दूतावासको रकम ब्यक्तिका नाममा खर्च

(ब्यक्तिले आयोजना गरेको तीज पर्वमा दूतावासका नाममा काटिएको पत्र)

नेपाली नियोग र दूतावासमा अनियमितता र मनपरी कति हुन्छ भन्ने यो एउटा सानो उदाहरण हो । नेपाली दूतावास पेरिसमा राजदूत मोहनक्रिष्ण श्रेष्ठ छन् । नेपाली महिलाको पर्व तीजमा दूतावासले नेपाली चेली बेटीलाई निम्ता गरेको छ । त्यसको रकम दूतावास मार्फत नेपाल सरकारले तिर्छ । तर नेपाली दूतावासको लेटरप्याडमा निम्ता भने धमाधम सजना श्रेष्ठको नामबाट बाँडिएको छ । सजना राजदूत पत्नी भएकैले दूतावासले यसरी भकाभक उनको नाममा लेटप्याड र सरकारको रकम दूरुपयोग गर्दै निम्ता बाँडेको हो ।

नेपाली दूतावासका कर्मचारी बाहेक दूतावासको लेटरप्याड वा अन्य कुनैपनि सम्पत्ती प्रयोग गर्ने अधिकार कर्मचारीका नातापातालाई हुँदैन । दूतावासका कर्मचारीका आफन्त वा परिवारका सदस्य अन्य आम नागरिक सरह हुन् । दूतावासको लेटरप्याड र रकम ब्यक्तिका नाममा खर्च गर्नु अनियमितता हो । निम्तामा आयोजक ‘महामहिम राजदूत पत्नी सजना श्रेष्ठद्वारा १३ तारिख शनीवार भेटघाट तथा दर खाने कार्यक्रम राखिएको हुँदा नेपाली दीदी बहिनीहरु सबैलाई नेपाली राजदूतावास हार्दिक आमन्त्रण गर्दछ ‘ भनिएको छ । कार्यक्रम आयोजना गर्ने राजदूत निवासमा । लेटरप्याड र रकम नेपाली दूतावासको । अनि प्रचारप्रसार ब्यक्तिका नाममा ।

यसै विषयमा मैले हिजो राजदूत मोहनक्रिष्ण श्रेष्ठसितै प्रतिक्रिया लिन खोजेको थिएँ । दूतावासमा साँढे चार बजे फोन गर्दा उनी हिँडिसकेका रहेछन् । नेपाली महिलाहरुको पर्व तीजका अवसरमा दूतावासले यस अघिपनि मनाउने गर्थ्यो । गत सालपनि यसैगरि मनाएको थियो । गतसालपनि यसैगरि सजना श्रेष्ठकै नामबाट आएको थियो । तर ब्यक्तिका नाममा निम्ता आएकाले त्यो नीजि तवरबाटै आयोजना गरिएको होला भन्ने ठानियो ।

दूतावास निवासमा तीज पर्व मनाउने शुरुवात २०६६ सालबाट त्यतिबेलाका कार्यवाहक राजदूत (हाल मिनिस्टर काउन्सिलर) जिवनप्रकाश श्रेष्ठ पत्नी निता श्रेष्ठले गरेकि हुन् । ‘दूतावासको पैसोमा निजि प्रचार गरेर पर्व मनाउने, सरकारको धन ब्यक्तिका नाममा खर्च गर्ने यो शिलशिला तपाइहरुबाटै त भएको होला नी’ भन्दै मैले जिवनप्रकाश श्रेष्ठसित सोधेको थिएँ । उनले त्यसलाई ठाडै अविकार गरे। उनले भने “पहिलो पटक तीज पर्व मनाउँदा दूतावासले पानी र जुसको ब्यवस्था गरिदिएको हो ।  आएका पाहुनालाई चिया, कफी, जुस वा पानी खुवाउनु शिस्टाचार र स्वागत गरिने सामान्य परिधीमै पर्छ । बाँकी सबै खर्च हामीले नीजि तर्फबाट गरेका हौं र कतिपय खाना घरघर बाटै भाग लगाएर ल्याइएको हो।”

अन्य दूतावासमा यस्ता पर्वहरु आयोजना गर्दा के कसो हुने रहेछ ? मैले कूटनितिक रिपोर्टिङमा नाम कमाएका फ्रान्सेली पत्रकार फँस्वा लियोनेललाई फोन सम्पर्क गरेर सोधेको थिएँ, ‘तिम्रा देशका राजदूतहरुलेपनि यसैगरि श्रीमतीका नाममा दूतावासको लेटरप्याड र पैसोमा कार्यक्रम मनाउँछन् ? कस्तो हुन्छ प्रचलन ?” सोध्नासाथ उनी हाँसे । उनको भनाइ थियो, सामान्य कूटनितिमा राजदूतकी पत्नी को हो, छोराछोरी को हो भन्नेपनि सरकारलाई मतलव हुँदैन । ति अरु जस्तै सर्व साधारण हुन् । भने ‘हाम्रो देशको राजदूतले भए पहिलो त यस्तो गर्ने आँट नै गर्दैन । अर्को कुरो, यो सिधै दूतावासको स्रोत र साधन दुरुपयोगमा पर्छ । तपाईको देशमा कूटनितिज्ञले कस्तो पहुँच राख्छ भन्ने यो उदाहरण हो ।’

नेपाली चेलीबेटीलाई बोलाएर तामझामका साथ स्वागत गर्ने, रमाइलो सित मनाउने, नामपनि कमाउने हो भने निजि खर्च गर्नुपर्छ । ब्यक्तिगत तवरबाटै निम्ता गर्नुपर्छ । नाम कमाउनु छ भने बरु देशकालागि केहि गर्नु उचित हुँदो हो । भगवानका नाममा भोको बस्ने महिलालाई राष्ट्रिय सम्पत्ती को दुरुपयोग गरेर रमाइलो गरिदिन खोज्दा तिनको मन पो के रमाउला ?

तपाइँको प्रतिक्रिया