गृहमन्त्रीज्यू अबपनि आफ्नै मान्छेको खोजि नगर्ने ?
यस्सो सोच्नुस् त, तपाइको आफन्त, आफ्नो सन्तान, परिवारको सदस्य वा नजिकको मित्रनै किन नहोस् । उ बित्यो, मर्यो, सहिद भयो भन्ने जानकारी भयो भने के होला ? आवेग उठ्छ । तनाव आउला । मन कुडिन्छ । आत्म रुन्छ । ह्रिदय फाट्छ । भक्कानो परेर रोइएला केहि समय । अन्तत: लौ छैन भनेर आसा मर्छ । बच्चा चिचिलाले एउटा बाटो रोज्छन् । परिवारले आसा मारेर एउटा निर्णय गर्छन् । अब आउन्न, सदाका लागि गयो भनेर जबर्जस्ति भएपनि मन बाँध्नै त पर्छ । सम्हालिनै त पर्छ ।
तर वर्षौं वर्षसम्म परिवारको सदस्य बेपत्ता हुँदा कस्तो हुन्छ ? दश वर्षे द्वन्द र त्यसपछिपनि कयौँ नेपालीका आमा, छोरा छोरीहरु बेपत्ता भएका छन् । तर तिनको कुनै पत्तो छैन ।
दश वर्ष अघि बेपत्ता भएका मध्ये कतिका वालवालिका अहिले किशोर किशोरी भैसकेका छन् । आफ्ना बाबु आमाको स्थिति जान्न नपाउँदा तिनलाई कस्तो हुँदो हो ? सँगिसाथी आफन्तले सोध्दा के जवाफ दिँदा हुन् ? आफ्ना छोराछोरीको स्थिति थाह नहुँदा बाबु आमाको मन कसरि सम्हालिँदो हो ? मरेको छैन भन्ने निर्क्यौल नहुँदा वा जेलमा छ भन्ने निश्चित नगरिदिँदा तिनले हरेक दिन दैलामा बसेर मझेरीतिर हेर्दा हुन् ‘तैपनि टुप्लुक्क झुल्किहाल्छ की’ ?
दशैं आउँछ । तिहार जान्छ । अनेक पर्वले संझना बोकेर आउँछन् । जति आफन्त र वरिपरि भिड लाग्छ त्यति तिनको आत्म रुन्छ ‘हाम्रोपनि भैदिएको भए’ ! दशैंमा आएन , तिहारमा पो आइहाल्छ कि त ? न मध्यरातमा ढोका ढक्ढ्क्याउँदै पो आइपुग्छ कि ? कति पीडादायी हुन्छ बेखबर परिवारलाई ?
माओवादीले साँचेका, बाँडेका सपना ज्युँका त्युँ छन् । तर ति बाँड्नेहरुमध्ये धेरैका सपना पूरा भए । त्यस्ता सपना बाँड्नेहरु अहिले शहरमा बस्छन् । कोहि मन्त्री छन्, झण्डा हल्लाउँदै हिँड्छन् । कोहि ठ्क्कापटातिर लागे । कति बिदेश हुइँकिए होलान् । थुप्रैले शक्ति र पहुँच लगाएर ठाउँमा जागिर लगाए, खाए । बाबुराम भट्टराइलाई प्रधानमन्त्री बन्न पाए भएको छ । गाउँ गाउँमा गएर सपना बाँड्नेहरु मध्ये थुप्रै बाबुरामका गुनगान गाउनैमा बेफुर्सदिला छन् । प्रचण्डका बिदेशमा बसेका छोरी र कुखुरा सुखुरा पालेर बसेका भाइभतिजा सम्म ठाउँमा पुगे । छोराको प्राथमिकता दशौं लाख खर्च लाग्ने सगरमाथा आरोहणतिर पुग्यो । तिनको भर्याङ चढेर ति सत्तामा पुगे । तिनै बेपताको पसिनाले सिंचिएको कमाइले तिनको कुर्सी संग मितेरो लाग्यो । तिनको कमाइले मन्त्री बने, सभासद पड्काए । देशकै सुरक्षा हातमा लिने हैसियतमा पुगे । तर तिनलाइ यो दर्जा, पद र शक्तिमा पुर्याउने हजारौं नागरिकको अवस्था भने अज्ञात छ । जब ति ठाउँमा पुगे तब आफैंले खोलो तरेको नाउ बिर्सिए । पहिले पहिले त यस्सो बेपत्ताको खोजि भन्ने चर्चासम्म गर्थे माओवादीले । अब त तिनलाई संझिने फूर्सद सम्मपनि देखिन्न ।
देश र जनताकालागि भनेर हिजो सँगै हिँडेकाहरु आज चिल्ला गाडीमा चढेको बेपताका परिवारले देख्छन् । कोही मन्त्री, कोहि अनेक संस्थाका हाकिम । कोहि बिदेश यात्रामा । कोहि एनजिओका ढोकातिर । कुनै नेताका दैलामा । तिनलाई त्यसैमा भ्याइनभ्याइ देख्छन् । देश र जनताको वास्तविक मुक्तिका लागि भनेर सँगै कान्ला हाम्फालेकाहरु, नुन र मकै चपाएकाहरुलाई अहिले त्यसमा वास्ता गर्ने फूर्सद छैन । गाउँमा बाचा खाँदै अँध्यारो कोठामा बसेर गाउँले भेला पार्दै दिएका आश्वासनहरुको महत्व छैन ।
जसले सोच्नुपर्ने हो ति आफू आफूमै ग्रिहमन्त्री, प्रधानमन्त्री, पार्टीमा कसलाई कुन तहमा लैजाने, युवा संगठनको नेत्रित्व कसले गर्ने ? मजदूर संगठनबाट कसलाई लघारेर कसलाई ठाउँमा पुर्याउने ? को बाबुराम गूटको ? कुन कुन हुन् बैद्द समूहका ? प्रचण्डका अन्धभक्त कुन कुन परे ? बास, चिन्ता गर्नुपर्नेहरुलाई यसैको चिन्ता छ । एक लाखमा ब्यक्तिको ज्यान पाइने झैं र त्यत्तिले गुजारा चल्छ झैं बेपत्ताको परिवारलाई एक लाख दिने घोषणा गरेका छन् । त्यहि लिन पनि अनेक पार्टीको सिफारिस र चाकरी नगरि दिने गर्दैनन् । लाख लिन यता उति धाउँदैमा अर्को लाख खर्च हुने झन्झट लगाएका छन् ।
शान्तिवार्ता गर्दा, बेपत्ताको खोजि प्राथमिकतामा राखिएको थियो । अहिले बरु नेपाली कांग्रेसले आफूले शुरु देखि जोडतोडले राखेको ‘द्वन्दकालमा लुटिएको, हडपेको घरजग्गा फिर्ता गर्नुपर्ने’ माग उत्तिकै उठाएको छ र माओवादीले फिर्ता गर्ने बचन दिएको छ । तर माओवादीले भने बेपत्ता नागरिकको खोजिमा चासो दिएको छैन । हुनत आफ्नो देशको नागरिक जुनसुकै पार्टीका किन नहोउन् खोजि गर्ने जिम्मा सबैको हो । सबै पार्टीको हो । बेपता जति सबै माओवादी समर्थक, कार्यकर्ता नै हुन् भन्नेपनि छैन । बेपत्ता नागरिकको खोजिलाई सबैले प्राथमिकता दिनुपर्ने हो । तर नेपाली कांग्रेस, एमालेलेपनि सम्पत्ती फिर्तालाई नै प्रमुख ठानेका छन् । लाग्छ, तिनलाईपनि नेपालीको ज्यान भन्दा सम्पत्ती र घर जग्गा लगायतका सम्पत्तीनै ठूलो हो ।
अहिले त ग्रिह मन्त्रालय नै माओवादीको हातमा छ । यदि माओवादीले चासो दिने हो भने, उसलाई चासो भए कम्तिमा बेपत्ता नागरिकको खोजि गर्नसक्छ । शक्तिशाली आयोग बनाएर माओवादीले छानबिन र खोजि गर्न सक्थ्यो । ‘हाम्रो सरकार आयो भने दरबार हत्याकाण्डको वास्तबिक छानबिन गरेर अपराधीलाई न्यायको कठघरमा उभ्याउँछौं ‘भन्दै डा बाबुराम भट्टराइ स्वयंले खोकेको भर्खरै झैं लाग्छ । दरबार हत्याकाण्डबारे त परै जाओस आफ्नै कार्यकर्ताको खोजिमा त चासो छैन । सरकार ढाल्ने, गिराउने र अर्को बनाउनेमै फूर्सद छैन बेपत्ताको खोजि कहिले, कसले गर्ने ?




