिए । उनले राष्ट्रपती निकोला सार्कोजी सरकारको निकै आलोचना गरिन् । राज्यलाई तिर्ने करका बारेमा पनि । खाद्दान्न र अन्य अति आवश्यकिय, दैनिक उपभोग्य वस्तुमाथि लगाइएको कर अहिले चर्को छ । जसले गर्दा कम आम्दानी भएका मानिसको जिवन कस्टकर बन्दै छ । त्यसैले त्यस्ता वस्तुमाथिको कर घटाएर बिलासी वस्तुमाथिको कर बढाउनुपर्छ ।
ग्रिस आर्थिक रुपमा टाट पल्टिएको छ । ग्रिसलाई बचाउन अहिले १५ अर्व यूरो खाँचो छ । यूरोपेली समूदायको राष्ट्र भएकाले त्यसलाई बचाउन आर्थिक सहयोग यहिँका मुलुकले गर्ने हो । त्यो १५ अर्व यूरो मध्ये ठूलो रकम फ्रान्सकै जान्छ । राष्ट्रपती निकोला सार्कोजी ग्रिसलाई सहयोग गर्ने पक्षमा छन् । तर यहाँका नागरिक त्यसको पक्षमा उति छैनन् । मारिन लपेनलेपनि सिधै भनिन्, टाट पल्टिएको देशलाई फ्रान्सले किन पैसा दिने ? के टाट पल्टिनेजतिलाई सहयोग गर्ने हाम्रो काम हो ? हाम्रै देशमा आर्थिक समस्या भैरहेका बेला किन अरु देशलाई नभएको पैसा दिने ? बरु ग्रिसलाई दिने पैसा यहिँका कलकारखाना र उध्योगलाई माथि उठाउने, पूनर्जिवित गर्न प्रयोग गरौं । रोजगारी स्रिजना गरौं । फ्रान्समा थुप्रै कारखाना र उध्योगहरु आर्थिक संकटले टाट पल्टिएका छन् ।
उनले अर्को चुनौती दिएकि छन् लिबियामाथि आक्रमण गर्ने सार्कोजीको कदमलाई । अहिले बेलायतका प्रधानमन्त्री डेभिड क्यामरुन र सार्कोजी लिबिया गएका छन् । लिबियाका राष्ट्रपतीलाई च्युत गर्न सार्कोजीले त्यहाँका बिद्रोहीलाई हतियार बाँडेका छन् । त्यो हतियार अन्तत: हतियार माफियाको हातमा पुगेको छ । अब त्यहाँ ग्रिहयुद्द निम्तिँदै छ । त्यो ग्रिह युद्दको जिम्मेवार राष्ट्रपती निकोला सार्कोजी हुनुपर्छ भनेर उनले चुनौति दिएकि छन् । राष्ट्रपती निर्वाचन अगाडि त्यसरि लिबियामा आक्रमण गर्नुको कारण आगामी निर्वाचनलाई प्रभाव पार्न, पैसा कमाउन र हामी बिदेशमा तानाशाहलाई यसरि लडायौं, हाम्रो नीति ठिक थियो भन्ने भ्रम छरेर चुनावी नारा बनाउन हो भन्ने तर्कपनि उनले गरिन् ।
जे होस्, उनको सबैभन्दा ठूलो नारा चाहिँ आप्रवासीलाई खेद्ने छ । फ्रान्सेली नागरिक भएर सोच्दा, आफ्नो देशको हित हेरेर सोच्दा उनले ज्यादै चोटिला तर्क अगाडि सारेकि छन् । फ्रान्समा आप्रवासीको कारणले गर्दा बढ्दो रोजगारी समस्या, आर्थिक समस्या, हत्या हिंसाको समस्याबाट ग्रस्त फ्रान्सेलीहरुलाई मारिन ल पेनको नाराले सोचनिय र गम्भिर पारेको छ । यदि मारिन ल पेनले जित्ने छाँट आयो भने फ्रान्स बस्ने नेपालीहरु आआफ्नो ठाउँ फर्कन झिटि गुन्टा, कुम्ला काम्ली कसेर बसे हुन्छ ।




