देउवाको लल्लरी, शुसिलको कपट

सिधा भन्नु पर्दा यी दुबै जनता ढँटुवा हुन् । हिजो खाँचो पर्दा देश भरिका कार्यकर्तालाई भेडा बाख्रा झैं ठानेर काभ्रे लगे । त्यहाँ कार्यकर्ता भेला भन्दै जम्मा पारेर ‘लौ सुझाव देउ’ भन्दै कुर्लिए । आपत परेपछि कांग्रेसको जागरण अभियान भन्दै जिल्ला जिल्ला गएर चरिफाल गरे । तर पार्टीमा उपसभापती, संसदिय दलको नेता को चुन्ने, कसलाई फेर्ने भन्ने महत्वपूर्ण विषयमा जनतालाई ढाँट्छन् । कार्यकर्तालाई गुमराहमा पार्छन् । त्यतिखेर बिरालाले आची लुकाए झैं शेर बहादुर, रामचन्द्र पौडेल र सभापती शुसिल कोइराला कतै गुप्तवास बसे । र भागबण्डा गरे, शुसिल पार्टी सभापती भैहाले । संसदिय दलको नेता र पार्टी उपसभापती रामचन्द्र पौडेललाई नदिएर अब शेरबहादुर देउवालाई संसदिय दलको नेता चुन्ने । रामचन्द्र पौडेल उपसभापतीमा रहने । निकै समयपछि केहि कांग्रेस नेताले बोलेको, सुनेको र पढिएको त्यहि हो । तर अहिले ?

यता देउवा पार्टी उपसभापतीमा त्यति बेला आफूलाई संसदिय दलको नेता बनाउने शर्तमा रामचन्द्र पौडेललाइ समर्थन गरेको बताउँदै हिँडेका छन् । यसैको लागि दबाब दिइरहेका छन् सभापतीलाई, समग्र पार्टीलाई । सुटुक्क कुरा हुन्छ देउवा र शुसिलको । त्यहाँ वास्तबिकता के हो कोहि देख्ने सुन्ने हुँदैन । देउवाले शुसिल कोइराला राजि भएका छन् ‘संसदिय दलको नेताबाट पौडेललाई हटाएर मलाई बनाउन’ भन्न नपाउँदै शुसिल ‘केहि सहमती गर्‍या थिएन’ भनेर गम्किन्छन् ।

होइन यस्तो सहमती भएकै हो भनेर देउवाका पक्षमा बोल्ने कोहि छैन । आफ्ना हनुमानहरुले हो कि हो लाउनु त छुट्टै कुरो हो । तिनले देउवाले जे हो भनेर सुनाउँछन् त्यसैमा थपडी बजाउने न हुन् । उता शुसिल कोइरालाले सहमती जनाउनु भएको थियो देउवालाई संसदिय दलको नेता बनाउन भन्नेपनि कोहि निस्किन्न । दुबै पक्षकाले आआफ्ना नेताका फेर समातेर रत्यौली गाएझैं मात्रै गर्छन् । न लिखित केहि छ । न पार्टीका अन्य नेता कोहि सहभागि छ । अब कसका कुरा पत्याउने ?

छलकपट नगरि भन्नु पर्दा यीनले जनतालाई भुसुना, कागजका खोस्रा ठानेका हुन् । हिजो त्यत्रो निर्णय गर्दा सुटुक्क बसे । देउवालाई पहिले बैंककसम्म पुगेर सुरा सुन्दरीसित मज्जा गरेको झल्को आयो । चार तारे होटेलमा हुस्कीको चुस्की मार्दै तास खेलेको, बेश्यालय झैं सुरा सुन्दरी खेलाएको, पजेरो किन्न दिएर देश सर्वनास पारेको स्वादको बासनाले सतायो । त्यहि लोभले देउवाले सरक्क छोडिदिए एकदिन फेरी प्रधानमन्त्रीको कुर्सी तनक्क तानेर ट्यास्स बस्न पाइएला भन्ने र्‍याल काढेर । तर उधारोमा काम गरे देउवाले ।

यस्सो हेरे, आ…… यो उपसभापती पद के लिनु । यसै त पार्टी हाँक्ने ह्याउ छैन, त्यहिँमाथि नाथे दोस्रो दर्जाको उपसभापती पद । उता रामचन्द्र पौडेलले र्‍याल चुहाए, आफ्नो पार्टी यसै दोस्रो नम्बरमा । झन माओवादीले उता एमालेलाई च्याप्छ । सरकार कांग्रेसले ज्यान जाला बनाउन पाउने होइन । पाएको पद झ्याप पारिहालौं । बुढा शुसिलको शरिरले थेग्ने पो कति हो र ? त्यसपछि त सिंगै पार्टीको हर्ताकर्ता मै । त्यसैले सहमती जनाए होलान् । शुसिल को पनि के कम छ र बुझाइ ? आखिर रामचन्द्रलाई मेरै दाजूले खुड्किला चढाएका न हुन् । देउवाका जति सती जाने रामचन्द्रका पकेटमा मान्छे पनि छैनन् । यल्लाई हाम्रै भर चाहिन्छ । पदका लागि पार्टीनै दरबारसम्म लगेर ओछ्याइदिनेको, गोजीमा केहि जयजयकार हुनेको भर पर्नु हुन्न । यसलाई संसदिय दलको नेता बनाइदियो टन्टै साफ । वास्तबमा भएको यहि हो । सुशिलको कपटी जवाफ, रामचन्द्रको लत्रेको बोली र देउवाको हुंकारले यहि भन्छ ।

तर ठोकुवा गर्ने कसरि ? एक पक्ष हो कि हो भन्छ । अर्को पक्ष अजम्मरी झार झै लत्रेर होइन भन्छ । हिजो यीनले त्यो सहमती गर्दा जनतालाई सुनाए ? त्यत्रो सहमती गर्दा पार्टीका अरु नेता लगे ? २४ सै घण्टा सञ्चार माध्यमका अगाडि गएर टाँस्सिने यीनीहरुले त्यो कुरो साझेदारी गरे ? तिन जनालेनै ढाँटे । जनताले थाह पाए त षडयन्त्र गरेर खाइपाइ लुटिदेलान् झैं । अहिले धोका भो अनि देउवा पार्टी बाहिर लल्लरी गाउँदै हिँडेका छन् । उता राष्ट्रिय सरकार बन्ने यस्सो गन्ध छरिएपछि रामचन्द्र पौडेल ‘यो बेला संसदिय दलको नेता बदल्ने होइन, संविधान बनाउन ध्यान दिनु पर्छ’ भन्दै दाँत ङिच्याउँदै छन् । कपटी शुसिल देउवालाई अनुकुल पारेर फेर्ने भन्ने रहेछन् । बाहिर चाहिँ ‘त्यस्तो केहि सहमती भाको छैन’ भन्दै कपट गरिरहेका छन् । यी तिनै जना जनता ढँटुवा हुन् । कार्यकर्तालाई झिँगो भुसुनो ठान्ने ढाँटहरु ।

पार्टी सभापती भएपछि हिम्मतका साथ जे हो त्यहि भन्न सक्नुपर्ने हो शुसिल कोइरालाले । भलै पार्टीका भित्री कुरा, सहमती बाहिर ल्याउन मन लागेन रे लौ, त्यसलाई ईमान्दारीकासाथ कार्यान्वयन गराउने, भएका सहमती पालना गर्ने र गराउने, निर्देशन दिने काम त सभापतीकै हो नी । तर उनी यता देउवालाई ‘पख, पख, बिस्तारै गरौंला’ भन्ने । उता पौडेललाई ‘कहाँ बदल्ने ?’ भनेर उचाल्ने । जनतासित चाहिँ ‘केहि सहमती भा’को छैन त्यस्तो’ भनेर दाँत देखाउने । बडो कपट गरिरहेछन् यी लोइरे सभापतीले । उता सहमती गर्ने बेलामा कार्यकर्ता र जनता, मेडियाका आँखा छलेर मुख मिठ्याउँदै अँध्यारो कोठामा बसेका देउवा चाहिँ पद नपाइने भएपछि बाहिर बाहिर लल्लरी गाउँदै दौडेका छन् । सहमती गर्ने बेला शुसिल र पौडेल भए पुग्यो, अहिले लल्लरी चाहिँ दुनियाँका अगाडि गाउनु पर्‍यो पदका लम्पट देउवालाई ।

तपाइँको प्रतिक्रिया