प्रचण्ड टालटुले संविधानका पक्षमा / बैध पक्षले नछोड्ने
अघिल्लो दिन भनेझैं अस्ति फेरी माओवादी नेतासित गफगाफ भयो । एक घण्टानै । यिनै हुन् नेता भनेर खुलाउन नपाइने । प्रवक्ता मार्फत जानुपर्छ भनिहाल्छन् । प्रवक्ताले आन्तरिक कुरो बताउँदैनन् । जे होस् अस्ति टन्न गफ गरियो । जान्न पाउँदा मजा भएपनि समग्रमा चिन्ता लाग्यो देशको अवस्था सम्झेर । माओवादी अवस्था त झन भित्र भित्रै निकै गम्भिर रहेछ । र म स्पष्ठपनि पारीहालौं कि यसमा नेपालप्लसको कुनै धारणा, बुझाइ र तर्क बितर्क छैन । जस्तो गफगाफबाट प्राप्त भयो त्यस्तै राख्ने प्रयास गरिएको मात्रै हो ।
उनले भन्न त आफू कुनैपनि पक्षमा नलागेको बताए । तर देश र जनता अनि जनयुद्दका मूल मर्महरुलाई धोका दिएर संविधान बने फेरीपनि हतियार उठाउन पछि नपर्ने बताएर बैद्द निकट रहेको छनक शुरुमै दिए । कुराकानीका क्रममा उनी हार्ड लाइनर हुन् भन्ने बुझ्न झनै कठिन भएन । म उनीसित आफूले पाएका जानकारीलाई विभिन्न शिर्षकमा राख्छु है त ?
टालटुले संविधानका पक्षमा प्रचण्ड
प्रचण्डको पारा र फुइँ देखेर चाहिँ अचम्म लाग्यो । उनी बाहिर बाहिर प्रतिक्रियावादीहरुले संविधान बनाउन नदिने षडयन्त्र गर्दै छन्, त्यसको बिरुद्द जनबिद्रोह गरिन्छ त भन्छन् । अनि धेरैले सोचेका छन्, प्रचण्ड फेरी जनबिद्रोह गर्ने योजनामा छन् । तर होइन रहेछ, उनी बरु टालटुले संविधानका पक्षमा रहेछन् । खासमा त प्रचण्ड नेपाली कांग्रेससित मिलेरै, सहमती गरेरै संविधान बनाउने पक्षमा रहेछन् । नेपाली कांग्रेससित मिल्ने, केहि क्रान्तिकारी शब्द राख्ने, प्रगतिशिल देखिने खालको संविधान लेखेर जाने । त्यस्तो संविधान जुन भारतीय प्रभाव र चाख भन्दा बढि आशा गर्न सकिन्न । यो संविधानले नत जनजाती, न सिमान्त वर्ग, नत पिछडिएका समूदाय, न महिला र दलित, कसैको मुक्ति हुन्न।
मूलत नेपाली कांग्रेस अग्रगामी संविधान बनाउन चाहन्न । नेपाली कांग्रेसलाई साथ नलिए संविधान बनाउन सकिन्न । जनविद्रोह आँटेपनि सफल पार्न सकिन्न । उनको उद्देश्य यता बैद्द पक्षसित होइन जन बिद्रोहमा जाने हो भन्ने । तर भित्रि मनशाय भने जनबिद्रोहमा नजाने । संगठन र क्रान्तिकारी धारलाइ भुत्ते पार्ने । भुरेटाकुरे वामपन्थिदलसित अझै एकता गर्ने र आफ्नो पक्ष बलियो बनाउने । समग्रमा जनयुद्दका उपलब्धिहरु त्यागेरै भएपनि अब लत्तु छोडेर टालटुले संविधान बनाएर निर्वाचनमा जाने । संविधान सभाको म्याद थपिन्न भनेर जतिसुकै चिच्याएपनि दलहरु फेरी थप्ने मनशायाम रहेछन् । अब म्याद थपेर कार्तिक मंसिरतिर संविधान घोषणा गर्ने मनशाय प्रचण्डको रहेछ ।
बैद्दको प्रचण्डलाई जवाफ “टालटुले संविधान बनाउने भए सँगै बसिन्न”
जनबिद्रोह गर्ने भन्ने तर तयारी नगर्ने । यता पालुङटार बैठकमा अग्रगामी संविधान बनाउने कसरत गर्ने र त्यसमा षडयन्त्र भए जनबिद्रोह गर्ने भन्ने दस्ताबेज पारित गर्ने बैद्दसित मिलेर । तर भित्रै भित्रै नेपाली कांग्रेसको स्वार्थ अनुकूलको टालटुले संविधान बनाउने मनशायमा प्रचण्ड देखिएपछि बैद्द र प्रचण्डको गम्भिर वार्ता भएको रहेछ । जनबिद्रोहको तयारी गर्नकालागि भनेर गठन गरिएको जन स्वयम्सेवक अभियानको नेत्रित्व नेत्रबिक्रम चन्दले गर्दा किन आपत्ती भनेर गरमागरम बहस भएछ । बैद्दले जनबिद्रोह गर्ने भन्ने तर भित्रि मनशाय नगर्ने हो तपाइहरुको भनेर हाकै जवाफ दिएछन् । उनले त्यस छलफलमा सिधा जवाफ दिएछन् – महान जनयुद्दलाई धोका दिने ? यत्रा मानिसको बलिदानलाई त्यागेर संविधानका नाममा खोस्टो बाँड्ने ? देश र जनतामाथि धोका दिने ? यदि कांग्रेससितं मिलेर टालटुले संविधान बनाउनतिर लाग्नुहुन्छ र जनविद्रोहकालागि तयार हुनुहुन्न भने हामी सँगै बस्दैनौं । तपाइहरु त्यता लाग्नुस्, हामी जनबिद्रोहको नेत्रित्व गर्छौं ।
जनबिद्रोहकालागि अहिले देखिनै तयारी
अब अग्रगामी संविधान नबन्ने निश्चितप्राय: देखेकाले बैद्द समूहका नेताले प्रशिक्षणलाई तिब्र पार्दैछन् । उनीहरु सकभर सरकारमा पेलेर जाने । जनताका अगाडि प्रचण्ड पक्षका कमजोरी वा क्रान्तिलाई धोका हुने कामहरु स्पष्ठ राख्दै जाने । संविधान बन्दैन भन्ने स्पष्ठ बताएर जनबिद्रोहकालागि तयार पार्ने । युवाहरुलाई सकेसम्म धेरै संगठित गर्ने । गाउँ गाउँमा जनपरिचालन गर्ने । सरकार र सडकबाट सकेसम्म हस्तक्षेप गरेर जाने । अग्रगामी संविधान नबन्ने भएकाले सरकारमा भएका नेताले जनबिद्रोहकालागि वातवरण बन्ने भूमिका खेल्ने । बाहिर भएका नेता गाउँगाउँ खटिने, जनतालाई संगठित गर्ने, कार्यकर्ता प्रशिक्षित गर्ने । प्रचण्ड टालटुले संविधानका पक्षमा लागे र स्थिति प्रतिकूल भयो भने भूमिगत भएरै जानसमेत तयार रहने । अलग धारको नेत्रित्व गरेरै भएपनि जनबिद्रोह शुरु गर्ने।
जनबिद्रोहकालागि जन स्वयमसेवक अभियान
प्रचण्डको त्यहि पारा र मनशाय देखेरनै बैद्द समूह अब यीनबाट देशमा क्रान्ति हुन्न । जनयुद्दका उपलब्धिहरु गुम्छन् । १० हजार योद्दाले जेकालागि ज्यान दिएका थिए त्यो सित्तिमा फाल्ने मनशायमा छ्न् प्रचण्ड भन्ने मूल्यांकन गरेर देशभरिका युवाहरुलाई संगठित गर्ने, तालिम दिने र फेरी जनबिद्रोहकालागि तयार पार्न जनस्वयंसेवक अभियानका नाममा युवा दस्ता तयार पारेका रहेछन् । त्यसको नेत्रित्व लिए पार्टी पोलिटब्युरो सदस्य नेत्रबिक्रम चन्दले । त्यहि मनशाय बुझेरै प्रचण्ड पक्ष मानिने वाइसियल प्रमुख सागर पुनले त्यसको चर्को बिरोध गरेका रहेछन् । जतिसुकै बिरोध गरेपनि बैद्द समूह त्यो अभियानबाट पछाडि हट्ने होइन बरु जुनैसुकै परिस्थिति भोगेरपनि अगाडि बढ्ने मनशायमा रहेछ ।
जनसेना के होला ? जनबिद्रोह गरे कसरि टिक्ला ? कार्यकर्ता को कता लाग्लान् ? बाबुराम भट्टराईलाई कसरि हेरेका छन् ? यसैमा लेखौं भने धेरै लामो हुने भयो । अर्को ब्लगमा है त ?




