बाबुराम सफल भए मुलुकले घुँडा टेक्छ ?

प्रधानमन्त्री डा बाबुराम भट्टराइ जति सफल हुन्छन् उति मुलुक र जनताले राहत पाउँछन् भन्ने आम विश्वास र सोच छ । अहिलेसम्मको उनको काम गराइले पनि त्यहि आशा जगाइरहेको छ । दिनप्रतिदिन उनको काम गराइ जनताले आशा गरे जस्तो देखिँदै छ । तर प्रतिपक्षी दलहरु नेपाली कांग्रेस र एमालेले भने बाबुराम भट्टराई जति सफल हुन्छन् उति मुलुकले घुँडा टेक्छ भन्ने मूल्यांकन गरेका रहेछन् । आम नागरिकका आशा, सोच र मूल्यांकन बह्न्दा नितान्त भिन्न वा उल्टो मूल्यांकन किन र कसरि देखियो एमाले र कांग्रेसमा ? आजको जनआस्थामा प्रकाशित मूल समाचारको एक भाग हेर्नुस् । 

आफूहरूले अपेक्षा नै नगरेको मधेसी–माओवादी गठबन्धनबाट डा. भट्टराई प्रधानमन्त्री बनेपछि एमाले, कांग्रेसका नेताहरू वर्तमान सरकारप्रति विश्वस्त एवं सकारात्मक हुनसकेको देखिँदैन । उनीहरूको अनुमान छ, अब या त बाबुरामले घुँडा टेक्छन् या दुईहात उठाएर सत्ताबाट बहिर्गमन हुन्छन् । एमाले नेताहरूको दाबी कस्तोसम्म छ भने बाबुराम सफल भए भने मुलुकले घुँडा टेक्छ । 

चारबुँदे सहमतिमा देखिएकाबाहेक भित्री कुरा धेरै छन् भन्ने अड्कल पनि एमाले नेताहरूको छ । तत्कालीन ‘ट्रिक’मा प्रचण्ड सफल भएजस्तो देखिए पनि अब प्रचण्ड र बाबुरामबीचमै द्वन्द्व चर्किने एमाले नेताहरूको अनुमान छ । गोर्खामा आयोजित सभामा मेरो त्याग र बलिदानले बाबुराम प्रधानमन्त्री बन्न पाए भनेर प्रचण्डले कृपा देखाइसकेको उनीहरूको विश्लेषण छ । तर, वास्तविक गुन मधेसीले लगाएको हुनाले बाबुरामको कृतज्ञता अब प्रचण्डतिर हुन्छ कि प्रम बनाउने मधेसी दलहरूतिर ? द्वन्द्व यहीँनेर पर्नसक्ने अड्कलमा छन्, कांग्रेस–एमालेका नेताहरू । 

धोवीघाटपछि पार्टीको तर्फबाट बाबुरामलाई सबै पक्षले प्रधानमन्त्री स्वीकारेकै थियो । तर, त्यतिवेलासम्म मधेसीको साथ मिल्ने ग्यारेन्टी थिएन । त्यसवेलाको अध्ययन यो थियो कि बाबुरामलाई एमाले या कांग्रेसको साथ अवश्यै चाहिन्छ । तर, कांग्रेस, एमालेको यो अनुमान गलत सावित भइदियो । अहिले आएर उनीहरूले के निष्कर्ष निकालेका छन् भने अहिलेसम्म भएका सम्झौतामा सानोतिनो मूल्य मात्रै चुकाउनुपरेको थियो । तर, बाबुरामले कुनै पनि प्रधानमन्त्रीभन्दा कडा सर्त स्वीकार्नुपरेको छ । चार बुँदेमा दुई छिमेकी मुलुकसित सम्बन्ध सुधार्ने भनिएको छ । चीनसित त बिग्रेकै थिएन, यसर्थ सुधार्र्नै परेन, भारतसँग बिग्रेको सम्बन्ध सुधार्ने भनिएको हुनुपर्छ, जसको अर्थ अब भारतलाई खुसी पार्ने भन्ने हो । रक्षा, सञ्चार र गृह भारतपरस्तलाई दिनु यसैको उदाहरण हो भन्ने दाबी प्रतिपक्षी दलका नेताहरूले गरेका छन् ।

उदेकलाग्दो कुरा के छ भने गृह मन्त्रालयका निम्ति एमालेसित गलफत्ती गरेर सरकारै छाड्छु भन्ने माओवादीले अहिले किन गृह मन्त्रालय सहज रूपमा लोकतान्त्रिक फोरमलाई दियो ? विगतमा उसले दोस्रो ठूलो दल नेपाली कांग्रेसलाई रक्षा मन्त्रालय नदिएर प्रतिपक्षमा राखेको थियो । तर, अहिले माओवादी किन सबै महत्वपूर्ण मन्त्रालय छाड्न राजी भयो ? राष्ट्रिय सहमतिको सरकारसम्बन्धी नारा नै छाड्ने तहमा माओवादी किन पुग्यो ? दोस्रो र तेस्रो तहका पार्टीहरूलाई सरकारबाट बाहिरै राखेर कसरी सफलता हात लाग्छ भन्ने सोचियो ? यी प्रश्न निरुत्तरित छन् । विगतमा प्रचण्डले खन्ना गार्मेन्टमा बोल्ने क्रममा बाबुरामलाई भारतपरस्त भन्दै मधेसीले आफूलाई रोके, तर बाबुरामलाई बोके भन्ने गुनासो गरेका थिए । तर, अहिले तिनै मधेसीको सहारामा बाबुराम प्रधानमन्त्री बन्नुको अर्थ के होला ? यसका पछाडि बाबुराम पदका लागि जे पनि गर्छन् भन्ने सन्देश दिने, महाधिवेशनको मुखमा वैद्यपक्षसित भिडाइदिने र भारतलाई तिम्रो रुचिको मान्छे बनाइदिएको छु भनेर चुनावका वेला अब पालो मेरो भन्दै आफैं प्रधानमन्त्री बन्ने प्रचण्डको दाउ हुनसक्ने अनुमान पनि एकथरीले गरेका छन् ।

तपाइँको प्रतिक्रिया