बादलजीलाई नसोधी ‘ब्ल्याकमेलिङ’

(अहिले माओवादीमा शक्ति बाँडफाँडको रस्साकस्सी खुब चलेको छ। देश बिदेशका सबैले यसबारे जान्न चाहेका छन् । स्पष्ठै छ, लेखक बाबुराम पक्षीय हुन् । तर उनले यहाँ उठाएका तर्क सान्दर्भिक लागेकाले आज बुधवारको जन आस्था साप्ताहिकबाट साभार गरेको हुँ)

देवेन्द्र पौडेल, पोलिटब्युरो सदस्य, एमाओवादी

किरण, बाबुरामजी र बादलजीहरू बीसौ“ वर्षदेखि एउटै पार्टीमा हुनुहुन्छ । एउटा स्थायी रूपमा दक्षिणपन्थी, एउटा स्थायी रूपमा जडसूत्रवादी र अर्को स्थायी रूपमा लिनप्याओवादी । एउटै पार्टी छ, एउटै मोर्चामा काम गरेर आएका छन्, तर एकले अर्कालाई आरोप लगाएर फेरि त्यही पार्टीमा बसिरहेका थिए । पार्टीभित्रका सबैले सबैसित मिल्न पाउनुपर्छ । एउटै पार्टीका वरिष्ठ उपाध्यक्षहरू मिल्दाखेरि अपवित्र र पवित्र भनेर धार्मिक पदावलीअनुसार सोच्नु अबौद्धिक र अद्वन्द्ववादी सोचाइ हो ।

संस्थापन पक्ष भन्ने पदावलीसित हाम्रो गम्भीर आपत्ति छ । यो पदावलीको प्रयोग नै सही छैन । कुनैपनि चिजलाई स्थापित गर्ने व्यक्तिलाई संस्थापक भनेर बुझिन्छ । माओवादीको संस्थापन पक्ष भनेको किरणजी कसैले नोट अफ डिसेन्ट लेख्यो वा भिन्न मत जाहेर गर्‍यो भन्दैमा ऊ संस्थापन पक्ष नहुने भन्ने गलत हो ।

अध्यक्षलाई हटाउन खोजेको हो भनेर प्रचार गर्न खोज्नेहरूले देखाइन्छ भन्ने सोचेका छन् भने त्यसमा सहमत हुन सकिँदैन । किरण, बाबुराम, प्रकाश र बादलहरूको जुन टिम छ, टिमले सामूहिकताको आधारमा पार्टी नेताको कार्यविभाजन गर्नुपर्छ भनिरहेको छ । यो कुरा हामीले चौथो विस्तारित बैठकदेखि नै उठाउँदै आएका थियौं । नेतृत्व केन्द्रीकरणको प्रसंगमा नेतृत्व प्रणालीको प्रसंग पनि उठेको थियो । सरकार, सेना र पार्टीको नेतृत्व अलग–अलग गर्दा राम्रो हुन्छ भन्ने कुरा पहिल्यैदेखि उठेको हो । महाधिवेशनपछि मात्रै कार्यविभाजन गरौं भन्दाखेरि त्यसले अध्यक्षको हित गर्दैन । उहाँ गुट चलाउन वा पार्टीभित्र अलग विचारसमूह चलाउनका लागि अध्यक्ष हुनुभएको होइन । बहुसंख्यक साथीहरूले सरकारमा महिलाहरूको समानुपातिक प्रतिनिधित्वको कुरा उठाएपछि उहाँले त्यसको सम्बोधन गर्नुपर्‍यो ।

अध्यक्षले समग्र पार्टीलाई हेर्नुहुन्छ । महाधिवेशन भएर अर्को नेतृत्व नआउँदासम्म उहाँलाई यो भूमिका निर्वाह गर्न दिनुपर्छ । किरणजीले संविधानसभाबाट राजीनामा दिएर बाहिरिएको अवस्थामा संगठन, अनुगमन र वैचारिक एवं क्लासिकल जिम्मेवारी उहाँले लिँदा राम्रो हुन्छ । बाबुरामजीले सरकार, सदन र संसदीय दलको जिम्मा लिँदा राम्रो हुन्छ । कार्यालय र जनसेनासम्बन्धी जिम्मा महासचिव बादलजीले लिँदा राम्रो हुन्छ । नारायणकाजीजी पनि संसदीय दलको उपनेता हुनुहुन्छ । त्यसैगरी दुईजना सचिव (सिपी गजुरेल र पोष्टबहादुर बोगटी) ले पनि एक / एकवटा सम्मानजनक जिम्मेवारी लिँदा राम्रो हुन्छ । यसरी कार्यविभाजन गरियो र सम्पूर्ण पार्टीलाई तलैसम्म एक व्यक्ति, एक जिम्माको विधि निर्माण गरेर गइयो भने राम्रो हुन्छ । यस्तो वैज्ञानिक, सबभन्दा राम्रो र उपयुक्त प्रकारको तरिकालाई पनि इन्कार गर्नु भनेको परिस्थितिलाई सहज रूपमा ग्रहण नगर्नु हो । हाम्रो पार्टीमा थुप्रै साथीले काम पाउनुभएको छैन । पार्थ (राम कार्की) जीले कुनै जिम्मा पाउनुभएको छैन । अमिक शेरचन, सोनाम साथीलगायत धेरै साथीले जिम्मेवारी पाउनुभएको छैन । कोही पाँच, छ वटा जिम्मेवारी भएका कामरेड पनि हुनुहुन्छ । हामीले एकतर्फी कुरा उठाएका होइनौं, जुन साथीहरूको ठोस जिम्मा छैन, ती साथीले जिम्मा पाउनुपर्‍यो र बढी जिम्मा भएका साथीहरूले पनि एउटा मात्रै जिम्मा लिनुपर्‍यो ।

हामीले अनन्तको ठाउँमा बादललाई प्रस्ताव गरेकै होइन । अनन्त, अनन्तकै ठाउँमा रहनुहुन्छ । अनन्तभन्दा बादल सिनियर हुनुहुन्छ । माथिबाट अध्यक्षले हेर्दै आउनुभएको भूमिकाचाहीँ बादलजीलाई दिनुपर्छ ।

बादललाई प्रधानमन्त्री बनाउनुपर्छ भनेर दुई / चारजना साथी बाहिर आउनु, भाँडाकुटी खेलाएजस्तो केटाकेटीपन हो । कार्यविभाजनका लागि गम्भीरतापूर्वक छलफल चलिरहेका वेला छलफललाई अर्कातिर मोड्नका लागि केही साथीबाट जान–अञ्जानमा यस्तो हो–हल्ला चलाइएको हो । बादलजीलाई नै नसोधीकन उहाँको नाममा त्यसरी ब्ल्याकमेलिङ गर्नु राम्रो होइन । बादलजी पनि प्रधानमन्त्री हुनुपर्छ भनेर उहाँप्रति सदाशयता मात्रै राखिएको हो भने त्यो ठीकै छ । बादलजी पनि प्रधानमन्त्रीका लागि योग्य हुनुहुन्छ र उहाँलाई प्रस्ताव गर्नु बेठीक होइन, तर यस्तो प्रस्ताव उहाँहरूले गर्ने होइन, पदाधिकारी वा अध्यक्षबाट एउटा विधि अपनाएर गरिएको भए मिल्थ्यो ।

तपाइँको प्रतिक्रिया