जातिय संगठनको छद्म नाममा फेरी जनतालाई सास्ती

अहिले नेकपा एमाले र माओवादीको संयुक्त सरकार छ । नेपाली कांग्रेस प्रतिपक्षमा छ । यी तिनै मुख्य दल संविधान सभाको निर्वाचन पछि पालै पालो सरकारमा पुगेका छन् । अनि संविधान छिटो बनाउ भन्दै सडकमा आफ्ना जातिय संगठनलाई उतारेर जनतालाई सास्ति दिनुको कारण के हो ? माओवादी, कांग्रेस र एमालेलाइ संविधान बनाउनबाट रोक लगाउने जनता हुन् र संविधान छिटो बनाउ भन्दै सडक बन्द गरेर जनतालाई सास्ति दिने ? सडकबाट बन्ने हो तिनको संविधान र सडकमा नाटक देखाउने ? जनता चढ्ने सवारी साधनले रोकेका हुन् संविधान बनाउन र तिनलाई रोकेर बाटो बाटोमा जनताको हुर्मत लिने ?  तिनका मुख्य तिन पार्टीहरु मिलेर खुरुक्क संविधान बनाउन कसले रोकेको छ ? जुन जुन जातिको राज्य चाहिएको छ त्यो बाँडेर घोषणा गर्न कसले छेकेको छ ?

जनताका अँखामा छारो हाल्न, जगत हसाउँन, आफ्ना कमजोरी लुकाउन यीनले नाटक गरेका छन् संविधान समयमै बनाउनु पर्ने भन्दै आज । यीनका माग सुन्दा कन्सिलीका रौं ठडिन्छन्, टाउको तात्छ, आक्रोस दन्किन्छ । सरकार चलाउने माओवादी र एमाले । अनि ताम्सालिङ राज्य चाहियो । नेवार राज्य चाहियो । संविधान बेलैमा बनाउनुपर्‍यो बन्दै यीनले राँके जुलुस निकाल्छन् । सडक अवरुद्द गर्छन् । सवारी साधन फोर्छन् । सडकमा कुर्लेर संविधान बनाउ छिटो भन्दै नारा लगाउँछन् ।

जातिय राज्यको माग गर्दै तिनले फेरी जनतालाई सास्ति दिएका छन् राजधानी लगायत वरपरका जिल्ला बन्द गरेर । जनताका समस्या हल गर्न कुनै दललाई चासो छैन । तर जनतालाई सास्ति दिन, हैरानी पार्न, थप दुख दिन भने मुख्य दलले छद्म बाटो प्रयोग गरेर बन्द गरे आज । आज ताम्शालीङ संयुक्त संघर्ष समिति र नेवाः राज्य स्वायत्त मंका संघर्ष समितिले आयोजना गरेको ताम्शालीङ् र नेवाः राज्य बन्दले काठमाडौं, ललितपुर र भक्तपुरका साथै रसुवा, नुवाकोट, धादिङ,चितवन, मकवानपुर, सिन्धुली, रामेछाप, दोलखा, काभ्रे र सिन्धुपाल्चोक बन्द भएको छ । बाटोघाटो सवारी साधन रोकिदिनले हजारौं जनता बाटोमै अलपत्र परेका छन् । तर यी जातिय संगठनको पछाडी को छ ? सरकरमै रहेका नेकपा माओवादी, नेकपा एमाले र कांग्रेस लगायतका मुख्य दल । तिनले सिधै आफ्नो पार्टीको नाममा बन्द नगरेर आआफ्ना जातिय संगठनको नाममा यो बन्द गरेका हुन् ।

हग्नेलाई भन्दा देख्नेलाई लाज भने झैं आजको बन्दको एउटा प्रमुख नेत्रित्व गर्ने ताम्शालीङ संयुक्त संघर्ष समिति । तर यसको नेत्रित्व कसले गरेको छ ? कमानसिं लामाले । उनी पूर्व संयुक्त जनमोर्चा नेपालको तर्फबाट सांसद थिए । अहिले ? नेपाल कम्युनिस्ट पार्टी (एमाओवादी) का केन्द्रिय समिति सदस्य छन् । जातिय नामको लेपनमा यीनलाई किन गर्नु परेको बन्द ? के भएछ पार्टीकै नाम अगाडि सार्न ? माओवादीको केन्द्रिय समिति सदस्य रहेर किन चाहियो जातिय संगठनको छद्म बाटो ?

बाहिर बाट हेर्दा मंका खल, ताम्सालिङ राज्य समिति, कुन्नी के तामाङ संघ अनेक छन् । तर यी सबै नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी लगायत दलका भात्री संगठन जस्तै हुन् । ताम्सालिङ राज्य समिति भनेर कमान सिं लामा भ्यागुता झैं जति उफ्रिएपनि उनी माओवादीका सदस्य । माओवादीको निति बेगर नचलि उनलाई सुख छैन । माओवादीको निति बाहिर गएर अलिकति मात्रै बोल्न छुट उनलाई छैन । मागपनि उहि माओवादीले राखेकै छन्, जाति,भाषा र क्षेत्रका आधारमा राज्यको पुनःसंरचना गरिनुपने,संविधान निर्माण र शान्ति प्रक्रिया समयमै पूरा गर्नु पर्ने । गज्जब छ, आफैं शान्ति प्रक्रियाका मुख्य सदस्य । आफैं सरकारमा । फेरी सडकमा नारा कसलाई देखाउन होला ?

राँके जुलुस र बन्दका आव्हानकर्ता यी प्रायजसो जातिय संगठनका नेता मुख्य दलका नेता हुन् । स्वतन्त्र ढंगले यीनले जातिय संगठन हाँक्न पाउँदैनन् । जातिय संगठनको आवरणमा यीनले उहि दलको राजनिति गरेका छन् । जनताका समस्या हल गर्न चुपचाप मुख्य राजनितिक पार्टीहरु जनतालाई सास्ति दिन सडक बन्द गर्न भने खुब तँछाडमँछ उत्रिए । पछाडि परिएला झैं गरेर ति सबैले आआफ्ना पार्टीका जातिय नेता, जातिय संगठनलाइ सडकमा उतारे । यो भन्दा आडम्बर, झूट, जनतामाथि अन्याय, अत्याचार, बदनाम राजनिति, फटाई अरु के हुन सक्छ ?

फोटो- अनलाइन खबर

तपाइँको प्रतिक्रिया