प्रचण्ड पूत्र, अहिले खाँचो सगरमाथा चढ्ने कि संविधान बनाउने ?
हगनका बेला लगन भने झैं छ अहिले प्रचण्डपुत्र प्रकाशलाई । देश यस्तो राजनितिक अन्यौलमा छ । नेताले कसम खाएका ३ बर्षमा त संविधान बनेन । भर्खरै थपिएका तिन महिनामा के हुने हो भन्ने त्रास छ । अबपनि संविधान नबने ठूलो राजनितिक अनिष्ट हुने स्थिति देशको ढोका बाहिर उभिएको छ । सारा जनता, सिंगै देश उठेर, लागेर, जागेर त्यसलाई समाधान गर्नुपर्ने बेला हो ।
तर सरकार सञ्चालन पार्टीको अध्यक्षका पुत्र, ‘जनमुक्ति सेनाका एक कमाण्डर’, माओवादी पार्टीका एक नेता प्रचण्ड पुत्र प्रकाशलाई भने यहि बेला सगरमाथा चढ्ने चटारो परेको छ । उनको सगरमाथा आरोहण गर्ने हुटहुटी देख्दा लाग्छ, अहिले मजा गर्ने, रमाउने, रेला गर्ने, बिभिन्न खेल खेलेर नाम कमाउने, दिल हसाउने, शरिर तङ्राउने बेला हो यो ।
हरेक पल्ट सगरमाथा चढ्दै आफूले रचेको क्रितिलाई चुनौती दिँदै आएका आप्पा शेर्पालाई अभिनन्दन गर्दै थिए उनका पीता प्रचण्ड । पुत्र प्रकाश हौसिइहाले । त्यहिँ आप्पालाई अभिनन्दन गर्दा गर्दै घोषणा गरे, अबको सिजनमा म पनि सगरमाथा आरोहण गर्छु ।
कसैलेपनि सगरमाथा आरोहण गर्न खोज्छ भने त्यसको बिरोध किन गर्ने ? उनको सगरमाथा आरोहणकै बिरोध गर्न खोजिएको पटक्कै होइन । तर के अहिले उनी जस्ता नेता, जनमुक्ति सेनाका एक जिम्मेवार ब्यक्ति, मुख्य दलकै अध्यक्ष आफ्ना पीताको अनेक राजनितिक काम बोकेका ब्यक्ति हिम चिप्लेटीसित रमाउने बेला हो ? अहिले यतिखेर देशले के खोजिरहेको छ त्यो स्तरका नेताबाट ? देशको अहिलेको प्राथमिकता के हो ? संविधान बनाउनु हो कि नेताहरु हिमालका हिउँमा चिप्लेटी खेलेर समय फाल्नु ? संविधान बनाउनकालागि आफ्ना पीता र आफ्नो पार्टीलाई सहयोग गर्नु हो कि सगरमाथा आरोहणकालागि शारिरिक ब्यायममा रमाउनु ? संविधान बनाउन सिर्जनशिल दिमाख र रचनात्मक सहयोगको खोजि गर्नु हो कि भुसतिघ्रा तन्काउँदै शारिरिक प्रदर्शनमा खर्चिनु ?
उनको आफ्नै पार्टीमा लडाकू समायोजन, पार्टी नेताको सुरक्षाबाट तिनलाई हटाउने लगायत अन्य दलसित गरेका सहमतीमा तिब्र मत बाझिएको छ । यहि बेला राष्ट्रिय सहमतीको सरकारको आवश्यकता छ, चर्चा र प्रयास त्यसैमा जारी छ । ‘जनमुक्ति सेना’ ले तत्कालकालागि पार्टी निर्णय मान्छौं भनेपनि तिनको सम्मानजनक समायोजन भएन भने स्विकार गरिन्न भन्ने आवाज भित्र भित्रै उठाएका छन् भन्ने सुनिन्छ । यहि बेला संविधान बन्न नदिनेहरुको सक्रियता चुलिएको छ र बाँकि तिन महिना नजिकिँदै जाँदा अझ बढ्ने छ । अनि यस्तो बेलामा राजनितिक दलका सबै खाले नेताको जिम्मेवारी के ? देशलाई पहिले राजनितिक रुपमा सहि दिशा दिनु पो हुनुपर्ने होइन र ?
तर हामीले त्यसरि सोचेर के गर्नु ? देश, समाज र राजनितिक पार्टीहरुलाई आवश्यक परेर के गर्नु ? प्रचण्ड पूत्रलाई भने हरिया डाँडामा आँखा डुलाउनु, हिमालको चिसो हावासित मितेरी लाउनु, हिम चिप्लेटी खेलेर मन हसाउनु, सगरमाथामा पाइला राखेर नाम कमाउनु रहेछ । उनको लागि संविधान भन्दा हिउँका डल्लासित नातो गाँस्नु नै महत्वपूर्ण रहेछ । आफ्नै पार्टीले अघि सारेका राजनितिक प्रस्ताव, माग र शर्तहरुलाई पूर्णरुप दिन, सुल्झाउन भन्दा संसारलाई देखाउनु रहेछ, “मैले सगरमाथा चढें” भनेर ।
सगरमाथा साहसी मान्छेले गर्ने काम हो । सगरमाथा सान हो । सगरमाथा चुनौती हो । सगरमाथा गौरव हो । सगरमाथा संसारको बिजय हो । तर सगरमाथा चढ्ने शान र मान अहिले देशको राजनितिक स्थायित्वकालागि चाहिएको छ । सगरमाथामा शारिरिक रुपले पौंठेजोरी खेल्नकालागि होइन । जनताको पक्षमा गतिलो संविधान बनाउनको लागि आफ्नो पार्टी, कार्यकर्ता र अन्य दलसित छलफल, बहस, वार्ता, समझदारीका लागि पहल गर्नु प्रमुख काम हुनु, हुनुपर्छ । हरेक पल पल महत्वपूर्ण छ देशको भविष्यकालागि अहिलेको समय । नत्र यस्तो बेला उनलाई सगरमाथा नचढी नहुने के थियो ?
हिमाली जिवन उनको दैनिकी होइन । हिमालसितको नातो उनको दैनिक गुजाराको माध्यमपनि होइन । हिमालै चढेर उनले आप्पाले झैं परिचय बनाएका पनि होइनन् । हिमाल उनको परिचय पनि होइन । हिमाल नचढे नत उनको सान, मान र परिचय गुम्नेनै हो । ढिलै गरेर चढ्दापनि उनको गुम्ने केहि थिएन । संविधान बनाएर, देशलाई अहिलेको कहालीलाग्दो अवस्थाबाट पार लगाएर चढ्दापनि हुँदो हो । तर उनको प्राथमिकतामा ति विषय परेनन् ।
किनभने उनलाई थाह छ, न त फेरीपनि संविधान बन्ने वाला छ । न उनीहरुले दिएको राष्ट्रिय मुक्ति, समानताको नारा पूरा हुने छ । जनयुद्द गर्न उक्साउँदा जे जस्ता आश्वासन जनतालाई दिइएको थियो न त त्यो नै पूरा हुने अवस्था छ । न त उनको पार्टी शोसित पीडित जनताको मुक्तिको, आशा र भरोसाको केन्द्रनै रहीरहने अवस्था देखिएको छ । जसरि हुन्छ उनको पार्टीलाई एमालेकरण गर्नु त छ । जनतालाई दिएका आश्वासनहरुलाई धोती लगाउनु त छ । त्यसकोलागि धमर्धुस गर्ने नेता कति छन् कति, बाउका वरिपरि घेरा हालेर बसिरहेकै छन् । किन चाहियो कमरेड प्रकाशको भूमिका ? आफूले आश्वासन बाँडेर जनयुद्द गरेका बाचा पूर नहुने भएपछि बरु हिमाल आरोहण तिर लाग्नै जाति !!




