मन भण्डारी हत्यामा मौनधारण : हामी नै हत्यारा हौं कि ?

सरोजदिलु विश्वकर्मा 

जननेता मदन भाण्डारीको हत्या भएको १८ वर्ष बितिसकेको छ । म १६ वर्षको फुच्चेले कमरेड भण्डारीलाई खुलामञ्चबाट नारायणहिटीतर्फ फर्केर लल्कारेको देखेको पनि २० वर्ष पुगिसकेछ । तर अभिशाप ! सोही लल्कार उनको मृत्यको कारण बन्यो । २०४८ सालको संविधानले राजालाई दलहरुसंग सम्झौता त गराएको थियो तर संविधान र सेनाको मालिक चैं उही दरवारलाई बनायो । अफशोच ! सोही दरवारीया मालिक र उसका पहरेदारले कमरेड भण्डारीको हत्या गरे या गराए । यसमा दुईमत नै छैन । तर विडम्वना ! राजतन्त्रलाई फालेर हामी आफैं गणतन्त्रका मालिक भइसक्दा पनि मदन–आश्रीतलाई हत्या गर्ने को हो भन्नेमा आजसम्मै मौन छौं । 

बाहिर मदन भण्डारीलाई महान जननेता मान्ने, जवजलाई शीरको फूल ठानी जहीँतहीँ भाषणमा फलाक्दै हिढ्ने तर उनको नृशंस हत्या गर्ने अपराधीको नाम भन्नै डराउने हामी गणतन्त्रका कस्ता पहरेदार नेता वा कार्यकर्ता ! उनका विचार र दुरदृष्टीलाई मार्गनिर्देशक सिद्धान्तकारुपमा ब्याख्या–विश्लेषण गर्दै हिड्ने वा अरुलाई यस विषयमा पढाई खाने मेसो बनाउने, उनको मृत्युमा हजारपल्ट मौनधारण गर्ने तर जानीजानी सो हत्यारालाई जनतामाझ प्रस्तुत नगर्ने हामी नै पो स्वयम् हत्यारा भइरहेका हौ कि ? जवकी हत्याको पक्षमा साजीश गर्ने अथवा हत्याराको सूचना लुकाउनेले पनि वास्तविक हत्याराले सरह सजाय पाउने ब्यवस्था नेपालको कानुनले गरेको हुनाले, हामीले पनि मदन–आश्रीतको हत्याराको सूचना नदिएकाले अर्थात मौन बसेका कारणले जनताको अदालतमा मात्र होईन, राज्यको अदालतमै हामी आफैं हत्यारा सावित भइरहेका छौं । 

तसर्थ, एउटा हत्यारा पत्ता नलगाउने कि त हामी असफल, निकम्मा नेता वा कायकर्ता सावित भयौं या त यी महान ब्यक्तिहरुलाई भजाइखाने अपराधी । अतः हामी यस्ता महान नेतालाई न्याय दिनसक्दैनौ भने जनतालाई पनि न्याय दिनसक्दैनौ । तसर्थ हामीले ३ करोड जनताको सुरक्षा र यो मुलुकको रक्षा गर्छौं भन्ने कुरा मिथ्या मात्र हुनसक्दछ । 

यस वीचमा विभिन्न आयोग बनाएर अनुसन्धान गरिएता पनि तिनको निचोढ बाहिर आएन, आजसम्म । तर हामी जुनसुकै कोणबाट हेरौं– अमर लामालाई एउटा पात्र बनाएर दरवारिया शक्तिले कमरेड द्धयको हत्या गर्यो । उनीहरुलाई बिच बाटैमा वीष सेवन गराईयो या कुनै विषादी ग्यास । त्यसपछि दास ढुंगामा ल्याएर गाडीसमेत नारायणीमा हुत्याईयो । योभन्दा अर्को कारण हुनैसक्दैन । जुन हत्यारालाई मदन–आश्रीतको रगतको पाप त लागिसकेको छ । यद्यपि, हत्याराको नाम के हो ? यस प्रश्नले हामीलाई अहिलेसम्मै पोलिरहेको छ । हो, नेपाली कांग्रेस सामन्ती पुँजीवादको प्रतिनिधित्व गर्ने संस्था हो, जो सत्ता र भत्ताको पुजारी मात्र हुनखोज्दछ । जसले अधिकांश समय शासनमा रह्यो तर मदन–आश्रीतको विषयमा कुनै चासो लिएन । तर हामी त श्रमजीवि वर्गको मुक्तिको लक्ष्यमा एउटै धागोमा बाँधिएका वर्गीय क्रान्तिका योद्धा थियौं, त्यो क्रान्तिको आधारवस्तु निर्माण गर्ने उनै नेताको हत्याको विषयमा हामी नै अझसम्म किन मौन बसिरहेका छौं त ? यो हामी एमालेकै प्रश्न हो । 

यता, भण्डारीले हुर्काएको र उनको दर्शनले प्रेरित पार्टी नेकपा एमालेले तीनपल्ट सरकारको नेतृत्व गर्ने अवसर पाएको छ । चारपल्ट गृहमन्त्री र तीनपल्ट रक्षामन्त्री भएको छ । ठिक छ, शाहीकालमा हत्याको छानवीन गर्न कठिनाई भयो । यस वाध्यतालाई जनताले स्वीकारे । तर गणतन्त्र कालमै दुईपल्ट प्रधानमन्त्री, २।२ पल्टै रक्षामन्त्री र गृहमन्त्रीको जिम्मेवारीमा एमाले पुगिसकेको छ । तर खै मदन भण्डारीको हत्याको दोषी को हो भन्ने सत्थतथ्य वाहिर आएको ? स्वयं भण्डारीकी धर्मपत्नी रक्षामन्त्री हुनुभयो तर आफ्नै पतिदेवको हत्यारालाई सरकारको आँखाबाट उहाँले किन देख्न सक्नुभएन ? जनताको वहुदलीय जनवादका हिमायतीहरु पटकपटक उपप्रधानमन्त्री र गृहमन्त्री भएका छन्, तिनले पनि सत्थतथ्य बाहिर ल्याउन किन चासो देखाएनन् ? पार्टीको विजारोपन गर्दाका समकालिन अनन्य मित्र माधवकुमार नेपाल र झलनाथ खनालले पछिल्लो समयमा सरकारको नेतृत्व दिए, दिइरहेका छन् । तर शाहीकालका सेना र प्रहरी तथा दरवारीया शक्तिका अवशेषहरुसंग किन फेरिपनि त्रसीत भए, यिनीहरु ? कि जनतालाई वल्खु अगाडिको सालिकको दर्शन गराइदिँदैमा भण्डारीले न्याय पाए भन्नेमा उनीहरु ढुक्क र मख्ख भइरहेका छन् त ? यस प्रश्नको जवाफ नदिने हो भने हिजो खुलामञ्चमा गर्जने हामी र हाम्रा नेताहरु उपरान्त बल्खुको एउटा छिँडिमा सीमित हुनुनपर्ला भन्न सकिदैंन । 

उहाँले प्रतिपादन गरेको जनताको वहुदलीय जनवादको मुलमर्म पनि यही थियोः– साझा राजनीतिक सवालमा सम्भव शक्तिहरुलाई एकतावद्ध नबनाउने र एकतालाई एक्ल्याउन खोज्ने परम्परावादी दृष्टीकोणहरु गलत हुन् । त्यो दृष्टीकोणको नेतृत्व नेपाली कांग्रेसले गरिरहेको छ भन्ने जवजको सही किटान अजपनि सावित भइरहेको छ । जवजले यसो पनि भनेको छ– सामन्तवाद, दलाल, नोकरशाही साम्राज्यवाद हाम्रा प्रमुख वर्गशत्रु हुन्, तिनको उन्मुलन गरी जनताको जनवादी सत्ता कायम गर्नु क्रान्तिका आधार निर्माण गर्ने हाम्रा कार्यभारहरु हुन् । तर हामीले अहिले पनि साझा सवालका राजनीतिक शक्तिहरुलाई अगलाव दृष्टीले हेर्दै केवल सत्तोसराप गरिरहेका छौं । वरु जवजले किटान गरेका हाम्रा विरोधी शक्तिहरुको पक्षमा पक्षपोषण गरिरहेका छौं । 

हामी पुजिवादका विरुद्ध दिनभरी मुर्दावाद भन्छौं तर रातारात बैयक्तिकरुपमा मालामाल बन्ने र आफ्ना दरसन्तानका लागि मात्र सकेसम्म जायजेथा राज्यवाट लुट्ने धन्दामा तल्लिन छौं । नोकरशाही सामन्तवादको कटू विरोध गर्नु मदन भण्डारीले सिकाएको मूलधर्म थियो, तर आज नेताहरुले हामी कार्यकर्तालाई नै आफ्ना नोकर देख्नथालेका छन् । जवकि चाकडी, चाप्लुसी र गणेशभक्तिले पार्टीमा प्रसय पाइरहेको छ, त्यागी र योग्यताको सम्मान हुनैसकेको छैन । साम्राज्यवादी दृष्टीकोण र समाजवादी लक्ष्यवीचको दुरी प्रधानअन्तरविरोधी विषयहरु हुन् । तर आज हामी नेता–कार्यकर्ताहरु सामन्तवादको प्रतिनिधिकोरुपमा फैलिरहेका विदेशी गैरसरकारी संस्थाहरुमा भत्ता ओगटेर बस्दैछौ । तथापि, वैदेशिक पुँजी र प्रविधिहरुलाई उत्पादमुलक ढंगले राष्ट्रिय हितमा प्रयोग गर्नु तत्कालिन कार्यनीति हो भनेर हामीले जवजमा पढेका छौं, तर ती श्रोतहरुलाई कुनाकुनामा बसेर आफ्नै कार्यकर्ताबाट भाग्दै र लुक्दै आआफ्ना जोईपोइको धोती–पटुकी फेर्ने र आआफ्ना छोराछोरीलाई साम्राज्यवादी मुलुकको सेवामा खटाउने–पठाउने चुत्थो संस्कारमा प्रफूल्ल छौं । 

सर्वहारा श्रमजीवि र मिहिनेतकश वर्गको मुक्ति जवजको मुल ध्यय हो । तर मुलुकको हितमा निकम्मा सावित भएका पराम्परावादी सेना र जनतामाथि लाठी वर्षाउन मात्र खट्ने प्रहरी र पुरातनवादी कर्मचारी प्रशासनलाई सुरक्षाकवच बनाएर सामन्तवादका प्रतिककारुपमा रहेका ती नकुद्ने घोडाहरुलाई राज्यका ढिकुटीबाट भरनपोषण गरिरहेका छौं भने श्रमजीवि सर्वहारा जनतालाई आधारभूत कुरामासमेत सास्ती दिएर करले ढाड् सेक्दै फेरि महान नेता भण्डारीको नाम लिदैं झण्डावाला गाडीमा डण्डा समाउने जालसाँचमा छौं । तदनुरुप हामीले मदनको नाम लियौं, दाम र माम कमायौं तर उनले निर्देश गरेअनुसार काम गरेनौ । यसो हो भने हामीले पक्कैपनि यी महान जननेतालाई न्याय दिईरहेका छैनौं । जवजका सिद्धान्त र ब्यवहारमा पनि हामी यसरी चुक्दैछौं । हाम्रो समाजवादी लक्ष्यको यात्रा यही अड्केको छ । यिनै अन्तरविरोधहरु थाहा पाउँदापाउँदै ऋृण खाएर लाज पचाउँदै भागेको नकचरो झैं हामी पनि हाम्रा कार्यकर्ता र पार्टीबाटै भागिरहेका छौं ।

त्यसैले काम्रेडहरु हो, हामी वास्तवमै मदन भण्डारीलाई जननेता मान्न तयार छौं भने र जवजबाट निर्दिष्ट कार्यकर्ता हौं भने दासढुंगाको एकान्तमा न्यायको प्रतिक्षा गरिरहेका सालिकलाई हेरौं,  बल्खु छिर्दा आफ्ना चश्मा खोलेर एकक्षण दुवैलाई नियालौं र जवजलाई अध्ययन गरौं । अनि आआफ्ना सरकारी पद, झण्डावाला गाडी चढ्नुको धर्र्मलाई बुझौं । कार्यकर्ताले भण्डारीको कथाब्यथा लेखेर, गाना गाएर वा फिल्म बनाएर मात्र चित्त बुझाउने होइन, हत्यारा सार्वजनिक गर्न अव आफ्नै नेतालाई खवरदनरी गर्न फेरिपनि भुल्नु हुदैंन । होईन भने भण्डारीलाई नै न्याय नदिने हामी, न पार्टीलाई न कार्यकर्तालाई न्याय दिन नै सकौंला ।

तपाइँको प्रतिक्रिया