प्रधानमन्त्री पाउने निश्चित नहुँदै कांग्रेसमा भाले जुधाइ

पाँच बुँदे सहमती अनुसार प्रधानमन्त्री झलनाथ खनालले तुरुन्त राजिनामा दिनुपर्छ भन्दै नेपाली कांग्रेस लगातार संसद अवरुद्द पार्‍यो । ‘अब प्रधानमन्त्री को हुने हो बिकल्प देउ’ भनिरहे खनालले । त्यतिबेला नेपाली कांग्रेसका नेताले आफ्नो पार्टीमा प्रधानमन्त्री पदकालागि हानथाप हुन्न । हामी सहमतीका आधारमा तुरुन्त निर्णय गर्छौं भने । नौ दिनको समय सिमा तोके उनले आफ्नो राजिनामाकालागि । त्यतिबेलै देखि प्रधानमन्त्री पदकालागि शुरु भयो मारमुंग्री नेपाली कांग्रेसमा । प्रधानमन्त्री पद नेपाली कांग्रेसलेनै पाउँछ भन्ने कुनै टुंगो छैन । तर त्यो पद खाली देख्नासाथ ‘मैले नै पाउँछु’ झैं गरेर नेपाली कांग्रेसमा तानातान, मारामार र भाले जुधाइ शुरु भएको छ शेरबहादुर देउवा र रामचन्द्र पौडेल पक्षको ।

नेपाली कांग्रेसमा उपसभापती नियुक्त गर्दा र्‍याल काढ्नेमा देउवा र शुसिल कोइराला दुबै पक्ष थिए । स्वभाविकै हो । त्यतिबेला तपाइलाई संसदिय दलको नेता बनाउँला अहिले तपाइले पौडेललाई समर्थन गर्नुस् उपसभापती पदमा भनेर उधारो आश्वासन दिए कोइराला, पौडेल पक्षले । नगदमा उपसभापती पद हात लाग्यो । उधारोमा देउवाले चित्त बुझाए । तर अहिले ?

पौडेल पक्षले कुनै हालतमा देउवालाई संसदिय दलको नेता नबनाउने अड्डि कसेको छ । उता देउवा पक्ष कुनै हालतमा नछोड्ने, बरु पौडेल बिरुद्द अविश्वासको प्रस्ताब ल्याएर घोक्र्याउने पक्षमा पुगेको छ । उपसभापती पद पौडेललाई दिउँ भनेर देउवाको समर्थन मागेका पार्टी सभापती शुसिल कोइराला भने रमिते बनेका छन् । यता देउवालाई नाइ भन्न नसक्ने । उता पौडेललाई छोड भन्ने आँटपनि नआउने । टाउको कन्याउँदै उनले देउवालाई ‘पौडेलजीसित सल्लाह गर्नुस्’ भन्दै ओंठे जवाफ दिएका छन् । देउवा पक्ष उधारोमा संसदिय दलको नेता पद लिएर पौडेललाइ उपसभापती दिएकोमा मुर्मुरिएको छ । पौडेललाई बचनमा धोका दिएको भन्दै उचालिएका छन् देउवा पक्ष ।

माओवादी झन सबैभन्दा ठूलो दल, सरकारको नेत्रित्व दाबी गर्ने नै भयो । सहमतीको राष्ट्रिय सरकार बनाउने भनेर माओवादीले निरन्तर भनिरहेका छन् । त्यस्तो सरकारको नेत्रित्व गर्न पाए अघि सर्ने भन्दै डा बाबुराम भट्टराइले जुँघामा ताउ लगाएर बसेका छन् । उनका वरिपरिका लौ भट्टराइ प्रधानमन्त्री भए आजसम्म काँघ थामेकाले मन्त्री हुन पाइएला भन्दै मुख मिठ्याएका होलान् । नेपाली कांग्रेसमा त पदका लागि मारमुंग्री हुने गरेको अहिले मात्रै होइन । सरकार बदलिने भो भन्ने लक्षण देखिन थालेपछि मन्त्री हुनका लागि काटाकाट देख्न लागेको झण्डै दुई दशक हुन लाग्यो । त्यसैले देउवाले ककसलाई आश्वासन दिएका छन् मन्त्री पदकालागि । तिनले हस्ताक्षर दिने भैहाले ।

देउवा पक्ष पौडेललाई हराउन बहुमत ५९ सभासदको सही गोजीमा घुसारेर बसेको दाबी गर्छ । पौडेल पक्ष मुकाबिला गरिन्छ, असफल पारिन्छ भन्दै चुनौति दिइरहेको छ । मतदान भए यहि हुन्छ भन्न सकिन्न । पदका लोभीहरु मन्त्री पाउने भएमा जतपनि सहि धस्काउँछन् । तिनको बिगतपनि त्यस्तै न छ । तर यदि माओवादी बाहेकका दल मिलेर नेपाली कांग्रेसको नेत्रित्वमा सरकार बनाए पौडेलको संभावना होला । नत्र माओवादीले आफ्नो नेत्रित्वमा सरकार बनाउन पाएन र कांग्रेसलाई समर्थन गर्ने अवस्थामा देउवालाई छान्ने संभावना बढि छ ।

त्यसको संभावना किन भने पौडेल भारतीय शासक वर्गको निकट र देउवा अमेरिकी निकट मानिन्छन् । माओवादीलाई भारतले बढि पेलेकाले उनीहरु भारतीय चाहनाको प्रधानमन्त्री नचाहनु स्वभाविक छ । उता देउवालाई समर्थन गरे अमेरिका सितको संवन्धमा सुधार गर्न सकिने आशा माओवादीको हुनसक्छ । देउवा कुर्सीका लागि जे सुकैपनि गर्न सक्ने ढुलमुले नेता भएकाले देउवालाई प्रयोग गर्न बढि सहज देख्छन् माओवादी ।

माओवादीका लागि सरकारको नेत्रित्व भन्दापनि जनसेना समायोजन महत्वपूर्ण हो । आफ्नो नेत्रित्वमा सरकार बनेको बेला भन्दा देउवालाई समर्थन गरे सेना समायोजनमा आफ्नो स्वार्थ अनुकुल देउवालाई प्रयोग गर्न माओवादीलाई बढि सहज हुन्छ । पौडेललाई माओवादीले पटक्कै नरुचाउने भएकाले पनि आफ्नो प्रधानमन्त्रित्व माओवादीले स्विकार गर्न सक्ने संभावना बढि देखेका हुन् देउवा पक्षले । यदि देउवालाई समर्थन गरेमा जनसेना समायोजन लगायत माओवादीका शर्तमा देउवा सकारात्मक भएको भन्ने चर्चापानि उत्तिकै छ ।

तपाइँको प्रतिक्रिया