डा सापलाई राष्ट्रपतीपनि पशुपतीनाथले बनाएको ?

अहिले लिवियामा दुखिया नेपालीको उठिवास छ । दुई छाक हातमुख जोर्ने जोहो गर्न ति लिविया पुगेका थिए । युद्द, हत्या, हिंसा र आतंकले तिनलाई गाँज्यो । बसौं काम गर्न पाउने कुरै छैन । हिँडौ सिंहदरवारभित्रका नेता नामका लुटेर र दलालहरुले त्यो सुन्दैनन् । ति रातदिन हुटहुटीमा स्वदेश फर्किने आशामा औंला गनेर बसेका छन् । यता देशमा दिनदिनै पार्टी छ, भोज छ ।

उता लिवियाका नेपाली भोकै, तिर्खै हिंसाको कालो बादलभित्र त्राहिमाम भएर केहि उपाय निकालिहाल्छ कि देशले भनेर कुरेका छन् । तर उद्दारमा जुट्नु त कता कता उल्टो नेता भनाउँदा पशुपतीमा भाकल गरेर पो बसेका छन् । डा रामवरण यादवले त्यहाँका नेपाली सकुशल रहेर स्वदेश फर्किउन् भन्ने कामना गरे पशुपतीमा ।

राष्ट्रपतीलाई राम्ररी जानकारी छ- लिविया पशुपतीनाथले पठाएको होइन नेपालीलाई । सत्तामा राइदाईं गरुन्जेल नेताका गलत नीतिका कारण त्यस्तो देशमा जान बाध्य भएका हुन् । राष्ट्रपती अहिले संवैधानिक भएपनि निकै पटक उनीपनि निर्णय तहमा पुगेका हुन् सरकारको । उनलाई यो पनि थाह छ- लिवियाका नेपालीको उद्दार गर्न भएका कूटनितिक नियोग, गैह्र आवासिय नेपाली संघ र सक्षम नेपालीलाइ सक्रिय गराउनुपर्छ । विदेशी विमान कम्पनीसित सहकार्य गरेर छिटो नजिकको सुरक्षित मुलुकमा ओसार्नुपर्छ स्वदेश नै तत्काल ल्याउन संभव नभए ।

आफुबाट संभव नभए छिमेकि मुलुकका सरकारसित आग्रह र सहमती गरेर भएपनि तिनलाई सुरक्षित ल्याउनुपर्छ । पहिलो कुरो त तिनको तत्कालै सुरक्षाको सुनिश्चितता हुनुपर्छ । सरकार गम्भिर हुनुपर्छ, सक्रिय हुनुपर्छ । यस्तो बेला कुर्सीको मारमारलाई केहि दिन त्यागेर भएपनि त्यता ध्यान देउ भनेर सके दबाब दिनु नसके झक्झकाउनु पर्छ ।

तर हाम्रा राष्ट्रपती गए पशुपती । र कामना गरे ति नेपालीलाइ सुरक्षा र स्वदेश फर्काइदेउ हे पशुपती भन्दै । पशुपतीमा भाकल गरेर, तपस्या गरेर, कामना गरेर लिवियाका नेपाली फर्किन पाउँछन् ? पशुपतीसित आशिर्वाद मागेर पाइने भए किन चाहिए दूतावास ? किन चाहिए वाणिज्य कार्यालय ? दुख पर्दा उद्दार र सहयोग गर्न पशुपतीनाथलाई गुहार्नु पर्छ भने किन खडा गर्नुपर्‍यो महिनै पिच्छे लाखौं खर्च गरेर नियोगहरु ? सबै देशका कार्यालय हटाए भो । अनि जहाँ जे चाहिन्छ, खाँचो र आपत पर्छ त्यो बेला पशुपतीसित दश औंला जोडे भो । पशुपतीमा कामना गरेर बनेका हुन् यादव राष्ट्रपती ? चिकित्सक यादवको डाक्टरी प्रमाणपत्रपनि के पशुपतीले दिएको हो र पढ्दै नपढी ?

यादव पेशालेपनि चिकित्सक हुन् । यो नितान्त विज्ञान सित संवन्धित हो । विज्ञानले तर्क र प्रमाण खोज्छ । विज्ञान तपस्या, ध्यान, पूजा, आराधनाबाट प्राप्त हुन्न । उनलेपनि भाकल गरेर, ध्यान बसेर, पशुपती, गुहेश्वरी, चन्डेश्वरीलाई प्रणाम गरेर चिकित्सक भएका होइनन् । मेहनत, साधना, त्याग र विज्ञानको गहिरो अध्ययन गरेर हो । विज्ञानमा साधना गरेका मान्छे दैवी शक्ति गुहार्दै हिँड्नुको अर्थ के ? जनतालाई दैवी शक्तिमा झुण्ड्याउने, विश्वास गर्ने बनाएर राजनितिक नेताका कमजोरी, असफलतालाई गौण बनाउने ? जे जस्ता दुख, आपत बिपत पर्छ ति भगवानका फल हुन् भन्ने सोचको विकास गराउने ? राजनितिक चेतना बिहिन बनाएर टाढा बाठाले सधै शोषण गर्ने ? राजनितिक नेताले सत्ताको मोज लुट्ने ? नेता, प्रशासक, राज्य र निति निर्माताका कमजोरीप्रति चुप्प लाग्ने बनाउने ?

लेखक, साहित्यकार, कलाकार, नेता, समाजका प्रतिष्ठित ब्यक्तिले बोलेका, लेखेका, तिनका क्रियाकलापले सर्वसाधारणमा प्रभाव पार्छ । समस्यालाई तर्क र उपयुक्त माध्यमले हल नगरेर भगवानसित प्राथना गरेर पुरा हुन्छ भन्नु जनता झुक्याउने मेसो हो । जनतालाई गुमराहमा राख्ने काइदा हो । जनतालाई भगवान भरोसे बनाउने शिक्षा हो । अहिले लिवियाका जनतालाई तुरुन्त उद्दार चाहिएको छ । पशुपतीले आफ्नै काखमा दगुरेकि वागमती सफा गर्न सकेकि छैनन् । उनैका अगाडि सयौं नागरिक रोएर, खान नपाएर, मागेर बसेका छन् । तिनको उद्दार गर्न सकेकि छैनन् । लिवियाका नेपालीलाई राष्ट्रपतीले कामना गरेर त के टाउकै फोरेपनि उद्दार पशुपतीले गर्न सक्ने गुञ्जाइस छैन ।

नेताहरुले लुट्नु लुटेका छन् । ढाँट्नु ढाँटेका छन् । सयौं वर्षसम्म भगवान भरोसे बनाएर राजा महाराजाले पनि लुटेकै हुन् । जनतालाई ठग्ने, ढाँट्ने सूचीमा राष्ट्रपतीपनि थपिनु जरुरी छैन । सक्छौ उद्दारमा सहयोग पुर्‍याउ । सक्दैनौ भने संविधानको रक्षक राष्ट्रपती त्यत्ति रक्षा गरेर बस । तर जनतालाई भने नझुक्याउ ।

तपाइँको प्रतिक्रिया