वादको होईन, ब्यवहारको राजनीति गरौं कामरेड हो !
● सरोजदिलु विश्वकर्मा
हाम्रो राजनीति चियापसलमा अड्डा जमाएर हाहा र हिहिबाट शुरु हुन्छ । विचार र वादका कुरा पनि सोही चिया–राजनीतिमा पटकपटक हुने गर्दछन् । राष्ट्रिय नीति निर्माण तहदेखि धोतीसम्म लगाउन नजान्ने ढंग नभएका कार्यकर्ता विचारकै कुरा गर्दै हिँड्छन । एकछाक भात कमाउन नसक्नेहरु समेत बादका फुईं लगाउँदै हिँड्छन् । पार्टीका दस्तावेज नै अध्ययन नगरेका भुईंको सिन्को नउठाउँने र भीडभाडमा पनि दिउँसै सडकको भित्तामा निसंकोच पिसाव फेरेर हिँड्ने, भट्टीमा बसेर दारुपानी, तासजुवामा आवद्ध भएका राजनीतिक कार्यकर्ताले पनि म यो विचारको भनेर तुलो न मुलो अरुलाई भने विचार र दर्शन पढाउन खोजिरहेका हुन्छन् । ब्यवहार चै छुद्र, दरिद्र, खोरी, घोरी, फटहा, जाली, २ नंवरी, गफाडी, अल्छे, भ्रष्ट, विभेदकारी, वुर्जवा, सामन्ती जे हुन् तर ऊ पनि विचार र वादकै कुरा गरीरहेको हुन्छ । फेरी उसले कुनै फोरम भेट्टयो भने वा अगाडि २।४ जना सोझा मानिस कुरा सुनिदिने पायो भने सामन्वाद र दलालको समुल नष्ट गर्दै समाजवाद निर्माण गर्ने हाम्रो पार्टी हो र म त्यसको इमान्दार कार्यकर्ता भन्न संकोच मान्दैन ।
यस्ता भाषण गर्नेलाई हामीले धेरैपल्ट अतिथि बनाएर उसका गफमा ताली ठोक्दै आएका छौं । तर अहिलेसम्म खै त सामन्तवादको अन्त्य ? खै त भ्रष्टचारको निवारण ? खै दलालहरुको मनोवल गिरेको ? खै गुण्डागर्दी बन्द भएको ? खै त सामाजिक विभेदको अन्त्य भएर एउटा मानवले अर्को मानवलाई सम्मान गर्न र उसको सहअस्तित्व स्वीकार्न जानेको । वरु यस्ता दोहोरो मापदण्डका पाखण्डीहरु सवै पार्टीमा यसरी नै गफ लगाईरहेका छन् । जातिपाति मान्दिन भन्दै भाषण दिने आसन जमाउने, बाहिर हसुर्ने, भित्री मनले भने समय आउँदैछ, एकैचोटी परिवर्तन हुँदैन भन्ने वा आमावुवाले मान्दैनन् भन्ने चुत्थो मासिकताका कुसुण्डा–बुर्जुवाहरु दलदलमै छन् ।
माक्र्सवाद, लेनीनवाद, माओवाद, जवज वा प्रचण्डपथ वा विपिको समाजवादलाई जनैवाद बनाउनेहरु ठूला साना पार्टीमा जो हामी आवद्ध छौं, त्यसमा टुप्पीदेखि पुच्छरसम्म पुराना जुम्रा केलाएर अड्डा जमाएकै छन् । वरु हिजो सामान्य चोर डाकाहरु थिए आज दिउँसै सार्वजनिक स्थमै पेश्तोल देखाएर लुट्ने र धम्क्याउने, नपाए दिनदहाडै गोली हान्ने अपराधी हत्याराहरुको विगविगी अहिले बढेकाबढ्यै छ । पुँजीमा एकाधिकार कायम गर्ने र राज्यको कर छल्ने अनि २।४ वटा महल्ला बनाइ गरिवका टाउकामा बार्दलीबाट थुक्ने सामन्तहरु हाम्रा पार्टीहरुमा छन् । वरु हिजो यसको नेतृत्व राजदरवारले गरेको थियो भने आज पार्टी भित्रका पार्टी संयन्त्र भित्रका ब्यक्तिब्यक्तिले नै गरिरहेका छन् । बाहिर एन्जीओ आइन्जीओलाई डलरे भन्ने तर उसले हुत्याईदिएको साँप्रा, पाप्रा र ह्वीस्की खान होटलहोटल चाहर्ने र विदेशीको चाकडी गर्ने, चाकडी गरेर फलिफाप हुन थालेपछि आफैं पार्टी संगठनका नेता वा कार्यकर्तालाई रैती देख्ने लुते भुतुंग्रे देख्ने र क्रान्तिकारी भन्दै टुपी ठाडो पारेर गुलामी गर्न पुग्ने विदेशी सामन्तवादका दलाल पनि हाम्रा पार्टीहरुमा नभएका होईनन् । तिनले उनीहरुजस्तै मनोवृतीका कार्यकर्ताहरु उत्पादन गरिरहेका छन् ।
विृकती विसंगतिका विरुद्ध अभियान चलाउँछु भन्नेहरु पनि साँझ पर्नसाथ एकान्त भट्टी खोज्दै हिँड्छन् । २।४ कार्यकर्ता अखडामा भेट्टायो भने म्यारीज पत्ति शुरु हुन्छ । तिनलाई मिठो महंगोले जिव्रोका स्वाद फेर्नुपरेको छ । त्यो फजुल समय र श्रोत उत्पादनमा लगाऊँ या मुलुकका लागि थोरै मात्र लगानी गरौं भन्ने ब्यवहार हामी कार्यकर्तामा देखिँदैन । वरु गणतन्त्र राज्यको सुविधा भोग्नसम्म भोगेर राज्यको श्रोत विदेशमा ओईर्याउन हामी आतुर हुन्छौं । हामी जडसुत्रवादी चिन्तन र दलालीको विरोध गर्दैछौं । तर ब्यवहारमा परम्परागत र रुढीवादी विभेदयुक्त सामन्तवादी र जातिवादी चिन्तनबाट वाहिर निस्कन मान्दैनौ । हामी जागीर दिने नाममा सरुवा बढुवा गराईने, प्रहरी प्रशासनबाट काम–धन्दा मिलाईदिने नाममा कमिशन खाइरहेका हुन्छौं । यस्ता सफेद अपराधहरुले हाम्रो आजको राजनीतिमा प्रश्रय पाइरहेको छ । केही पार्टी–नेताहरु यस्ता दलालका भत्ता खाएर पालिएका पनि नभएका होईनन्, जो कार्यकर्तालाई विदेशी दलालले गर्दा मुलुक अधोगतिमा गएको, स्वाभलम्वी हुन नसकेको भन्ने अर्ति दिने गर्छन्, अनि विहानवेलुका सल्लाहकार परामर्शका दाताकोरुपमा आफैं तिनै दलालको अखडामा भर्ती भई भत्ता बुझ्ने गर्दछन् जसले नयाँ पुस्तालाईसमेत यस्तै बातावरण दिइरहेका छन् ।
यसरी कार्यकर्तालाई केवल झण्डा र डण्डा बोकाएर डुकुलण्ठक बनाउने अनि आफू चैं पदमा पुग्ने, गाडी चढ्ने शहरमा घर घडेरीको जोहो गर्ने राजनीतिक संस्कार पनि सामन्तवादी संस्कार नै हो । जुन हर्वो वा युनिटी कम्पनीभन्दा फरक छैन । किनकी केन्द्रविन्दुमा बस्नेले धेरैधेरै कमाउदै जाने, छेऊमा बस्नेहरु रिंगआउट हुँदै केन्द्रमा बस्नेका लागि दास बन्ने खेल नै हो यो । यसले नेताहरु आर्थिकरुपमा बलिया भएका छन् भने मानवश्रोतहरु चल्न नसक्दा उत्पादनमा ह्रासआई राष्ट्रमा आर्थिक ब्ययभार बढेको छ । अर्कोतिर पहुँच हुने ब्यक्तिहरु बलिया हुँदै जाने र राष्ट्र खोक्रो हुँदै जानेक्रम पनि बढेको छ । अतः सामन्तवादविरुद्धको दुहाई गाउँदै कार्यकर्तालाई केवल चियापसल अगाडि बसाएर चेस खेल्ने वा चौतारामा गट्टा खेल्ने स्थितीमा पुर्याउने राजनीतिले यो मुलुकको सामाजिक, आर्थिक सांस्कृतिक परिवर्तन होईन, सवैलाई परनिर्भर, अवसरवादी, कामचोर बनाउँछ । त्यतिवेला आजका युवाहरु पैसा आर्जनका गर्नका लागि आफ्नै मित्र, आफ्नै जोईपोई वा आमावुवाको हत्या गर्न पनि तयार हुन्छन् । अहिले मुलुक अशान्त र आक्रान्त हुनुको एउटा यो पनि कारण हो । जवकि युवाहरु पैसा आर्जनका लागि एकअर्कामा हतियार उठाउन, वेश्यावृति गर्न गराउन तयार छन् । भोली यो बाबु आमा काट्ने वा आफ्नी श्रीमती वेच्ने वा छोरालाई वेश्यालय खोल्न लगाउने वा छोरीलाई वेश्यावृति गराउन वाध्य पार्ने स्थिती नआउला भन्न सकिन्न । अतः हाम्रो राजनीतिक संस्कार यो मुलुकको लागि घातक बन्दै गएको छ ।
आफ्नै लागि मात्र गर्ने र तत्कालको लागि मात्र सोच्ने वाहुनवादी मानसिकताले मुलुकको भविश्य र नेपाली जनताको भविश्य अन्धकारमा धकेलिदै छ । र, यही किसिमको राजनीतिलाई निरन्तरता दिँदै जाने हो भने हामीलाई थुक्ने मात्र होईन, भोली बाटामा देख्नासाथ परैबाट नेपाली जनताले ‘लौ चुत्याहा, भतुवा आयो’ भनेर ढुंगा हान्न शुरु गर्नेछन् । घरमा आमावुवाले पस्न दिनेछैनन्, श्रीमती झोलुकुम्लो बोकेर पोईल हिड्नेछिन्, श्रीमानले छोड्पत्रमा हस्ताक्षर गर्न वारम्वार दवाव दिनेछन् । त्यतिवेला बाटामा उभिएर अजमञ्जस परिरहँदा गल्लिका कुकुरहरुले समेत भुक्दै र लखेट्दै हामीलाई सोही माक्र्सवाद लेनिनवाद वा माओवाद वा अर्को कुनै समाजवादको यथार्थ धरातल पढाउन थाल्नेछन् ।
हामीले चाहेको गणतन्त्र यो होईन । गणतन्त्रको अर्थ श्रीपेज लगाएका महाराजा मिल्काएर नलगाएका वहुराजाहरु सत्तामा पुग्ने भन्ने होईन । सत्ता र पहुँचमा जनताको स्वामित्व स्थापना गर्नु अनि जनताको उन्नती–प्रगती, शान्ति, समानता, सहजता र सहअस्तित्व प्राप्त हुनु नै गणतन्त्रको मुलतः लक्ष्य हो । त्यसको वाधक राजा हुनाले उसलाई हटाउनु परेको हो । राजा हटाईसकेपछि पनि जनताले यो प्राप्त गर्न सक्दैनन् भने यो गणतन्त्रको कुनै तुक छैन । हामीले चाहेका तत्तत् कुराहरु राजाले गरिदिएका भए यो गणतन्त्र पनि चाहिएको थिएन । तसर्थ अवको आवश्यकता भनेको जनतालाई दिने यी पाँच कुराहरुको आधार निर्माण गर्ने, त्यसको संरक्षण गर्ने र संस्थागत गर्ने नै हो । यसका लागि केही अधिकारमुखि चेतनाको आवश्यकता त पर्छ नै । तर त्यो भन्दा ठूलो आवश्यकता भनेको प्रत्येक जनताको आर्थिकमा पहुँच वृद्धि गर्ने हो । प्रत्येक नागरिकले दुई छाक खाना आरामले खान पाउने वातावरणको श्रृजना गर्ने हो । यसका वाधक तत्वहरुलाई नष्ट गर्दै लाने र साधक तत्वहरुको प्रवद्र्धन गर्दै लैजाने आजको राजनीतिक धर्म हो ।
त्यसो हो भने अव सामन्तवादका संरक्षकहरुलाई नष्ट गर्न थालौ । जातीय अन्तर्घुलनका लागि ब्यवहारिकरुपले तयार हौं । पुँजीमा एकाधिकार कायम गर्ने, दलाल समुह, रातारात धनी बनौ भन्ने ब्यापारी, जमिनमाथि अधिपत्य राखेर अरुलाई श्रम गर्ने ठाउं नै नदिने जमिन्दार, राज्यलाई लुट्दै आएका भ्रष्ट कर्मचारी, १०।२० जनालाई मासिक तलव पुग्ने रकम एक्लै ओगट्ने आईन्जीओ लगायतका श्वैत–आतङ्कारीमाथि अवका युवाले आक्रमण गरी तिनलाई निष्तेज तुल्याउनु पर्दछ । त्यसपछि राज्यले नयाँ नीति लिन वाध्य हुन्छ । यही हो हामीले गाउंदैं आएको कालाका कानूनको अन्त्य । त्यसपछि ती पुँजीहरुलाई हाम्रा स्थायी श्रोतको परिचालन र उत्पादनका क्षेत्रमा लगानी गरौं । स्वदेशी र विदेशी परियोजनालाई लगानी गर्न बाध्य पारौं । यस्ता क्षेत्रमा लगानी गर्न नचाहने र केवल अधिकारका नाममा चलखेल गर्ने जो–कोही मुलुकका लागि अपराधी हुन, तिनलाई तिनका आफ्ना झोला बोकाएर लखेट्न पनि हामी तयार हुनुपर्दछ । यो हो वास्तविक राजनीतिक ब्यवहार र अवको बाटो ।




