नांगियो नागरिक समाज
जनताले बहिस्कार गरेका एमाले नेता केपी ओली नागरिक समाजका प्रतिनिधी ? नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल नागरिक समाजका अगुवा ? डा रामशरण महत र अर्जुन नरसिं केसीसमेत नागरिक समाजमै सक्रिय ? एमाले युथफोर्स, अखिल र महिलासंघ तथा नेविसंघका कार्यकर्ता सबै नागरिक समाजमा रुपान्तरित कहिलेदेखि भएका हुन् ? आज राजधानीमा निकालिएको शान्ति र्यालीले नागरिक समाजको मुकुण्डो च्यातिएको छ । नागरिक समाजका नाममा छद्म रुपले राजनिति गर्न खोज्नेहरुको नियत जनताका अगाडि बल्ल प्रस्टरुपमा आएको छ । आज जनता शान्तिका पक्षमा छन् भनेर देखाउन कथित नागरिक समाजको नाममा र्याली गरिएको थियो । तर र्यालीमा जनताले चिनेका नागरिक समाजका सदस्यहरुको उपस्थिति न्युन थियो ।
जनताले यस अघि नागरिक समाजका सदस्यहरु भनेर डा देबेन्द्र पाण्डे, श्याम श्रेष्ठ, क्रिष्ण पहाडी, पद्म रत्न तुलाधार, मल्ल के सुन्दर, विष्णु निस्ठुरी, दमननाथ ढुंगाना, खगेन्द्र संग्रौला लगायतकालाई चिन्दै बुझ्दै आएका थिए । यीनमा साँच्चै नागरिक समाजलाई नेत्रित्व दिने क्षमता थियो । शान्ति र सुशासनका पक्षमा दरिलो नेत्रित्व, सुझबुझ थियो । यीनले सरकार र सदनमा शान्ति, सुशासनका लागि पद र जिम्मेवारी लिएर त्यो पूरा नगर्नेलाई दबाब दिन्थे । गाउँ, टोल, वस्ती र सामान्य नागरिकलाइ जगाउने देखि प्रमुख दल र तिनका मुख्य नेतालाई गलाउनेसम्म क्षमता राख्थे । जनताले पत्याएका, जनताको विश्वास र भरोसामा टिकेका थिए ति । ति साँच्चै शान्ति, सुशासन र स्वतन्त्रताकालागि जागेका थिए । तिनको नत सदनमा टेक्ने हाँगो थियो । नत मुख्य पार्टीको नेत्रित्व समातेर बसालेका थिए । नागरिक समाज साँच्चै नगरिकका बिच हुन्थ्यो । सडकमा हुन्थ्यो र न तिनको दम्भ थियो ।
आजको नागरिक समाज ? कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल,कांग्रेसकै नेताहरु डा रामशरण महत र अर्जुन नरसिं केसी, एमाले सचिव शंकर पोखरेल, पत्रकार कनकमणि दिक्षित, एमाले निकट ईन्सेक अध्यक्ष सुवोधराज प्याकुरेल, एमाले युथफोर्स, अखिल र महिलासंघ तथा कांग्रेस निकट नेविसंघका कार्यकर्ता पार्टीको झण्डा बोकेर पाखुरा सुर्काउँदै सहभागि । यस्तोपनि नागरिक समाज ? के यो नागरिक समाजका नाममा बेइज्जत होइन ? के गैह्र सरकारी संस्था चलाएर बिदेशी डलरवादीका अगाडि देखाउन ईन्सेकका अध्यक्ष सुबोध प्याकुरेल उफ्रिँदैमा नागरिक समाज ?
यो नागरिक समाजको उद्देश्य के हो ? देशलाई अझ खाडलमा हाल्ने ? नागरिक समाजको शान्ति र्यालीका नाममा यथास्थितिवादी संविधान बनाउने ? देशका आम समस्यालाई थाँती राखेर मुर्दा शान्ति ल्याउने ? पार्टी कार्यकर्ताको अगुवाईमा शान्ति र्याली गर्ने यो कस्तो नागरिक समाज ? देशको दशौं वर्ष शासन सत्तामा बसेर जनता मार्ने कानुन बनाउनेले भाषण ठोक्न पाउने कस्तो खालको र्याली यो नागरिक समाजको ? जसका हात नेपाली जनताका रगतले रंगिएका छन् उसैले नागरिक समाजका नाममा शान्तिको भाषण ठोक्ने, शान्ति र्यालीको नेत्रित्व गर्ने यो कस्तो नागरिक समाज ? जो वर्षौं वर्ष पटक पटक सरकारमा गएर नेपाली जनताको पसिना लुटेर खायो, भ्रष्टाचार गर्यो, उहि शान्ति र सुशासनका नाममा र्याली गर्ने यो कस्तो नागरिक समाज ?
कि जनताले पार्टीका रुपमा पत्यान छोडेकाले केपी ओली र माधव नेपाललाई चाहिएको हो नागरिक समाज ? जनताका आँगनमा गुलिया आश्वासन बाँडेर भोट माग्दै हिँडेका राजनितिक कार्यकर्तालाई नाक देखाउन नसक्ने भएपछि चाहिएको हो नागरिक समाज ? कि शान्ति, सुशासन र संविधान नबन्ने भएपछि त्यसको अपजस बिसाउने थाप्लो खोज्दै चाहिएको हो नागरिक समाज राजनितिक नेताहरुलाई ? नत्र नागरिक समाजको शान्ति र्यालीमा राजनितिक दलका गन्हाएका नेताहरुको किन बोलवाला ?
साँच्चै नागरिक समाजको शान्तिका लागि निश्पक्ष र्याली, कार्यक्रम हुन्थ्यो भने नागरिक समाज भनेर पत्याइएका ब्यक्तित्वहरु खोइ ? के जनता यति धेरै लाटा छन् नागरिक समाजको रुपमा तिनै गन्हाएका नेतालाई पत्याउने ? नागरिक समाजको रंग र लेपनमा एकाध कलाकारलाई सहभागि गराउँदैमा जनता झुक्किन्छन् ? बरु जनताले सोध्ने छन्- बोल, तिमीहरुको उद्देश्य के हो ? नागरिक समाजको नाममा राजनिति गर्ने ? नागरिक समाजका नाममा गन्हाएका नेतालाई चोख्याउने ? वर्षौं देश लुटेकालाई नागरिक समाजका रुपमा उभ्याएर नागरिक समाजकै बेईज्जति गर्ने ?
तस्विर- अनलाइन खबर




