प्रधानमन्त्री, गृहमन्त्री र एमाले नै गुण्डाराजको बचाउमा

(फोटो-महेश बस्नेतलाई छुटाउन एमाले मुख्यालय अगाडि धर्नादिनेहरुको समूह-कान्तिपुरबाट)

‘पत्रकार खिलानाथ ढकाललाई आक्रमण गर्नेहरु मेरै सुरक्षामा छन्, सक्छौ भने मलाई कारवाही गर’ भन्दै धम्की दिएका हुन् एमाले युवा संघ अध्यक्ष महेश बस्नेतले । यस्ता गुण्डालाई पक्रन, पक्रेर कारवाही गर्न र उस्लाई कानुनका पञ्जाले निचोरेर अपराधी समात्न कसले छेकेको छ ? तर थुइक्क प्रधानमन्त्री ! पद र कुर्सीका लागि मरेका नाथे गृहमन्त्री । गुण्डाहरुकै राज्य खडा गर्न उद्दत रहेछ सिंगो एमाले पार्टीपनि । अपराधीले स्वयं अपराध गरेर राज्यलाई नै चुनौती दिँदापनि यी सब झुके। अपराधीलाई कारवाही गर्नु त कहाँ कहाँ उल्टो अपराधीले चुनौती दियो, म छुट्दिन, गृहमन्त्रीले राजिनामा दे र के के भन्दै । म छुट्दिन भन्ने अपराधीको संरक्षकलाई ‘लौ त छुट्दैनस् भने’ भनेर कानुनका कोर्रा हान्न किन नसकेको ग्रिह मन्त्रालयले ?

यदि गृहमन्त्री कानुनको राज्य चाहन्छन्, अपराधीकरणलाई मास्न चहन्छन्, नागरिकको सुरक्षा गर्न चाहन्छन् र उनलाई पद र कुर्सीको लोभ छैन भने भन्न सक्नुपर्थ्यो, म कुनैहालतमा अपराधीसित झुक्दिन । बरु पद छोड्छु भनेर । जोसुकैले दबाब देओस् कारवाही गरेर छोड्ने र बरु कानुनी राज्य खडा गर्ने क्रममा मन्त्री पद छोड्नुपरेपनि जनताका अगाडि त्यसको वास्तविकता खोलेर पद त्याग गर्न सक्ने हिम्मत गरेको भए कस्तो हुँदो हो गृहमन्त्रीले ? तर पदकै लम्पट रहेछन् गृहमन्त्री, लुते कुकुरले झैं टाङमुनी पुच्छर लुकाएर ग्रिहमन्त्री पद जोगाए र झुके अपराधी र गुण्डाहरुका अगाडि ।

पाँच सात वर्षमा एकाएक गगन चुम्बी महलको मालिक । ठेक्कापट्टा र भन्सारमा हालीमुहाली । गुण्डाहरुलाई हातमा लिएर आतंक । सुरक्षाकर्मीहरुमाथि नै चुनौती । आफ्ना करतुतहरुका बिरुद्द जो तगारो देख्यो उसैलाई धम्की र आक्रमण । यो सिद्द भैसकेको छ महेश बस्नेत र उनका केहि आसेपासेबारे । एमालेले सिँगान चुहाउँदै रुन्चे स्वरमा क्याङ क्याङ् गरेपनि जनता पत्याउने पक्षमा छैनन् । माओवादी गृहमन्त्रीले डण्डा मन्त्रालय जोगाईराख्न एमालेसित अनेक नाममा कानेखुशि गरेर लत्रेपनि जनताको मनले अब मान्ने छैन । किनभने यीनले त्यहि गुण्डागर्दीलाई प्रश्रय दिइरहेका छन् ।

आफ्नो पार्टीको भात्री संगठनका सदस्यलाई कारवाही गर्नुको साटो एमाले प्रचार बिभागले उल्टो अपराधीलाई जोख्याउने कोसिस गरेको छ । पत्रकारको सुरक्षा र प्रेस स्वतन्त्रका पक्षमा प्रधान्मन्त्रीले ओंठे जवाफ दिएपनि उनैको पार्टीले अपराधीकरणको बचाउ गरिरहेको छ । देशको प्रधानमन्त्री र सरकार सञ्चालन दलको अध्यक्ष । यस्ता प्रधानमन्त्रीबाट देशले कस्तो साहसिक कामको अपेक्षा गर्ने ? के राजनेताको ब्यवहार खोज्ने ? कसरि यीनीहरुबाट नागरिकको सुरक्षा कसरि हुने ? देशको प्रधानमन्त्रीले आफ्नै पार्टीमा गुण्डाहरु पाल्ने । अपराधीहरुलाई कानुनी घेरामा नल्याउने । उल्टो अपराधीहरुलाई छुटाउन गृहमन्त्रीलाई दबाब दिए । प्रधानमन्त्रीलाई हेक्का हुनुपर्ने हो, जति सुकै मरिमेटेर विश्वकै उत्क्रिष्ठ संविधान बनाउन सफल भए भनेपनि त्यसलाई कागजको खोस्टोमा बदल्न सफल हुनेछन् यस्तै अपराधीहरुले । देशमा कानुनी राज्य भएन र नागरिकको सुरक्षा गर्न नसक्ने सरकारले जनताकालागि कुनै काम गर्न सक्दैन । जनतानै असुरक्षित राज्यमा संविधान सुरक्षित हुन सक्दैन । त्यसका अन्तर्वस्तुहरु जनताका पक्षमा लागू हुन सक्दैनन्, दिइँदैन । 

एमाले पार्टीका नेताहरु तिनै अपराधीलाई छुटाउने, बाँकिलाई लुकाउने र पार्टी चोखो भएको ढ्वाङ पिटिरहेका छन् । उल्टो संचार माध्यमहरुलाई दोष दिन उद्दत छन् राजनितिक प्रतिशोध साँचेको भन्दै । आक्रमणकारी गुण्डाहरु एमालेको संरक्षणमा छन् र तिनलाई कानुनी कठघरामा उभ्याएरमात्रै कानुनी राज्यप्रति आफ्नो प्रतिबद्दताको विश्वशनियता सिद्द गर्न सकिन्छ भन्ने एमालेलाइ हेक्का छैन । यो घटनाले दिनप्रति एमालेलाई नै कमजोर बनाइरहेको छ भन्ने तथ्य बुझ्न सकेका छैनन् स्वयं एमालेकै नेताहरुले । 

यो घटनाले राज्यका सुरक्षा निकाय राजनितिक दलहरुको अपराधिक मनोब्रित्ति र संरक्षणमा नालायक र कमजोर पारिएको सिद्द भएको छ । समाजमा सरकार सञ्चालन दललेनै अपराधीकरण र गुण्डागर्दीलाई संरक्षण दिएर सुरक्षाकर्मीको मनोबल गिराएका छन् । शान्ति र सुरक्षा कायम गराउनुपर्ने निकायलाई कमजोर बनाएर अपराधीहरुको चंगुलमा समग्र समाजलाई फसाउन बल पुर्‍याइरहेको छ एमालेले । अपराधीकरण र गुण्डागर्दीलाई स्विकार गरेकालाई पक्राउ गरेर ल्याउनासाथ राजनितिक पार्टीको दबाबमा यसरि उन्मुक्ति दिएपछि सुरक्षाकर्मीहरुले कुन उत्साहले काम गर्ने ? गुण्डागर्दीलाई हतोत्साहित पार्न सकिन्छ भनेर कसरि परिचालित हुने ? गृहमन्त्री त्यसैको चौकीदार, कुरुवा झै बनेका छन् भने प्रधानमन्त्री खनाल त्यसैको पक्षमा देखिएका छन् ।

तपाइँको प्रतिक्रिया