कायमै छ एमालेमा पनि छुवाछूत र विभेद

● सरोजदिलु विश्वकर्मा

नेकपा (एमाले) भूमिगत कालदेखिनै छुवाछूत तथा सामाजिक विभेदको विरोधी, वर्गीय मुक्तिमा विश्वास राख्ने गौरवशाली ऐतिहासिक पार्टी हो । हाम्रा नेताहरुले भूमिगतकालमा दलितकै घरलाई लुक्ने थलो बनाए, दलितकै घरमा खाए र चुठे । परिणामतः २०४७ सालपछिको खुला राजनीतिमा अधिकांश दलितहरु एमालेमा समाहित भए । केही बुर्जुवा, लोपीपापी, चाकडीवाज, जो दलितभित्र पनि एउटा वर्ग खडा गरेर अवसर हडप्छन्, तिनीहरु कांग्रेस वा मण्डले समुहमा रहे भन्ने हाम्रो ठम्याई थियो ।

पाचौं महाधिवेशनमा जनताको वहुदलीय जनवाद पार्टीको सिद्धान्तको रुपमा पारित भयो । त्यसले छुवाछूत र सामाजिक सांस्कृतिक विभेदको निषेध गर्नेगरी सम्वोधन गर्यो । पार्टीका कार्यक्रममा पनि तत्कालिन महासचिव माधव नेपालले छुवाछूत गर्नेलाई अन द स्पट कार्वाही गर्ने मौखिक सर्कुलर नै जारी गर्नुभयो । परिणामतः २०५४ सालको स्थानीय चुनावमा एमालेले प्रचण्ड वहुमत ल्यायो भने पार्टी नफुट्थ्यो भने २०५६ सालको चुनावमा दुइतिहाई ल्याउनसक्थ्यो ।

तर लिखित दस्तावेजमा छुवाछूत र सामाजिक विभेदविरुद्ध हस्ताक्षर गर्ने, दलितको पक्षमा उफ्रिउफ्रि भाषण गर्ने हाम्रा नेताहरु नै ब्यावहारमा छुवाछूत र विभेद गर्न हिच्काएनन् । सिन्धुपाल्चोकमा एक ठूलै नेताले अगुवा कार्यकर्ता हस्त विश्वकर्मालाई बाहिर बसेर खान अह्राए । लगतै ठुलो हिस्सा दलितले एमाले छोड्यो । सिराहामा एमालेका दानालाल चौधरीहरुले चमार बस्तीमा सीनो नउठाएको भन्दै नकावन्दी लगाए । सुढेनी बोलाउने निहुँमा चमारका छोरी–बुहारीलाई शाही चौधरीका लठैतहरुले एकान्त पारी सामुहिक बलात्कार नै गरे । परिणामतः चमार आन्दोलन मच्चिएर एकपल्ट देश नै उथलपुथल बनायो । सोही घट्नाबाट आजका बिसेन्द्र पासवान, जनतान्त्रिक तराई मुक्ति मोर्चा ज्वालासिंहका नागेन्द्र पासवानलगायत धेरै एमाले दलित कार्यकर्ताले पार्टीमा विद्रोह गरी हिंसाको राजनीति शुरु गर्न वाध्य बने ।

पश्चिमतिर दलितमाथि एमाले भित्रैका कार्यकर्ताले मन्दिर प्रवेशमा रोक लगाउने, डोली नबोकेकोमा कुट्ने, पिट्ने र पानी भर्न नदिने जस्ता श्रृंखावद्ध विभेद गर्न थाले । पर्वत, स्याङझा र पाल्पामा अन्तरजातीय विवाह गर्नेलाई एमाले नेताहरुले जवर्जस्त छुटाए भने नवलपासीमा अघिल्लो वर्ष मात्रै क्षेत्रीकी छोरी विहे गरेको निहुँमा अखिलका दलित युवालाई जिल्लास्तरका नेताहरुले पार्टीबाट निकाल्ने सिफारिस गरे भने ती दलित विद्यार्थी नेतालाई भौतिक आक्रमणको प्रयाश पनि भयो । सिराहाका नेताले दलित केटी विवाह गर्दा उदयपुरका तत्कालिन पार्टी सचिवले नै जात फाल्नेलाई पार्टीमा फर्काउन नहुने भनेर अञ्चलमा सिफारिस गरे । गतसाल मात्रै यस्तै घट्ना पोखराको लामाचौरमा घट्यो र एमाले नेता खगराज अधिकारीहरुले यस जघन्य घट्नालाई मिलापत्रमै टुंग्याइदिए ।

माधव सरकारको अवधिमा २ महिला र एक ११ वर्षीय वालिकासहित ५ जना दलितको राज्यपक्षले नृशंष तरिकाले हत्या गर्यो । तर पार्टीकी उपाध्यक्ष विद्या भण्डारी र सचिव शंकर पोखरेलले ती निहत्था दलितलाई आतंककारीको विल्ला लगाईदिए । उखान टुक्काले एकोहोरो झटारो हान्ने केपी वली यी महिलाको वलात्कार र हत्याको वारेमा ‘चु’सम्म बोलेनन् । रामहरी श्रेष्ठ र प्रचण्ड थैवको हत्या–प्रकरण राष्ट्रब्यापी विरोधको विषय बनिरहँदा यी एमालेकै महिलाहरुको वलात्कार र हत्याको घट्ना बाँसपानीमै किन हरायो ? प्रहरी हिरासतमै २ जना दलित मारिए, त्यो पनि मुद्दा बनेन । किनकी तिनीहरु दलित थिए ।

नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल कुनैवेला दलितका पक्षपाती थिए । तर उनी प्रधानमन्त्री बनेयता भाइदेखि भान्जासम्म, पहरेपंखेदेखि ज्वाँईसम्मका करिव १६० जनाले राजनीतिक नियुक्ती पाए, १७३ जनाले प्रहरी सेवामा प्रवेश पाएका छन्, तर तीमध्ये कुनै दलित छैनन् । दलित आयोग, विकास समिति र दुई दलित मन्त्रीलाई छोडेर हेर्ने हो भने कुनैपनि मन्त्रीले कुनैपनि निकायमा दलितलाई कुनै स्थानमा मनोनयन गरेनन् । यद्यपि, सुरेन्द्र पाण्डेले लिखितमै भएपनि दलितका लागि केही नविनतम् कार्यक्रम दिए । पार्टीका नेताहरु, दलितले कुनै फोरम दियो भने चर्किएर दलित पक्षमा भाषण गर्ने तर ब्यवहारमा पुछर लर्काएर भाग्ने संस्कारमै गुज्रिएका छन् । दलित सवालमा अनौपचारिक छलफल हुँदा तल्लास्तदेखि उपल्लास्तरसम्मका कमरेड्हरुले त्यसलाई हसीमजाकमा लिँदै ‘यो एन्जीओवादीको चलखेल हो, परिवर्तन त विस्तारो हुने हो’ भन्दै उम्किछन् । वर्गीय कुरा गर्ने, मुक्तिका श्लोक फलाक्ने अनि ‘विस्तारै हुन्छ’ भन्ने ! विस्तारै त मण्डले, कांग्रेस, राजावादीमा पनि भएकै छ, हुदैंछ । तव दलितलाई किन नेकपा एमाले नै चाहियो ? आफूहरु थोरवहुत एन्जीओको खुराक नखाई नबाच्ने, दलित उपेक्षित, उत्पीडितको उत्थान र समावेशीकरणको धन्दा गर्दै स्वास्नी, छोरी–ज्वाई, भाई–भतिजाको नाममा एन्जीओ चलाउने अनि वल्खु कार्यालय वरपर छिरेपछि तिनैलाई एन्जीअ‍ो गन्हाउने ? गजव छन्– हाम्रा कमरेडहरु ।

हाम्रा एमाले नेताहरुमा वर्गीय मुक्तिको कुरा गलगण्डमै भुण्डिएको छ, विभेदविहिन समाज देख्ने चश्मा सदावहार लगाएकै छन् । तर विहेवारी गर्दा आफ्नै कुलखान्दान, भरसक नेपाललाई ढग्नुसम्म ठगेर युरोप र अमेरिकातिर पुगेको पैसावाला, दालचामलमा ढुंगो मिसाएर कुस्त कमाएको दलाल र पुजींमा एकाधिकार कायम राखेको वर्गलाई नै खोज्छन् । धर्म निरपेक्ष भौतिकवादी विशिष्ठ नेताहरुले अतिहिन्दुवादी संस्कार अनुसार नै कर्मकाण्डी गर्दैछन् । संगठनभित्रको सांस्कृतिक अतर्घुलन त परै जाओस, दलितले गैरदलितसंग प्रेम–प्रस्ताव राख्न पनि सहज छैन । यसर्थमा उनीहरु वर्ग र जातलाई विशिष्ठ ढंगले संस्थागत गर्दैछन् । जसलेगर्दा एमालेभित्रका दलितलाई अव विभेदरहित र सुरक्षित पार्टी खोज्न विवश तुल्याउँदैछ । यस्ता दर्जनौ घट्नाहरु छन्, जुन हाम्रो गौरवशाली पार्टीका नेता–कार्यकर्ताहरुले नै घटाउँछन् । जसलेगर्दा पार्टीप्रति दलित समुदायको विश्वास खस्दै गएको सत्य हो । यसरी अपमानित भई विभेद भोग्नेहरु प्राय : आज माओवादीमा प्रवेश गरेका छन् भने कतिपयले एमाले भित्रको ठूलो हिस्सा दलितलाई टुक्र्याएर अर्कै पार्टी खोलेका छन् । एमाले भित्रका यस्ता नेताहरुमा यो ब्यवहारिक विचलन भएको देख्दा अव हामी एमाले दलितहरु पार्टीभित्रै बुर्जुवा, ढोंगी, केही पुरैतपण्डितको पुच्छरको झिंगा मारेर सानोतिनो पदको बाली थापिरहेका पो छौं की ? 

म आवद्ध युवा संघ नेपाल, जसलाई परिवर्तनका वाहक युवा आवद्ध तेजवान संगठन भनेर हामी गर्व गर्छौ र हामी पनि आमूल परिवर्तनकै नारा लगाउदैछौं । तर संगठन भित्रका केन्द्रीयस्तरका हामी नेताहरुको हरकत र ब्यवहारलाई हेर्ने हो भने अतिहिन्दु सामन्तवादी चिन्तनभन्दा माथि उठेको छैन । यथास्थितीवादी समाजलाई भत्काएर नयाँ र समृद्ध समाज निर्माण गर्न हिडेका युवाहरुलाई अझै समाजको बन्देज लाग्छ । यिनका वावु आमाले मरेपछि पिण्ड पाउँदैनन् रे । यिनीहरु भन्दैछन्– ‘निर्मूल असम्भवछ, बिस्तारो हुन्छ, समय आउँछ ।’ वेवकुफहरु ! विस्तारै हुने, कम हुँदैजाने कुरा भनेको समयको उरावसंगै स्वतः हुने कुरा हुन् । सामाजिक अन्तर्कृयाले समाजलाई विशिष्ठतातर्फ लैजान्छ र परिवर्तन हुन्छ ।

यो समाज–विज्ञानको नियम हो । त्यसका लागि हामी परिवर्तनका वाहक भनिने युवा र हाम्रो संगठन चाहिदैन । र, यस्ता युवा वा संगठनको उपस्थिती हुनु भनेको विकृती विसंगतियुक्त जडसुत्रवादी चिन्तनलाई छोड्दै अगाडि बढ्नु हो । यिनी फेरिपनि भन्दैछन्, ‘संगै खाएकै छौं, हिडेकै छौं ।’ तर मुक्ति भनेको संगै खानु वा संगै हिडनु मात्रै होईन । खाने–हिडने कुरा त, तिनका पुर्खाले यति मिठो भेट्टाउँथे भने ३ वित्ता जिव्रो निकालेर उहिले नै हसुर्थे । तर आजको माग भनेको आर्थिक समावेशीकण, सांस्कृतिक अन्तर्घुलनसहितको ब्यवहारिक परिवर्तन हो । त्यसको अर्थ गाँसदेखि बाससम्म, वातदेखि साथसम्म आत्मसम्मान स्थापना गर्नु हो । हामी त्यही लक्ष्य प्राप्तीका लागि आमुल परिवर्तनका लागि युवा संगठनमा छौं, परिवर्तन र मुक्तिका लागि एमालेको राजनीति गरिरहेका छौं । दलितका मुद्दालाई हल्कारुपमा लिई समयको पावन्दी लगाउँदै पन्छिने र भाषणमा मात्रै गम्किने हो भने संगठनभित्रको सहकार्यको अव जरुरत छैन । यसर्थमा, १२ वर्ष रामायण पढाएपनि सीता कस्की जोई भनेर थाहा नपाउने ती नेता–कार्यकर्तालाई एमालेमा बस्न दिइनुहुँदैन । र जड् समस्याहरुलाई हल गरेर वास्तविक सर्वहारा, श्रमजीवि दलितलाई पार्टीमा फर्काउने कुरामा हामी अव गम्भिर हुनैपर्दछ ।

      (लेखक  युवा संघ नेपालका केन्द्रिय सदस्य हुन्) ।

तपाइँको प्रतिक्रिया