भट्टराइलाई असफल पार्ने आफ्नै पार्टी, उनैका आउरे बाउरे
प्रधानमन्त्रीमा टेक्नासाथ भट्टराइले आग्रह गरेका थिए, बन्द हडताल नगरौं, शान्ति र संविधान अनि जनतालाई तत्काल राहतकालागि केन्द्रित बनौं । शान्ति र संविधानका लागि काम अगाडिपनि बढाए । पार्टीले माओवादी लडाकूका हतियार राखेको कन्टेनरको चाबी विशेष समितीलाई बुझायो । आ आफ्ना बुझाइ अनुसार सकारात्मक भने ।
आशा जाग्यो, अब शान्ति र संविधानले मूर्त रुप पाउँछ कि भनेर । तर के गर्नु ? उनैको पार्टीले अहिले उनलाई भाँजो हाल्ने काम गर्दै छ । उनैका आउरे बाउरेहरु जथाभावी बोलेर उनलाई असफल बनाउन खोज्दै छन् । सहमतिका लागि अरु पार्टीसित उनले प्रयास जारि राख्दा उनैका आउरे बाउरेहरुले बिच्क्याउने अभिब्यक्ति दिएर सताउन थालेका छन् ।
पार्टीको सहमती तोडेर जनसेनाका हतियार राखिएको कन्टेनरको चाबी बुझाएको भन्दै माओवादी पार्टीभित्रै तिब्र बिवाद देखा परेको छ । (सहमती के थियो ? हतारमा किन चाबी बुझाइयो ? बैध्य पक्षले किन बिरोध जनाए ? यसबारे आगामि ब्लगमा लेख्ने छु।) लौ सहमती तोडेरै चाबी बुझाए रे । तर त्यो कसले बुझायो ? आफ्नै पार्टीको बहुमत पक्षले । कसलाई बुझायो त ? आफ्नै पार्टीको नेत्रित्वमा बनेको सरकारलाई । अनि आफ्नै नेताले, आफ्नै पार्टी निर्णयले, आफ्नै पार्टीको नेत्रित्वलाई जब चाबी बुझाइन्छ भने बिरोध कसकालागि ? चाबी बुझाउनु धोका हो भन्दै सडक जाम गरेर, यातायात अवरुद्द पारेर त्यसले के सन्देश दिने हो ? पार्टीमा त बैध्य पक्ष क्रान्तिकारी छन् भन्ने देखिएला नै । तर आम जनतामा ? जनमानसमा त्यसले कस्तो सन्देश दिन्छ ? प्रतिपक्षलाई कस्तो प्रभाव पार्छ ?
माओवादीभित्रको फूटलाई त्यसले छताछुल्ल बनाउँछ । माओवादी पार्टी नफुटेसम्म आफ्नो भविष्य नदेख्नेहरुलाई उर्जा थप्छ । चलखेलको बाटो खोलिदिन्छ । आम जनताले चाहेका प्रधानमन्त्रीलाई आफ्नो गूट उपगूटको स्वार्थकालागि आफ्नै पार्टीका प्रधानमन्त्रीका खुट्टा तान्ने भए भन्ने पर्छ । प्रधानमन्त्रीको कुर्सीमा बस्न नपाउँदै उनलाई काममा भाँजो हाल्न लागे भनेर जनताले बुझ्ने छन् । अर्थमन्त्रीको अनुभवबाट एकैचोटी प्रधानमन्त्रीमा भर्खर पुगेका भट्टराईको उत्साहलाई शुरुमै हतोत्साहित पार्छ । आफ्नै पार्टीले विरोध चर्काएपछि उनको आत्मबल घट्छ । आफ्नै पार्टीले देशभरि चक्काजाम गर्ने, राँको बाल्ने र अनेक ब्यवधान हालेपछि उनले कुन नैतिकताले अरु दलसित सहयोग र समर्थनको याचना गर्ने ? वास्तवमै यो भनेको उनलाई कमजोर पार्ने बाटो हो । उनको खुट्टो तान्ने मेसो बाहेक केहि होइन । आखिर बहुमत भनेका पक्षले चाबी बुझाउने निर्णय गरिसकेपछि त्यो लागू हुन्छ नै । कि त पार्टीमा बहुमत पुर्याएर त्यसलाई रोक्न सक्नुपर्थ्यो ।
त्यसो त उनलाई मठार्न कस्सिनेमा उनैका आउरे बाउरे र चाकरीबाजहरुपनि छन् । मौका पर्दा र आफ्नो स्वार्थमा मेडिया प्रयोग गर्ने गरेका देबेन्द्र पौडेलदेखि टोप बहादुर रायमाझी, अधिबक्ता मुक्ति प्रधान्देखि उनैकी नातापाता प्रेमी पत्नीसम्म छन् । आफ्नो होइन राम्रो मान्छेलाई काममा लगाउनुपर्छ भन्ने भट्टराईलाई यीनैको बोलीले अब डाम्न बेर छैन । जुन दिन सहमती र सहकार्यकालागि प्रधानमन्त्री भट्टराई नेपाली कांग्रेसका सभापती शुसिल कोइरालाकहाँ पुगेका थिए । उनी कांग्रेसलाई शान्ति र संविधानकालागि सहकार्य गर्न सरकारमा आउन निम्तो दिँदै थिए । छलफललाई जारी राख्ने भनेर फर्किंदै थिए । त्यसै दिन भट्टराईका चाकरीबाज टोप बहादूरले कांग्रेसलाई धम्कि दिँदै थिए, सरकारमा आएन भने कांग्रेस समाप्त हुन्छ ।
टोप बहादूर नामका यी टोप्रेलाई थाह हुनुपर्ने हो, चाकरी गर्ने नाममा, भट्टराइको वरिपरि फनफनी चक्कर लाउने नाममा जे पनि बोलेर भट्टराईलाई सफल बनाउन सकिन्न । बरु त्यसले बिपक्षीलाई उत्तेजित पार्छ । झस्काउँछ । आवेगमा ल्याउँछ । सहमतीको प्रयासलाई बिच्काउँछ । सरकारमा नजाँदैमा न हिजो माओवादी समाप्त भयो । न एमाले र माओवादी मिलेर झलनाथ नेत्रित्वको सरकारमा नजाँदा कांग्रेस समाप्त भयो । कुनै पार्टी समाप्त हुने नहुने जनताको विश्वास, भसोरा र जनताको हेराइ अनि बुझाइमा हुन्छ । टोप बहादूरलाई बहुमतको सरकार देखाउन ल्याप्चे ठोक्दा कांग्रेस झांगिने र नठोक्दा कांग्रेस समाप्त हुने होइन । उनलाई लागेको होला, यस्ता उत्तेजित र प्रतिपक्षीलाई बिझाउने भाषण ठोक्दा प्रधानमन्त्री सफल हुन्छन् । आफू अझ प्यारो बन्न पाइन्छ । प्रधानमन्त्रीको अझ विश्वाशिलो बन्न सकिन्छ । सायद सक्लान् पनि प्रधानमन्त्रीले त्यसैगरि बुझे । तर यस्ता लठुवा धम्किले उनलाई सफल बनाउने छैन । झन सहयोगी हातहरु बिच्किने छन् । चाकरीबाजका यस्ता धाकधम्कीले प्रधानमन्त्री झन् एक्लिने छन् । असफल बन्ने छन् । चाकरीबाज र चम्चेहरुको ध्यान कहिले जाला ?




