पहिले कांग्रेसले पेल्यो अब माओवादीको पालो
कहिले सासूको पालो त कहिले बुहारीको पालो भनेझैं कुनैबेला नेपाली कांग्रेसले भक्कु पेलेथ्यो माओवादीलाई । अहिले माओवादीले पेल्ने नियती देखाउँदै छ । उसैगरि नेपाली कांग्रेससित मिलेर सरकार बनाउँदा नेकपा एमालेका केपी ओली र माधव नेपालले खनाल पक्षलाई पेल्नुसम्म पेलेका थिए । ति कांग्रेससित मिलेर पेल्थे खनाल पक्षलाई । नेपाली कांग्रेसको गतिलो पाखुरा पाएका थिए तिनले खनाललाई पेल्न ।
अहिले पालोको पैंचो भने झैं प्रधानमन्त्री खनाल केपी ओली र माधव नेपाल पक्षलाई पेल्ने तरखरमा द्रिढ देखिन्छन् । उतिबेला केपी ओली र नेपालले कांग्रेसको बलियो आधार पाए झैं अहिले खनालले पाएका छन् प्रचण्डको डण्डा । त्यसैले राष्ट्रिय सहमती, विश्वासको वातावरण, दलहरुबिच एकता अनि शान्ति र संविधानका लागि एकमत भन्दापनि एक पक्ष खोचे थाप्ने र अर्को पक्ष पेलान दिएर जाने मनशायमा देखिन्छ ।
संविधान सभा निर्वाचनको परिणाम अपेक्षित आएन धेरैकालागि । माओवादी पहिलो दल बन्यो । अनेक अनेक शर्त राखेर सरकार छोडेन महिनौंसम्म नेपाली कांग्रेसले । माओवादीको सरकार त बल्ल बल्ल बन्यो । तर सरकार बाहिर बसेर अनेक शर्त राख्दै नेपाली कांग्रेसले पेलिरह्यो । माओवादीको आरोपमा त नेपाली कांग्रेसको उक्साहटमा भारतलेपनि पेल्यो । नेपाली कांग्रेसका नेता भएपनि देशको राष्ट्रपती भएकाले निष्पक्ष भूमिका खेल्नुपर्नेमा सेनापती हटाउँदा गैरसंवैधानिक काम गरेर माओवादीलाई पेले । बाध्यतावस माओवादीले राजिनामा दिनुपर्यो ।
फेरी नेपाली कांग्रेसको समर्थनमा एमाले नेत्रित्वको सरकार बन्यो । संविधान सभाको म्याद सकिन लाग्दा एमाले र नेपाली कांग्रेसले फेरी एक वर्षको म्याद थप्न खोजे सजिलो सित । मौका यहि हो पेल्ने भनेर माओवादीलेपनि तिनमाथि शर्त राख्यो अनेक । त्यतिबेला माओवादीले ‘यो सरकारले शान्ति र संविधानकालागि सिन्कोसम्म नभाँचेको आरोप लगाउँदै राष्ट्रिय सरकार बन्नुपर्ने र त्यसकालागि एमाले कांग्रेस सरकार बिघट्न हुनुपर्ने’ शर्त अघि सारेको थियो । अहिले ठ्याक्कै माओवादीले कांग्रेस समर्थनमा एमालेको माधव नेपाल नेत्रित्वको सरकारले झैं यो सरकार बिघटन हुनुपर्ने माग तेसारेको छ ।
त्यतिबेला एमाले र नेपाली कांग्रेसले यदि माओवादीले नमाने बहुमत पुर्याएर म्याद थप्ने धमास दिएकै हुन् । अनि झलनाथ खनाल त्यसको बिरोध गर्थे । अहिले माओवादीले लोकतान्त्रिक पद्दतीमा प्रतिपक्षले बिरोध जारी राख्छ । यदि नेपाली कांग्रेस सहमत नभए अहमी दुई तिहाइ बहुमतले थप्छौं, जसरिपनि थपेरै अगाडि बढ्छौं भनिरहेकै छन् । नेपाल नेत्रित्वको सरकारले जबर्जस्ति संविधान सभाको म्याद थप्छौं भन्दा झलनाथ खनाल पक्षले बिरोध गरे झैं अहिले दुई तिहाइले म्याद थप्छौं भन्दा माधव नेपाल र केपी ओली पक्षले बिरोध गरेका छन् ।
दुई वर्ष सकिएर संविधान सभाको म्याद थप एक वर्ष बढाउन खोज्दा माओवादीले सरकार बिघटन हुनुपर्ने जुन माग्यो राख्यो त्यो बेला उनीहरुको तर्क थियो- संविधान सभाको म्याद थप्ने, संविधान बनाउने कुरो सरकारसँग संवन्धित विषयनै होइन । हामीसित सरकार चलाउने स्पष्ठ बहुमत छ । अहिले ‘यो सरकारले संविधान बनाउनै सक्दैन, पहिले सरकार बिघटन गर अनि राष्ट्रिय सरकार बनाउने मेसो भएपछि बल्ल म्याद थपौंला’ भनेर नेपाली कांग्रेसले शर्त राखेको छ । माओवादीले भने पहिले नेपाली कांग्रेस र एमालेले गरेको ब्याख्या दोहोर्याइरहेको छ- सरकार सञ्चालन र संविधान निर्माण, संविधान सभाको म्याद थप्ने विषय नितान्त फरक हुन् । संविधान सभाको म्याद थप्ने कुरोलाई सरकार बिघटनसित तुलना गर्न मिल्दैन ।
कांग्रेसले समर्थन गरेर माधव नेपाल नेत्रित्वको सरकार बन्दा ‘संसदको प्रमुख दल र शान्ति संझौताको मुख्य पात्र माओवादीलाई बाहिर राखेर संभव छैन, यो सरकार बिघटन गरेर राष्ट्रिय सरकार बनाउनुपर्छ’ भन्दै पार्टी अध्यक्ष झलनाथ खनालले जोड दिइरहेका थिए । अहिले ठ्याक्कै उल्टो भएको छ । नेपाली कांग्रेसलाई बाहिर राखेर संविधान बन्दैन, यो सरकार बिघटन गरेर राष्ट्रिय सरकार बनाउनुपर्छ’ भन्दै नेपाल र ओली चर्किरहेका छन्, कांग्रेसलेपनि त्यहि शर्त राखेको छ ।
खनाल र प्रचण्ड अहिलेको सरकारमा दुई तिहाइ पुर्याउन खोज्दै छन् । सायद त्यसो गर्दा कांग्रेस बटारिएपनि लछारपाटो लाउन सक्दैन । संविधानपनि बनाइन्छ, सरकारपनि चलाइन्छ । जेठ १४ पछि यदि राष्ट्रपतीले संविधानको म संरक्षक भन्दै शक्ति हात पार्न खोजे दुई तिहाइले बर्खास्त गर्न सकिन्छ । खनाल र प्रचण्डको दाउ यहि हुनुपर्छ । उता नेपाली कांग्रेसलाइ लागेको होला, एमालेमा खनाल अल्पमतमा पर्दै गएका छन् । उस्तै परे उनलाई पार्टीबाटै बर्खास्त गर्छन् । खनाल नखसि सुखै छैन । अर्कोतिर, राष्ट्रपती हाम्रै छन् । जेठ १४ पछि संवैधानिक संकट उत्पन्न भएकाले संविधानको प्रमुख संरक्षकका नाताले राष्ट्रपतीलाई अगाडि सारेर राष्ट्रपती शासन लगाउन सकिन्छ । उता रक्षामन्त्रीपनि ओली पक्षकै भएकाले सेनाले राष्ट्रपतीकै पक्षमा साथ दिन्छ ।
दुबै पक्ष ‘हाम्लाई के गर्या थियौ बिगतमा ? हाम्ले’नी किन छोड्ने? ‘भन्ने प्रतिशोधी भावनामा देखिन्छन् । यहि हो हाम्रा राजनितिक दलहरुको खेल अहिले । उनीहरुबिचको तुस, बदलाको भावनापनि यहिनै । सहमती, छलफल, समझदारी र देशको राष्ट्रिय हितकालागि दुबै पक्षले केहि छोड्ने, गुमाउने भन्दा एकले अर्कालाई घुर्काउने र लखटेर गलाउने अनि एक्लै अगाडि बढ्ने मनशायमै देखिन्छ दुबै पक्षको ध्याउन्न । दुबै पक्ष बिगतका पेलानलाई पैंचो तिर्ने, सहमती भन्दा प्राविधिक बहुमत देखाएर सरकार चलाउने, संविधान बनाउने दाउमा देखिन्छन् । अब प्रमुख दोष कसलाई दिने ?




