चाकरीबाजहरुको बाबुराम हुइयाँ
नेपालीमा स्याल हौवा भन्ने उखान जस्तै भएको छ अहिले एकिक्रित नेकपा माओवादीका उपाध्यक्ष डा बाबुराम भट्टराइको हुइयाँ । अचम्म छ, जब जब सरकार परिवर्तनको चर्चा चल्छ तब बाबुराम हुइयाँ खुब चलाइन्छ, चर्किन्छ । बाबुराम हुइयाँ झलनाथ खनाल प्रधानमन्त्री हुनु अघिपनि एक पटक त्यसैगरि कुर्लाइएको थियो सारा पार्टीभित्र । युवाभित्र । शहर गाउँ भित्र, वडा र टोलभित्र । छापामा खुब चलाइएको थियो एक छत्र लडाइँ । बाबुराम भट्टराइ प्रधानमन्त्री भए भने त संविधान चुड्कीका भरमा स्याट्टै लेखिने । देश त अर्को दिन बिहान उठ्दा पश्चिमी मूलुकको हाराहारीमा आर्थिक सम्पन्नतामा पुग्ने झैं ।
अहिले झलनाथ खनालले राष्ट्रिय सहमतीको सरकार बनाउन राजिनामा दिने भन्नासाथ बाबुराम हुइयाँ फेरी उसैगरि चम्केको छ । प्रधानमन्त्री बन्ने बाबुरामको बिकल्पनै छैन सम्म भनेको सुनिएको छ छापामा । साँच्चै के उनको चर्चा भए झैं उनी प्रधानमन्त्री भए भने यो ब्रह्माण्डै उल्टिन्छ कि के हो ?
स्याल हुइयाँ मच्चाउनेहरुको ‘ग्र्याण्ड डिजाइन’ खतरनाक छ । किनभने तिनले सरकार परिवर्तनको गाइगुइँ सुन्नासाथ बाबुराम हुइयाँ खुब मच्चाउँछन् छापामा । अहिले नागरिक न्युज, हिमाल पाक्षीक देखि कान्तिपुर र नेपाल साप्ताहिकसम्म बाबुराम हुइयाँ खुब पढ्न पाइन्छ । कतै बाबुराम बलियो हुँदै भनेर उचालेका छन् । कतै बाबुरामलाई पेले भनेर कुर्लेका छन् । कतै बाबुराम प्रधानमन्त्री बनेदेखि अन्य दलसित उनको लागि समर्थन लिन सहज हुन्छ भनेर बौरिएको देखिन्छ ।
बाबुरामको लागि स्याल हुइयाँ झैं मच्चाउन कुमार पौडेल, राम कार्कीदेखि देवेन्द्र पौडेल, मुमाराम खनालदेखि तिनले लामो समयदेखि सूचना दिएर गुन लाएका पत्रकारहरु सबै छापामा एकसाथ देखापरेका छन् । माओवादीको एकथरी स्रोत भन्छ, तिनले थुप्रै छापालाई गुन लगाएका थिए, पार्टीको गोप्य सूचना दिएर । बाबुरामलाई जानकारी नहुन सक्छ, यस्तै स्याल हुइयाँ मच्चाउनकालागि तिनले पार्टी सूचना दिन्थे जसले गर्दा यस्तै हुइयाँ मच्चाउन खाँचो परेको बेला गुन तिरुन् । नेपालका सिमित मेडियामा ति नाम बारम्बार झुल्किने गरेकाले त्यो बुझ्न कठिनपनि पर्दैन ।
अचम्म त के भने पार्टीका प्रवक्ता हुन् दिनानाथ शर्मा । उनको काम पार्टीका निर्णय, पार्टी नीतिहरुका बारेमा निस्पक्ष तरिकाले बाहिर सार्वजनिक गर्नु । तर उनी स्वयंले अब प्रधानमन्त्रीमा बाबुरामको बिकल्पै छैन भनेर अर्को स्याल हुइयाँ पो मच्चाए । माओवादी पार्टीमा बाबुरामकालागि यति बिघ्न चाकरी पड्काउन आउरे बाउरेहरु किन कम्मर कसेका हुन् ? पार्टी प्रवक्ताको भनाइ सुन्दा त माओवादीमा प्रधानमन्त्री बन्न लायक नेता भट्टराइ मात्रै हुन् कि के हो भन्ने शंका लाग्छ ।
वास्तबिकता हो, भट्टराइ जनताले सबैभन्दा बढि रुचाइएका नेता हुन् । सरकारमा जिम्मेवारी लिँदापनि सबै भन्दा सफल नेता । स्पष्ठ बक्ता । प्रधानमन्त्री बन्न लायक उनी सबैभन्दा अगाडि होलान् । तर उनका बारेमा जति हुइयाँ मच्चाइएको छ, जति उचालिएको छ त्यो त अतिवाद र उनको शक्ति प्रयोग गरेर मोज लुट्ने चाकरीबाजहरुको चालबाजी होकि झैं लाग्छ । किनभने संविधान बनाउने सहमती, लडाकू समायोजनमा बहस, आर्थिक र सामाजिक परिवर्तनकालागि अरु दललाई विश्वासमा लिन उनको क्षमता भए अहिलेपनि केहिले रोकेको छैन । माओवादी उपाध्यक्षका नाताले अहिलेपनि उनले यो काम गर्न सक्छन् । नेपाली कांग्रेससित सहमती बनाउन उनी अहिलेपनि स्वतन्त्र छन् । प्रधानमन्त्रीनै भएपनि उनले एक्लै केहि निर्णय गर्ने होइन, पार्टीको निर्देशन र नीति बिरुद उनी कतै चट्पटाउन पाउने होइनन् ।
चाकरीबाजहरु, आसेपासेहरुलाई उचाल्न, चाकरी मार्न त सजिलो छ । तर देशको परिस्थिति तिनले चुड्की बजाए जस्तो सहज छैन । उनको पार्टीमापनि उनी बहुमत पक्षमा नपर्नाले उनका नीति लागू हुन सक्ने गुञ्जाइस छैन । अरु दल त झन यसैपनि दशतिर फर्किएका छन् । तिनलाई मओवादी पार्टीनिति र निर्देशन अनुसार विश्वासमा लिएर काम गर्न सक्छन् भट्टराइले भन्ने के निर्क्यौल छ ? बरु भट्टराइलाई उचालेर असफल बनाउन सक्ने संभावना बलियो छ ।
उनी अरु भन्दा सफल हुन सक्लान् । सकारात्मक भूमिका देखिएला । तर संविधान बनाउने मुख्य विषय अघिल्लो पटक माओवादीले सरकार चलाएझैं अवश्यै सहज होइन । संविधान का अन्तर्वस्तु छुट्याउन, खुट्याउन, राज्य पूनर्संरचना लगायतका विषयमा सबै दलको सहमती लिन बाबुराम लाई पनि हम्मे हम्मे नै पर्छ । उनी प्रधानमन्त्री हुँदैमा उनको हातमा अरुलाई लठ्याउने त्यस्तो केहि छैन जसले गर्दा उनले प्रस्ताब गरे अनुसारको संविधानमा अरु दल लम्पसार परेर हस् भनुन् । धेरै स्याल हुइयाँ मच्चाएर उनी असफल भएभने बरु समग्र रुपमा भट्टराइकै राजनितिक यात्रामा तगरो लग्न सक्छ, जनताले उनलाई टाढा धकेल्न सक्छन् मनबट । उनको लोकप्रियता चौतर्फी घट्न सक्छ ।
संविधान बनाउन, आर्थिक सामाजिक संरचना फेर्ने एक्लो प्रधान्मन्त्री को केहि दाल गल्दैन । अनेक समिति हुन्छ अनेकौं निकाय र मन्त्रालय परिचालित हुनुपर्छ । त्यसका लागि पहिलो शर्त पार्टीगत सहमती हो । तर राम कार्की, कुमार पौडेल, देबेन्द्र पौडेल लगायतका ब्यक्तिहरु भने यो वास्तबिकतालाई कतै उल्लेख नगरि एकोहोरो बाबुरामको छबी फैलाउने नाममा चाकरी हुइयाँ फैलाइरहेका छन् । सायद तिनलाई जसरिपनि भट्टराइलाई प्रधानमन्त्री बनाएर खहरे खोलो बहुलाएझैं हाट्ट हुट्ट फाइदा हात पारिहाल्नु परेको छ । बेलैमा चाकरी बजाए न उनी शक्तिमा पुग्दा पद र अन्य लाभ हात पार्न सकिन्छ । नत्र सरकार परिवर्तनको चर्चा चल्नासाथ मेडियाका हरेक कोण र उनको गुनगान गाउने चाकरीबाज उभ्याएर उचाल्नुपर्ने कारण के ?
श्याल हुइयाँ मच्चाए झैं बाबुराम भोली सफल होउन् कि नहोउन्, असफल भए उनको कद झन निमोठियोस् कि जे सुनै होस् तिनलाई कुनै मतलब भए झैं देखिन्न । त्यसैले तिनले जसरिपनि प्रधानमन्त्री बनाउन बाबुराम हुइयाँ मच्चाउँदै चौतर्फी हमला केन्द्रित गरेका छन्, चाकरी बजाएका छन् ।




