राष्ट्रपति भवनमा ‘अपराधी’को रमिता
अर्थसचिव रामेश्वर खनालको बहिर्गमनस“गै विवादमा मुछिएका उपप्रधान एवं अर्थमन्त्री भरतमोहन अधिकारीको गतिविधि मन्त्री बनेकै दिनदेखि शंकास्पद देखिन थालिसकेको रहेछ । जेल हाल्नुपर्ने आर्थिक अपराधीलाई राष्ट्रपति निवास शीतल निवासमा प्रवेश गराउनेदेखि लिएर मिनीस्कर्ट लगाएका छोरीहरुलाई मन्त्रालयमा पसेर फाइल पल्टाउने सुविधासमेत प्रदान गर्दै आएका अधिकारीले राज्यको ढुकुटीबाट भारी रकम खर्च गरेर आगामी २९ चैतमा आफ्नी श्रीमती र निजी कामदारलाई अमेरिका घुमाउने चाँजो मिलाएका छन् ।
मन्त्री अधिकारीले गत माघ २७ मा राष्ट्रपति भवन शीतलनिवासमा शपथग्रहण गरेका हुन् । शपथमा को–को विशिष्ट अतिथि सहभागी हुने भन्ने नियमानुसार सूची तयार भइसकेपछि भरतमोहनले राष्ट्रपति कार्यालयमा केही मान्छेको नाम टिपाए । त्यसरी थप्न लगाइएका मान्छेको सूचीमा उनकी छोरी र श्रीमती मात्रै भइदिए पनि हुन्थ्यो, तर अधिकारीले तिनका अतिरिक्त भ्याट ठगी प्रकरणमा मुछिएका विशाल ग्रुपका अशोक अग्रवाललाई ज्वाइँलाई जस्तै सम्मानका साथ प्रवेश गराए । ‘भ्याट बिल छली गम्भीर अपराध हो र त्यस्तालाई म कडा कारबाही गर्छु’ भनिरहेका उनले आफ्नो शपथग्रहणकै वेला ‘अपराधी’ लाई विशेष निम्तो गरेर किन राष्ट्रपतिभवनभित्र लगे होलान् ? यसैबाट अर्थमन्त्रीको नियत प्रस्ट हुन्छ ।
विशाल ग्रुपका अशोक अग्रवालको विराटनगरमा कमला रोलिङ मिल नामक स्टिल फ्याक्ट्री छ । विशाल ग्रुपमा त्रिलोक अग्रवाल, अनुज अग्रवाल र अशोक अग्रवाल गरी तीन भाइ छन् । अर्थमन्त्रीले राष्ट्रपतिभवनमा लगेका अशोक माइला भाइ हुन् । उनीहरू नेपालमा नोकिया मोबाइल कम्पनीको डिलरसमेत हुन् । यस ग्रुपको ‘युनाइटेड डिस्ट्रिब्युटर’ कम्पनी १० करोड रुपैयाँ बराबरको नक्कली भ्याट बिल प्रकरणमा फसेको छ । तत्कालीन अर्थमन्त्री सुरेन्द्र पाण्डेले भ्याट छल्नेमाथि कारबाही गर्न थालेको अभियान ४ महिना भइसक्दा एमालेकै अर्का मन्त्री अर्थमन्त्री बन्दा यसरी अपराधीलाई राष्ट्रपति भवनसम्मको पहुँच सहज भएको छ ।
अग्रवालको प्रोक्टर एन्ड ग्याम्बल नाम गरेको ब्रिटिस कस्मेटिक सामानको कारोबारपनि रहेको छ । उनले नेपालको नाममा सामान ल्याएर भारतमा बेच्नेगरी भारतमै कपडाको स्टकसमेत राखेका छन् । सरकारलाई पैसा तिर्न बाँकी युटिएल कम्पनीमा पनि यिनको २५ प्रतिशत सेयरमध्ये अझै केही बाँकी छ । केही सेयर यिनले श्रवण अग्रवाल (राजेश मेटल) लाई बेचेका छन् । नक्कली भ्याट बिलमा संलग्न अग्रवालको बैंक अफ एसिया, एनआइसी बैंकमा पनि लगानी छ । यिनले भक्स वागन नामक जर्मन गाडीको एजेन्सी पनि पाएका छन् ।
अशोक अग्रवालले यसवीच ५ करोडको सौदावाजीमा भ्याटको लफडा सल्टाइसकेका थिए, तर बीचैमा होहल्ला भएपछि उनलाई अहिले गाह्रो परेको छ । लाजिम्पाटको र्याडिसन होटलपछाडि बस्ने अशोकले नोकियाको मात्रै वार्षिक डेढ करोड रुपैयाँबराबरको सामान आयात गर्ने गर्छन् । साथै रेडलेबल, ब्ल्याक लेबलजस्ता पेय पदार्थको नेपालका निम्ति आधिकारिक बिक्रेता पनि उनै हुन् ।
माओवादी अध्यक्ष प्रचण्डले दोस्रो मर्यादाक्रमसमेत आफ्नो पार्टीले नपाउने गरी भरतमोहनलाई क्याबिनेटमा छिराउन किन मरिहत्ते गरे होलान् ? विश्लेषकका अनुसार, यसका पछाडि डा. बाबुराम भट्टराईको बाटो छेक्ने सोचले काम गरेको हुन सक्छ । अर्कातिर एमाले स्थायी कमिटीमा झलनाथ र माधव–ओलीतिर ५/५ जना सदस्य भएकामा ढुलमुले स्वभावका भरतमोहनलाई मन्त्री बनाएपछि झलनाथको बहुमत पुग्ने र यसो गर्दा आफूलाई सजिलो हुने प्रचण्डको ठहरले पनि काम गरेको बताइन्छ ।
माओवादी अध्यक्ष प्रचण्डले भरतमोहनको नाममा समर्थन जनाउने वेला शाही सरकारमा रहँदा उनले माओवादीविरुद्ध सेनासित मिलेर के–कस्तो हरकत गरेका थिए भन्ने कुराको ख्यालै गरेनन् । ०६१ मा प्रतिगमन आधा सच्चियो भन्दै देउवा सरकारमा उपप्रधानमन्त्री र अर्थमन्त्री बनेका अधिकारीले दरबार र सेनालाई सहयोग पुग्नेगरी ३ चोटिसम्म अध्यादेशमार्फत बजेट ल्याएका थिए । ‘त्यसवेला एउटै आर्थिक वर्षमा दुई–तीनपटक बजेट आयो,’ तत्कालीन अर्थ सचिव भानु आचार्य भन्छन् । स्रोतका अनुसार, त्यसवेला भरतमोहनले अध्यादेशबाट १ अर्ब ७९ करोडको बजेट देखाएर भित्रीरूपमा ३ अर्ब २० करोडको बजेट बनाई बाँकी रकम सेनालाई माओवादीविरुद्ध लडाइँमा प्रयोग गर्न दिएका थिए ।
दोहोरो भूमिका खेल्न माहिर अधिकारीलाई त्यसवेला नेपाली सेना र दरबारले प्रधानमन्त्री बन्ने आश्वासन बाँडेकाले उनले त्यसरी लुकाएर अर्बौं रुपैयाँ माओवादीविरोधी अभियानमा गुप्त रूपमा सेनालाई दिएको स्रोतको दाबी छ । स्रोत भन्छ, ‘देउवालाई दरबार र सेनाको आशीर्वादमा टिकिरहने लोभ थियो, यता अधिकारी सेना र दरबारलाई खुसी पारेर प्रधानमन्त्री बन्ने दाउमा थिए ।’ देउवा र अधिकारीले त्यहीवेला ज्ञानेन्द्र शाहकी काकी हेलेन शाहलाई उपचार खर्चबापत १ करोड २० लाख रुपैयाँ प्रदान गरेका थिए । एकातिर देशमा लोकतन्त्रका लागि आन्दोलन भइरहेको थियो, अर्कातिर एमाले नेता अधिकारी ज्ञानेन्द्रकी काकीलाई राज्यकोषबाट करोडौँ रुपैयाँ निकासा दिइरहेका थिए । यसलाई दुर्भाग्य नै मान्नुपर्ने हुन्छ, तिनै व्यक्ति अहिले गणतान्त्रिक नेपालको अर्थमन्त्री बनेर काला व्यापारीलाई संरक्षण गरिरहेका छन् र राज्यकोष खर्च गरेर श्रीमतीलाई अमेरिका डुलाउने मनसुवामा छन् ।
प्राप्त जानकारीअनुसार, अप्रिल १२ बाट अर्थमन्त्री अधिकारी पत्नी लिएर अमेरिका जान लागेका हुन् । अर्थमन्त्रीले श्रीमती लिएर अमेरिका भ्रमण गरेको यो नै पहिलो नजिर हुनेछ । यति मात्रै होइन, अधिकारीले सरकारी कर्मचारीको कोटामा ढाँटेर आफ्नो घरका पिए गणेश सुवेदीलाई पनि अमेरिका लाने टिप्पणीमा सही गरेका छन् । सुवेदी नक्कली भ्याटकाण्डमा विवादमा परेका व्यापारी विनोद चौधरीका पूर्व स्टाफ हुन् । आफैँ पनि चौधरीका आर्थिक सल्लाहकार मानिँदै आएका मन्त्री अधिकारीले सुवेदीलाई ‘सरकारी कर्मचारी’ भनी झुक्याएर भ्रमण दलमा नाम चढाएका हुन् ।
मन्त्रालयमा छोरीको थर्पु
भरतमोहन अधिकारीका तीनमध्ये दुई छोरीको दिनचर्या पिता अर्थमन्त्री बनेपछि एकाएक फेरिएको छ । उनीहरू दिनहुँ मन्त्रालय आउने गर्छन्, मानौँ उनीहरू पनि मन्त्रालयकै कर्मचारी हुन् । एउटी छोरीचाहिँ साडी लगाएर मर्यादित रूपमै मन्त्रालयमा बस्ने गरे पनि अर्की छोरी सम्भवतः कन्डोलिजा राइसजस्तै देखिनलाई मिनीस्कर्ट लगाएर आउने गरेको र उपरखुट्टी लगाएर दिनभरि विनाकाम बस्ने गरेको मन्त्रालयका कर्मचारी बताउँछन् ।
-आजको जनआस्था साप्ताहिकबाट




