फेरी भारतसितै हारगुहार
कांग्रेस सभापती शुसिल कोइराला बिरामी थिए । उनको रोग सायद नेपाली चिकित्सकले पत्ता लगाउन सकेनन् । नेपाली डाक्टर सक्षमा थिएनन्, भाग्दै, कराउँदै, बैठक गर्दै, आमसभामा कुर्लिँदै गरेका कोइरालाको रोग पत्ता लगाउन । उनलाई एशियाली अरु देशका डाक्टरकोपनि भर लागेन । केपी ओली, बिध्या भण्डारी जस्ता साना नेता गएको मुलुक भारत किन जानु ? शेरबहादुर पुगेको थाइल्याण्डपनि जाने कुरो भएन । उनी त ति भन्दा ठूला नेता । स्तर अनुसारको ठूलै ठाउँ ताक्नुपर्यो । त्यसैले उनी लागे अमेरिका ।
नेपाली डाक्टरले उपचार गर्न, रोग पत्ता लगाउन नसकेका उनी अमेरिका जाने बेलापनि पत्रकार सम्मेलनमा दह्रोसित भाषण दिँदै थिए । धन्न अमेरिका, कस्तो देश रहेछ । कस्ता डाक्टर रहेछन् । अमेरिकाका डाक्टर न परे, सायद छुमन्तर गरिदिए उनको रोग वायु झैं टाप कस्यो । झन बलिया, अझ कर्मठ बने उनी । अनि झन मच्चि मच्चि घुमे । उनी त्यहाँ पुगेपछिपनि अमेरिकामा रहेका नेपालीका बिभिन्न कार्यक्रममा भाषण ठोकिरहे । ठाउँ ठाउँ घुमे । फेरी जर्मनीमापनि घुम चाखे त्यहाँको द्रिष्य । जचाउने त एउटा निहुँ न थियो । फेरी गोरा छालाको कहाँ उती भर लाग्छ र ? भारतका नेता, भारतीय दल र त्यहाँका शासकसित हार गुहार नगरि त । नेपाल फर्किनु अघि देशदेशावर घुमेर उनी भारतीय नेताका दैला दैला चाहर्दै हारगुहार माग्दै हिँडेका छन् ।
उनले भारतीय प्रधानमन्त्री मनमोहन सिंह, विदेशमन्त्री एसएम कृष्णा, अर्थमन्त्री प्रणव मुखर्जी, कृषिमन्त्री एवं नेशनलिस्ट कंग्रेसका अध्यक्ष शरल पवार, कांग्रेस आइका विदेश विभाग प्रमुख करण सिंहसँग छुट्टा छुट्टै भेटवार्ता गरे । ति सबैसित हारगुहार मागे । चरिफाल गर्दै ‘लौन हाम्ले नेत्रित्वगर्नु पर्यो संविधान बनाउने । शान्ति संझौतालाई किनारा लगाउन हामीनै सक्षम । हामी बिना अरुले सक्दैनन् । माओवादीले गर्दा संविधान बनेन । हामीले उहिल्यै बनाउन खोज्या हुम् । कांग्रेसले नेत्रित्व पाए छुमन्तरकाली ! भगवती, चौधमुखे देवी, हे गुहेश्वरी हामी जनताको चाहना अनुसारको संविधान तुरुन्तै बनाइदिन्छौं । ‘ खुब सुनाए भारतीय नेतालाई ।
छिमेकी देश हो भारत । अन्ध समर्थक र अन्धै बिरोध नेपालको हितमा हुन्न नै । छिमेकी देशको सरकार र त्यहाँका पार्टीसित भेटघाट राष्ट्रिय हितका लागि गर्नु नाजायज होइन । भारत जाँदै तर्सिहाल्ने मानसिकतापनि उचित होइन नै । तर आफ्नो देशमा कस्तो, कसको नेत्रित्वमा सरकार बनाउने ? प्रधानमन्त्री को बन्ने ? कस्तो अर्थतन्त्र लागू गर्ने ? हाम्रो संविधान कस्तो बनाउने ? शान्ति संझौतालाई कसरि टुंग्याउने त्यो हाम्रै नेताको टाउको दुखाइ हो । नेपाली जनताको नितान्त आफ्नो अधिकार हो । संबिधान बनाउनु छ नेपाल र नेपालीका लागि । अनि हारगुहार भारतसित ?
माओवादीले देश भाँड्यो । समस्यै माओवादी हो । एमाले उसैको पुच्छर बन्यो । यो झलनाथले शान्ति र संविधान बनाउन सकेन । यो झलनाथ भारत बिरोधी । एमालेले दोहोरो नीति खेल्यो । फलानो नेतो यस्तो, अर्को यो पाराको । हाम्ले दशौं वर्षदेखि खाइपाइ आएको सरकारको तालाचाबी चिलिम भो । लौन अति भो कसरि सहने यो सरकार बाहिर बसेर ? ईतिब्रितान्त लगाए । देशका आन्तरिक कुरा जति सबै भारतीय नेतालाई सुनायो । चाकरी, चाप्लुसी गर्न जाने, पाउमा पर्ने, लम्पसार परेर बिन्ति बिसाउनेलाई के भनुन् भारतीय नेताले । तथास्तु ! ‘नेपालको शान्ति र संविधानको नेत्रित्व नेपाली कांग्रेसले गर्न पाउनुपर्छ’ भनिदियो । नेपालका नेता, नेपालका दलको भेउ लियो, नाडी छाम्यो, धड्कन नाप्यो भारतले ।
भारतलाई उचाल्यो, आफ्ना देशमा सँगै लड्दै आएका नेता, राजनितिक पार्टीलाई कमजोर बनायो । भोट माग्ने नेपाली जनतासित, तर आशिवार्द भारतीय शासकसित । प्राजातान्त्रिक आन्दोलनका लागि हातेमालो नेपालका दलसित तर तिनलाई ठिक पार्न, हप्काउन, छिर्कि लाउन बिन्ति भारतीय शासकसित । आन्दोलन गर्ने बेला सहयोगको झोली थाप्ने आफ्ना कार्यकर्तासित तर संविधान कस्तो बनाउने, कसले बनाउने भनेर मन्त्र माग्ने भारतीय नेतासित ।
देशको प्रमुख प्रतिपक्ष दलका सभापती । उपचार गराउन भन्दै अमेरिका हिँडेका नेता । देशमा अहिले संविधान बनाउने लगायतका यावत समस्या । सभामुखले संविधान नबनाउन्जेल बिदेश भ्रमण नगर भनेर बिन्ति गरिरहेको बेला । यो तरलताको बेला मुलुकलाई सहि दिशा दिन आफ्नै दल, अन्य राजनितिक पार्टी, देशभित्रैका बिज्ञ, संविधानविद र बरु सिधै नेपाली जनतामाझ गएर राख्नुपर्छ आफ्ना समस्या । त्यहिँ भित्रबाट खोज्नुपर्छ समाधान । बिदेशीलाई उचालेर सरकारमा पुगौंला, बिदेशीको करबलले आफ्नो इच्छा अनुसारको संविधान बनाउँला, अरुलाई झुकाएर आफू माथि परौंला भन्ने मानसिकताले मुलुक चल्दैन । हरेक कुरा बिदेशीलाई सोध्ने भए किन नेपाली जनताको नेता हुँ भनेर बस्नु ?




