कामरेडहरुको लडाइँ शिविर छिर्यो भने ?
माओवादीको संस्थापन पक्ष र बैध्य पक्ष भनिएको अल्पमत पक्षको झगडा यति उत्कर्षमा पुगेको छ कि त्यो जनसेनाको शिविरसम्म पुग्यो भने के गर्ने भन्ने चिन्ता माओवादी कार्यकर्तालेनै गर्न थालेका छन् । कन्टेरको चाबी बुझाउने सहमती पार्टीको थियो र थिएन भन्ने आआफ्नै अडानका बिच बिवाद मारपिटसम्म पुगेको छ । हिजोबाट त यो बिवादले उग्ररुप लिने संकेत देखिन्छ ।
एकातिर मोहन बैध्य पक्षले पार्टीभित्रैबाट क्रान्ति थाल्ने घोषणा गरेका छन् । अर्कोतिर संस्थापन पक्ष पेलेर जाने घोषणा गरिरहेको छ । संस्थापन पक्षले पेल्ने संकेत गर्नासाथ बैध्य पक्षका कार्यकर्ताले भने अब संस्थापन पक्षमा भएका बदमास, फटाहा, सामान्ति चरित्रका नेतालाई कारवाही गर्ने घोषणा गरेका छन् । हिजो काभ्रेको पाँच खालमा बैध्य पक्षले राखेको कार्यक्रममा पुगेरै संस्थापन पक्षका कार्यकर्ताले आक्रमण गरे । सांच्चै त्यस्तो दोहोरो भिडन्त जनसेनाको शिविरमा भयो भने के होला ?
संस्थापन पक्ष भनेको संस्थापन पक्ष नै हो । त्यसैले उ बढि संयमित हुनुपर्छ नै । किनभने संस्थापन पक्षसित बहुमत छ । उसित सरकार छ । शक्ति छ । संस्थापन पक्षका बाबुराम भट्टराई नै प्रधानमन्त्री छन् । त्यसैले सरकार, सदन, पद, पार्टी पौवा, बाटोघाटो, कुलो, चौर समेत सबै कब्जा गरेर पेल्छु भन्ने मानसिकता राख्यो भने बिरालोलाई चौतर्फी झ्याल ढोका थुनेर आक्रमण गरे जस्तै हुन्छ । बैध्य पक्षका कार्यकर्ता काभ्रेको पाँचखाल पुगेका थिए । दिनभरि तिनले संस्थापन पक्षलाई गाली गर्दा हुन् । सराप्दा हुन् । गीत गाउँथे । आफ्ना मनका आक्रोस र तुष फाल्थे अनि फर्किन्थे । आखिर पार्टीमा निर्णय गराउन बहुमत त प्रचण्ड र बाबुराम भट्टराईसितै थियो । तरपनि प्रचण्डले चौर र बाटोघाटोसम्म कब्जा गरेर पेल्न खोजे । कार्यकर्ता पठाएर बैध्य पक्षको कार्यक्रममा आक्रमण गर्न लगाए । यसले परिस्थितिलाई झन चर्काउने काम गरेको छ । बैध्य पक्षका भनिएका पाँचखाल एरिया सेक्रेटरी सिताराम दाहाल घाइते भएका छन् । प्रचण्ड पक्षबाट आक्रमण गरिएपछि बैध्य पक्षका कार्यकर्ता झन उत्तेजित भए ।
सर्पको खुट्टा देख्ने सर्प नै हो भनिन्छ । त्यसैले, जनयुद्दका क्रममा के के भयो ? पार्टीमा कस्ता कस्ता ब्यक्ति पसे । क कसले लूटे ? आफ्ना ज्वाइ छोरीलाई पार्टीको पहुँच प्रयोग गर्न दिएर लूट्न दिने माओवादी प्रवक्ता दिनानाथ शर्मा जस्ता कति छन् नेता माओवादीमा ? कुन नेताले कसरि कहाँबाट कति दाम उठाएको छ ? कसको कुन धनाढ्यसित गोप्य साँठगाँठ छ ? पक्कैपनि यसको नालीबेली सँगै युद्द लडेका माओवादी कार्यकर्तालाई राम्रो ज्ञान छ । त्यसैले तिनले जनताको हित हेर्ने कुन सक्कली माओवादी हो र कुन चाहिँ सामान्ति माओवादी हो चिनेका छन् । आफूहरुमाथि चौतर्फी आक्रमण गर्न, पेल्न थालेको भन्दै तिनले त्यस्ता माओवादी नेतालाई खोजि खोजि छानी छानी आक्रमण गर्ने उद्घोष गरेका छन् ।
गीत संगीत गाउने र आफ्ना तुष पोख्न भनेर हिजो पाँचखालमा आयोजना गरेका थिए जागरण जन संगित अभियान नामको कार्यक्रम । बैध्य पक्षका कलाकार थिए । आखिर चुप्प लागेर छोडिदिएको भए तिनले गर्थेनै के र ? बिरोध गर्थे । कुर्लिन्थे अनि शान्त भएर फर्किन्थे । तर जब प्रचण्डका कार्यकर्ताले आक्रमण गरे अनि त्यहाँ बैध्य पक्षका कार्यकर्ताले १० वर्षे जनयुद्धलाई बिर्सिएर पैसा, सत्ता र मोजमस्तीमा लिप्त भएका माओवादी भित्रैका नेताहरुलाई कारबाही गर्ने धम्कि दिएका छन् । माओवादीभित्र सामन्ती चरित्रका दिनानाथ शर्मा, मजदूरका नेता भनिने जमरकट्टेल जस्ता नेता निकै छन् । प्रचण्डकै लालनपालन र संरक्षणमा कति होलान् । किनभने पार्टीमा करोडौं अनियमितता गरेको आरोप प्रचण्डमाथि लागेको निकै भयो । तर उनले त्यो आर्थिक हिनामिनालाई स्पष्ठ अझै बनाएका छैनन् । सभासद किन्न भन्दै चिनसित क्रिष्ण बहादुर महराले मागेको करोडौं रकमबारे अझैपनि माओवादीमा स्पष्ठ भएको छैन । त्यो रकम कोकसले कुम्ल्याए । यो सारा के भएको छ भन्ने पक्कै जानकरी छ माओवादी कार्यकर्तालाई । त्यसैले तिनले यस्ता भ्रस्ट नेतालाई जुत्ताको माला र कालोमोसो दल्ने, कारवाही गर्ने घोषणा गरेका छन् ।
त्यतिमात्रै होइन, पार्टीमा संस्थापन पक्ष र अल्पमत पक्ष भनेर शारिरिक आक्रमणका घटना हुन थालेपछि शिविरका जनसेना कतिन्जेल चुप्प बस्लान् ? जनसेनाका तिन मुख्य कमाण्डर संस्थापन पक्षतिर भएपनि माओवादी जनसेनाको पार्टी सैन्य बिभाग प्रमुख पार्टीका महासचिव रामबहादुर थापा ‘बादल हुन् । उनी बैध्य पक्षतिर छन् । यदि जनसेनाबिच स्पष्ठ बिभाजन आयो भने बादलका पक्षमा पनि निकै लाग्ने निश्चित छ । अहिले बैध्यकै पक्षमापनि निकै छन् जनसेना । यदि दुई पक्षका कार्यकर्ता बाहिर कुटपिटमा उत्रिने हो, बैध्य पक्षकाले संस्थापन पक्षका नेतालाई सामन्ति चरित्रका र ठग भनेर कारवाही गर्ने हो भने पक्कैपनि शिविरका जनसेनाबिचपनि द्वन्द हुन्छ । शिविरमै दोहोरो हानाहान शुरु भयो भने ? हतियार सहितका जनसेनाकै बिचमा, एउटै पार्टीका दुई पक्षका बिचमा हतियारको द्वन्द हुन बेर लाग्दैन । अहिले अफ्रीकाका कति मुलुकमा त्यहि त भैरहेको छ । अनि क्रान्तिलाई निरन्तरता दिन्छौं भन्दै एक पक्षका जनसेना शिविरबाट निस्किए भने त्यसको जिम्मेवार को हुने ? प्रचण्ड ? बाबुराम ? कि बैध्य ? आखिर संस्थापन पक्षलाईपनि के थाह छ भने यदि अहिले अल्पमत पक्ष निस्कियो भनेपनि न प्रचण्डले चाहेको सरकार टिक्छ । नत भट्टराईकै कुर्सी जोगिन्छ । नत अहिलेनै उत्तेजनाका भरमा क्रान्तिलाई निरन्तरता दिन्छौं भन्दै निस्किएर बैध्य पक्षको क्राति अहिले सफल हुने अवस्था छ ।
त्यसैले, पार्टीमा साना तिन समूह र गूट जता गए जाउन् भन्ने धमास अहिले दिँदा मात्रै सजिलो हो । साँच्चै ति निस्केभने प्रचण्डको सत्तापनि डगमगिन्छ । उनको नेत्रित्वबाट १० वर्षे युद्दमा जनताले जे पाए त्यसको नाफाघाटाको हिसाबपनि जनताले माग्छन् । साँच्चै पेलान दिएर साना तिना गूट गएपनि केहि छैन भन्दै शान दिँदा अवस्था त्यस्तै भयो भने प्रचण्ड कामरेडका सत्ताप्रेमी सपनापनि छोटिन्छन् । ५२ सालमै देउवाले त्यसै गर्दा आफैंले शुरु गरेको जनयुद्दले कुन रुप लियो बुझ्नका लागि त्यो नै प्रशस्त छ । उता बैध्य बाले पनि भर्खरै उत्तेजनामा आएर क्रान्ति गरिहाल्ने, राज्यसत्ता बदलिहाल्ने ताकत छैन । जनता अहिले कुनैपनि क्रान्तिका पक्षमा देखिन्नन् । त्यसैले दुबै पक्ष संयमित हुनुमै सबैको हित छ । कन्टेनरको चाबी बुझाएपनि जनसेनाका अधिकारलाई अझै सुनिस्चित गरेर सामयोजन गर्न सकिने ठाउँ छ ।




