घेरा बन्दिमा आफ्नै पार्टीको

nepal-communist-party-maoist-leader-prachand.jpgसरकारको हनीमून सकियो । लगत्तै सरकारका सफलता र असफलताको लेखाजोखा पनि भयो । प्रतिपक्षले सरकारका खोटहरु देख्नु त सामान्य कुरा नै हो । तर स्वयं सत्ता साझेदार दलहरुलेनै सरकार सफल हुन नसकेको औंल्याए । तिन महिनासम्म सरकार सञ्चालनमा खासै निरास नदेखिएका प्रधानमन्त्री प्रचण्डपनि सरकारले चित्त बुझ्दो काम गर्न नसकेको मन कुँड्याइ कुँड्याइ भएपनि स्विकार गरे । तर उनले कहिँ कतै आफ्नो कमजोरी देखेनन । अचम्म लाग्दो कुरा त्यहि हो । सरकार असफल हुनुको दोष बरु उनले अरुमाथि लगाएका छन । भने-हामीलाई घेरबन्दि गर्न खोजिँदै छ । उनले प्रष्ट्याएका छैनन त्यो कसले घेरा बन्दि गर्दै छ । के क लागि र कसरि घेराबन्दि गर्दै छ भनेर । के साँच्चिनै माओवादीलाई अन्य दल र बिदेशीले घेराबन्दि गर्न खोजेको हो ? कि माओवादीस्वयं घेरा बन्दिमा पर्दै छ ? आफ्नै कारणले ।

माओवादी शान्तिवार्तामा आए देखिका घटनाहरु हेर्ने हो भने उनीहरु आफैं घेरा बन्दिमा पर्दै छन । अर्थात आफ्ना लागि घेराबन्दि आफैं बनाउँदै छन । सबैभन्दा ठूलो घेराबन्दि आफ्नै पार्टीबाट शुरु भएको हो । सरकारको सर्बोच्च पदमा प्रचण्ड पुग्नासाथ उनैको पार्टीका नेताहरुले उनलाई घेरबन्दि शुरु गरेका थिए । माओवादी संसदिय भासमा फस्ने खतरा, माओवादी सुधारबादी खाडलमा जाकिने खतरा भन्दै उनमाथि पार्टीकै शसक्त नेताहरुले दबाब दिन थालेका थिए । सरकार सञ्चालन लगत्तै उनको पार्टीका कडा लाईनका भनेर चिनिने बैद्द समूहले दबाब दिन थालेको थियो । आफ्नो पार्टीको अध्यक्ष प्रधानमन्त्री हुनासाथै उनीहरुले अब देशलाई जनगणतन्त्रमा लैजानु पर्छ भन्दै दबाब दिन थालेका थिए पार्टीपंत्तिबाट ।  प्रचण्ड सत्ता साझेदार दल र सरकारमा एक खालको निर्णय गराउँथे । समझदारीको मसी सुक्न नपाउँदै आफ्नै सहकर्मी, आफ्नै पार्टीका नेताहरु त्यसको सार्वजनिकरुपमा बिरोध गर्थे । सेना संयोजनका पक्षमा होस वा भूमिसुधार ।

 माओवादीले कब्जा गरेको घर जग्गा फिर्ता गर्ने मुद्दामा होस वा सरकार सञ्चालनका सहमतीमा । पार्टीको अध्यक्ष र सरकारको मियोका हैसियतले प्रचण्डलाई राम्ररी उनीहरुले कहिल्यै काम गर्न दिएनन। सत्ता साझेदार दल, प्रतिपक्ष र अन्यदलहरुसित भिजेर काम गर्ने भन्दा आफ्नै पार्टीका असन्तुष्टि, असहयोग र अप्ठेराहरुलाई हटाउनमै उनको अधिकांश समय गुज्रियो। झन रामहरी श्रेष्ठ जस्ता ब्यापारीको हत्या र वासियलका ठाउँ ठाउँमै भएका उद्दण्ड कामले उनलाई सरकार सञ्चालनमा निकै अप्ठेरो पार्‍यो ।

नेपाली कांग्रेसले निर्वाचनबाट सबै भन्दा बढि जनताको भरोसा जितेर आएको पार्टी माओवादीलाई सकभर सत्तामै जान नदिने भरमग्दुर कोसिस नगरेको होइन । सत्ता र शक्ति बाट क्षणभर पनि बाहिर रहन नेपाली कांग्रेसलाई सकस भइरहेको छ । तरपनि अहिले नेपाली कांग्रेसलाई घेरबन्दि गर्‍यो भनेर दोष दिनु आफ्ना कमजोरी ढाक्ने बहानाबाजी मात्रै हुन । नेपाली कांग्रेस प्रतिपक्ष भएर पनि उनले सरकर सञ्चालनमा ब्यवधान हालेको छैन । न त उसले सदनमा अप्ठेरो पारेको छ न त सडकबाट। सरकार सञ्चालनमा मारमुंग्रि मच्चाएर उसले कहिँ कतैपनि अप्ठेरो पारेन सरकारका सय दिनसम्म ।   सरकारलाई घेराबन्दि बरु आफ्नै पार्टीका “प्रतिपक्ष” ले पार्दै आएका छन ।

अवश्यैपनि लामो जनयुद्दबाट आएको पार्टी भएकोले बिदेशीहरुका आआफ्नै दाउ, स्वार्थ र टकराव होलान । तर यदि सत्ता साझेदार दलहरु एक भए भने तिनको केहि सिप लाग्दैन भन्ने कुरा स्वयं माओवादीले बुझेको छ । नेपाली राजनेता र दलको एकताका अगाडि तिनका स्वार्थले सधैं पराजय भोगेकै हो । सरकार भित्रका होउन वा बाहिरका, स्वदेशी होउन वा बिदेशी सरकार सञ्चालनमा साँच्चिकै भाँजो हालिएको हो भने प्रष्टसँग जनता समक्ष राख्नसक्नुपर्छ माओवादीले-हामीलाई यो पार्टी, यो नेता, यो संयन्त्र ले यसरि काममा भाँजो हालियो भनेर । त्यो भन्दा पहिले त प्रचण्ड आफ्नै पार्टीको घेराबन्दिबाट बाहिर निस्कन सक्नुपर्‍यो । नत्र हामीलाई घेराबन्दि गरियो, सरकार सञ्चालनमा भनेर अरुलाई दोष दिनुको कुनै तुक छैन ।

तपाइँको प्रतिक्रिया