भ्रष्ट ब्यापारी, नालायक प्रधानमन्त्री र एमाले कार्यकर्ता

देशको सबैभन्दा महत्वपूर्ण मन्त्रालय हुन्- रक्षा, अर्थ र ग्रिह । रक्षा मन्त्रालय बलियो नभए राष्ट्रिय अखण्डता संकटमा पर्छ । देशमा जुनसुकै शिर्षकमा बजेट बिनियोजन अर्थले गर्छ । जनताको जिउ धनको सुरक्षा ग्रिहले । तर यतिखेर देशमा ग्रिह मन्त्री छैन । देशलाई आर्थिक रुपमा सबल बनाउने प्रमुख जिम्मा हो अर्थमन्त्रीको । अर्थमन्त्री गतिलो भएन भने कालो बजारीले टाउको उठाउँछ । ब्यापारीहरुले ठग्छन् । सारा आर्थिक बेथिति जन्मिन्छ । तर हाम्रो देशको दूर्भाग्य, देशालाइ आर्थिक रुपमा टाट पल्टाउन कम्मर कसेर लाग्ने नै हामीले अर्थमन्त्री पाएका छौं । अर्थमन्त्री महा भ्रष्टाचारी छन् । 

सबैलाई एउटै टोकरीमा हाल्न नमिल्ला, तर हाम्रो देशका अधिकांश उद्दोगपती भ्रष्टाचारी छन् । ब्यापारीहरु भ्रष्ट छन् । देशबाट लिने, धुत्ने तर केहि नदिने मनशाय छ । देश ठ्ग्नु, कर्मचारी मार्नु, समाजलाई निचोर्नु तिनको काम हो । सरकारबाट सेवा र सुविधा लिन्छन् । दङ्ग्याउँछन् यो र त्यो भएन भनेर । तर कर तिर्ने बेला छल्छन् । ढाँट्छन् । नक्कली बिल बनाएर छली काम गर्छन् । सारा जगत चरो मुसो र किरो सम्मलाई यसको जानकारी भएको हो । यसलाई नियन्त्रण र निगरानी गर्न सक्ने हो भने राष्ट्रिय ढुकुटीमा अरबौं उठ्ने सम्भावना थियो ।

यसका बारेमा पनि जगतलाई ज्ञात थियो । देशको प्रशासनले देखेको तथ्य थियो । राष्ट्र लुट्ने, देशलाई आर्थिक रुपमा भड्खालातिर धकेल्ने, आर्थिक अपराध गर्ने काला ब्यापारीहरुलाई थोरै भएपनि नियन्त्रण गरेर आर्थिक रुपमा एउटा थितिको शासन बसाउन कोसिस गरेका थिए अर्थ सचिव रामेश्वर खनालले । त्यसमा अर्थमन्त्रीले साथ मात्रै दिएको भए साँच्चै एउटा थिति बस्थ्यो । आर्थिक अनियमितता रोक्ने संभावना थियो । आर्थिक रुपमा घुँडा टेक्दै गरेको हाम्रो अर्थतन्त्रलाई माथि उकास्न सकिन्थ्यो । गलत काम गर्ने निरुत्साहित हुन्थे । तर एमाले नामको पेन्डुलम पार्टीका हरुवा, भ्रस्टाचारी भरतमोहन अधिकारी न परे । उनलाई देशको माया छैन । हाम्रो आर्थिक अवस्था सुधार्नु छैन । देश खाडलमा जाओस् कि नजाओस् मतलब छैन । एउटा भ्रष्ट, दिशाहिन, नीतिहिन, देश र समाजको माया नभएको भ्रष्टाचारीले के गर्छ ? के  आशा गर्न सकिन्छ ? देश लुट्छ । समाजलाई ठग्छ । उस्तै परे देशनै बेचेर नीजि सम्पत्ती जोड्छ । उनले करोडौं कुम्ल्याएर कर छल्नेहरुलाई रातो कार्पेट ओछ्याउने काम गरे । त्यसमा तगारो बन्ने सचिवलाई घोक्रेठ्याक लगाए । 

त्यसमा के यि नालायक, जनताबाट तिरस्क्रित, भ्रष्ट अधिकारीमात्रै जिम्मेवार छन् । प्रधानमन्त्री झलनाथ खनालको जिम्मेवारी र दायित्व छ कि छैन ? अर्थ मन्त्रालयमा भएको त्यत्रो निर्णय प्रधानमन्त्रीको जानकारी बेगर अर्थमन्त्री एक्लैले गरे होलान् ? यदि त्यसो गरेका थिए भने प्रधानमन्त्री किन चुप्प ? के प्रधानमन्त्रीले यसको जवाफ दिनु पर्दैन? प्रधानमन्त्रीलाई गुमराहमा पारेर, गलत सूचना दिएर अर्थमन्त्री एक्लैले गरेका हुन् भने के प्रधानमन्त्रीले जनतासित माफी मागेर भ्रष्ट अर्थमन्त्रीलाई तुरुन्तै गल्हत्याउनु पर्दैन ? किन चुप्प छन् प्रधानमन्त्री ? किन दुधको साक्षी बिरालो बनिरहेका छन् ? आर्थिक पारदर्शिता र मुलुक बनाउने चर्को भाषण ठोकेका प्रधानमन्त्रीस्वयं संलग्न त छैनन् ?

नैतिकता हुन्थ्यो भने त यी भरतमोहन आफैं सत्तामा जाँदैनथे । उनी सर्वत्र हारेका हरुवा हुन् । संविधान सभाको निर्वाचनमा उनलाई जनताले हराए । अयोग्य ठाने । उता आफ्नै पार्टीको निर्वाचनमा उपाध्यक्षमा उठेका यी त्यहाँपनि हारे । अनि चाकरी, चाप्लुसी र आर्थिक अपराधी र काला बजारियाको मिलोमतो, कालो धनको बलमा उनी बन सफल भए अर्थमन्त्री बन्न ।

पार्टी खराब भए, नेता बदमास भए, गलत काम गरे भने तिनलाई सुधार्ने, सजायँ दिने काम कसको हो ? कार्यकर्ताको होइन ? देशलाई आर्थिक रुपमा टाट पल्टाउने यत्रो अपराध गर्दापनि एमाले नामको ‘स्वच्छ पार्टीका जुधारु कार्यकर्ता’ कता गएका ? झलनाथ खनाललाई एक थप्पड हान्ने रेग्मीको ज्यान नै जखम हुनुपर्छ झैं गरेर लाठि मुंग्री गर्ने, रातारात नारा जुलुस गर्ने, यातायात बन्द गर्ने एमाले कार्यकर्ता हो बोल कहाँ छौ तिमीहरु ?

के तिमिहरुको काम नेताको चाकरी गर्ने मात्रै हो ? तिमीहरुको काम चम्चागिरि गर्ने, भ्रष्ट नेतालाई काँधमा बोक्ने र नेताको भरिया बन्ने मात्रै हो ? के एमाले नामको पार्टीका कार्यकर्ताको आफ्नो बुद्दी, आफ्नो बिबेक, आफ्नै सुझबुझ छैन ? आफ्ना नेताले देशै डुबाउन लागिसक्दा पनि चुँ सम्म नबोल्ने कि तिमीहरु निर्वाचनमा भोट जम्मा गरिदिने भरिया बाहेक केहि होइनौ ? पार्टीमा यस्ता भ्रष्टालाई नराख भनेर भन्न नसक्ने एमाले कार्यकर्ता हो भन, तिमीहरु सारा लास बनिसकेका हौ ?

तपाइँको प्रतिक्रिया