कामरेडको प्रचण्ड पूजा !
मार्क्सवाद, माओवाद, लेलिनवाद लगायतका कम्युनिस्टका पेवावाद जति छन् ति वादमा रमाउने, त्यसका प्रवर्तकहरु बिचार र आदर्शले लैस हुन्छ भन्छन् । भन्थे । त्यहि सुन्दै आएको हो । नेकपा माओवादी त झन हुने नै भो । तर उहिलेका कुरा खुइलिएछन् कि कुन्नी ! आजकालका केहि माओवादी नेता, त्योपनि अब्बल दर्जाका नेताको नेतैलाई गर्ने चाकरी देख्दा ति आदर्श सालको रुखको टुप्पामा झुण्ड्याएछन् कि झैं लाग्छ । आकाशतिर फर्केर हाँस्न मन लाग्छ । जनतातिर हेरेर गिज्याउन मन लाग्छ । बलेको आगो यति तापेका छन् कोहि माओवादी नेताले कि ‘हग्नेलाई भन्दा देख्नेलाई लाज’ लाग्छ ।
राजा प्रिथ्वी नारायण शाहले नेपालमा प्रचण्ड जन्मेलान् र ठेक्का लेलान् भनेर एकिकरण गरे जस्तो । प्रचण्ड नभए त हुँदैन हुन्न रे । शान्ति हुँदै हुन्न रे । संविधान लेखिँदै लेखिन्न रे । अस्ति हाकै त्यसै भने माओवादीका अब्बल दर्जामा गनिने नेता जनार्दन शर्मा ‘ प्रभाकर’ ले फ्रान्सेली कट भनिने छड्के दारी जुँघा तेर्स्याउँदै ।
यति खेर कसले कसलाई कहाँबाट खँगार्ने भन्ने खुब मच्चामच्चि छ माओवादीमा । प्रचण्डलाई सोलो डोलो सबै चाहिने पार्टी अध्यक्ष, संसदिय दलको कुर्सी, जनसेनामा मुख्य र अरु जे जति यस्सो खाइलाग्दा पद बन्छन् शान्ति र संविधान भनेर नाम जोडिने । अति भो भन्दै बैध्य बा र इञ्जिनियर डाक्टर साप कस्सिएका छन् खँगार्न । पद हल्लिने भो । आँखा लगाए । अनि कसरि बचाउने ? प्रचण्डले बोल्नै पर्दैन । एक से एक बुर्लुङ्ग गरिहाल्छन् ‘खबरदार हाम्रा गुरुको खाइपाइमा औंला ठड्याउन पाइन्न’ भन्दै । त्यस्ता पद फेरी ओगट्नेलाई भन्दा वरिपरि बसेर भजन गाउनेलाई जाला कि भन्ने सुर्ता हुने रैछ । प्रभाकर बम्किए, प्रचण्ड कामरेड नभए त शान्ति छाउन्न । संविधान बन्दैन । प्रचण्ड कामरेड नै अनिवार्य हुनुपर्छ यो शान्तिलाइ नथ्थि लाएर घसार्न, संविधानलाई कोर्न । प्रचण्ड कामरेडले भैसीं पूजा गरेका थिए, कामरेड प्रभाकर प्रचण्ड पूजा गर्दै छन् ।
मैले त त्यो सुनेर एकछिन आँखा चिम्म गरें। शान्ति र संविधानको रेखा यस्तो हुनुपर्छ भन्दै डाक्टर सापले तालु माथिका रौं अझ झार्दै कोर्ने रातबिरात बसेर । पार्टीमा अब यस्तो बना र उस्तो बना भन्दा फेरी उनैले कलम घुमाउने । अनि ‘हो’ भन्दै धमाधम सहि धस्काउने बहुमतले । उनैले सोचेको बैचारिक खाकामा गमागम हिँड्ने । भन्ने बेला चाहिँ ‘हाम्रा पार्टीमा एक से एक हुनुहुन्छ कामरेडहरु देश हाँक्न सक्ने’ पनि भन्ने । अनि शान्ति र संविधानलाई डोर्याउन चाहिँ प्रचण्ड कामरेड नभै हुन्न रे, संभव नै छैन रे । हे राम ! राम ! यो के सुन्न पर्या हो यस्तो ?
शान्ति संझौता गर्ने बेला डाक्टर साप नभै प्रचण्डलाई एक मिनेटपनि हुँदैनथ्यो । फेरी डाक्टर सापले आफैंले कोरेको शान्ति र संविधानका खेस्रा पक्कै बुझेरै केरे होलान् । त्यत्रो जम्बो स्थायी समिति छ । पोलिटब्युरोको समूह छ । केन्द्रिय समितिको संख्या जिल्लाका संख्या भन्दा बढि छन् । भन्ने बेला ‘हाम्रा त पार्टी सदस्यलेनै कांग्रेस र एमालेका बडे बडे नेतालाई बिचार र बहसमा लडाउँछन्’ भनेकोपनि सुनिन्छ । अनि शान्ति र संविधान चाहिँ प्रचण्ड नभै हुन्न रे ।
अन्नपानी र हावाले थेगेको ज्यान न हो । भोली भर अभर नपर्ला भन्न सकिन्न । बिरामी परेर गाह्रो साह्रो परेपनि एक दुई वर्षनै थलिनु पर्यो प्रचण्डलाई भने के त्यो बेला देश तालको पानी झै नचलि बस्ला त ? के त्यस्तो बेला कसैले नेत्रित्व गर्नै नसक्ला ? शान्ति भाँडमै जाला ? संविधान जुठेल्नैमा पुग्ला ? माओवादीका त्यत्रा नेताले टाउकोमा रुमाल कसेर राम राम जप्तै प्रचण्डलाई कुरेरै बस्लान ? मावादीका डाक्टर भट्टराइ, मोहन बैध्य, सिपी गजुरेल, नेत्र बिक्रम चन्द, राम बहादुर थापालाई कस्तो संविधान बनाउपर्छ भन्ने हेक्का छैन होला ? यत्रा जनताले नेता जन्माउन नसक्लान ? सिंगै माओवादी पार्टी असक्षम सावित होला ? अरु दलमा कुनै ह्याउ भएका नेता नै छैनन् ? प्रचण्डलाई नै कखरा सिकाउँदै यहाँ सम्म ल्याइपुर्याएका उनैका गुरु बैध्या बालाई एउटा संविधान कोर्ने ज्ञानपनि छैन ?
पार्टीमा आआफ्ना पक्षका त हुन्छन् नै । बिचार र नीतिले मान्छेलाई टाढा वा नजिक बनाउने न हो । बैध्य पक्षका देव गुरुङ, नेत्रबिक्रम चन्द, धर्मेन्द्र बास्तोलालगायतका छन् । बैध्यकै समर्थन गर्छन् । देबेन्द्र पौडेल, राम कार्की, दिनानाथ शर्मा जस्तापनि छन् जो भट्टराइको खुलेरै समर्थन गर्छन् । हुन त देबेन्द्र पौडेलपनि डाक्टर सापको चकारी गर्न धुरीमै उक्लिने गर्छन् । सबै दलको साझा शान्ति र संविधानलाई टुंग्याउने काममा चाकरी गर्नु फरक हो । आफ्नै पार्टीभित्र को चाकरी भन्दा फरक । प्रचण्ड नभए त शान्ति र सविधाननै बन्दैन भन्नु त ए गाँठे उल्का चाकरी भएन र ?
चाकरीकोपनि हद हुन्छ नी हैन ? नेताको चाकरी गर्दा आफ्नो हैसियत कहाँ पुग्ला भन्ने सम्म कस्तो ज्ञान नभएको ? बिरोधीलाई पेल्ने नाममा यति हदसम्म चाकरी गर्नु, गुणगान गाउनु पर्छ र ? यति बिघ्न चाकरी, ब्यक्ति पूजा, अन्धभक्ति, बिरोधीलाई पेलान गर्ने नियतले पार्टी कार्यकर्तामा कस्तो प्रभाव पार्ला ? चाकरी गर्ने नेता देखेर जनताले के भन्लान् ? कमरेडहरु बिच कस्तो संवन्ध होला ? भोली प्रचण्ड मुख्य शक्तिबाट झरे फेरी कसको पक्षमा दगुर्ने होला ? त्यत्रो जनयुद्द गरेर, जनआन्दोलन गरेर आएका नेता सत्तामा पुगेपछि के भएका यस्ता ?




