पार्टीहरुबिच ध्रुवीकरण ? अनिवार्य

देशमा राजतन्त्र सबैको लागि प्रमुख बाधक थियो । कांग्रेस र एमालेलाई पुरै लत्याएर ज्ञानेन्द्रले आफ्नो राज्य चलाउन लागेपछि तिनले बुझे- २०४७ सालमा स्थापना गरिएको संवैधानिक राजतन्त्र गलत रहेछ । राजतन्त्रले पटक पटक धोका दिने रहेछ । यसैलाई फाल्नुपर्ने रहेछ । उता माओवादीलेपनि राजतन्त्र निर्मूल र गणतान्त्रिक नेपाल स्थापनाको मुख्य माग लिएर दशक देखि जनयुद्द गरिरहेको थियो । यि प्रमुख दलको स्वार्थ मिल्यो- राजतन्त्रबिरुद्द मोर्चाबन्दि कस्ने । सयौं वर्षदेखि जरा गाडेको र सेनालाई आफ्नो पकडमा लिएर बसेको राजतन्त्रलाई मिल्काउन कुनै एक दलको मात्रै क्षमता नपुगेरै यी मिलेका थिए । तर राजतन्त्र निर्मूलपछि माओवादी, एमाले र कांग्रेसबिच कहिँ न कहिँ टक्कर पर्छ, ध्रुवीकरण शुरु हुन्छ भन्नेमा कुनैपनि दलभित्र भ्रम भन्ने थिएन ।

यसो भन्दा पाठकहरुलाई अतिवादी, ध्रुवीकरणको पक्षदार भने लाग्न सक्छ । तर वास्तविकता त्यसो होइन । प्रमुख दलहरुको कार्यनीति, राजनितिक दिशा, तिनका स्वार्थ, तिनले प्रतिनिधित्व गर्ने वर्गको रक्षा र दस्तावेजहरु केलाउनु जरुरी छ । त्यसरी केलाउँदा स्पष्ठ देखिन्छ : अहिले एमाले, कांग्रेस, तराइका दल, राप्रपा र माओवादीबिचको ध्रुवीकरण अनिवार्य छ । यो ध्रुवीकरण अझ गहिरिएर जान्छ ।

माओवादीले भन्दै आएको हो- श्रमजिवी जनताको राज्यसत्ता कायम गर्न, गरिव, दुखि, सुकुम्वासी र विपन्न वर्गको राज्य सत्ता स्थापना गर्न पहिले प्रमुख शत्रुलाई नष्ट गर्नुपर्छ । प्रमुख शत्रु मास्न उपयोगको नीति लिइनुपर्छ । अर्थात् सानातिना शत्रु जो तुलनात्मरुपमा प्रधान शत्रु भन्दा निकट हुन्छन् तिनलाइ उपयोग गरिनुपर्छ । संविधान सभामा आउँदै यसमा माओवादी स्पष्ठ थिए । माओवादीका दस्तावेज र नीतिहरु, उसले जनमोर्चा नेपालको तर्फबाट जनयुद्द शुरु गर्नु पहिले नै त्यतिबेलाका प्रधानमन्त्री देउवालाई बुझाएको मागबाटै नेपाली कांग्रेस स्पष्ठ थियो- माओवादी जनवादी राज्यसत्ता चाहन्छन् । राजा फालेर संविधान सभाको निर्वाचनपछि कुनै न कुनै बिन्दूमा माओवादीसित टकराव पर्छ पर्छ ।

माओवादीहरुले आफ्ना दस्तावेजहरुमा स्पष्ठै गरेका छन्- देशको प्रमुख शत्रु साम्राज्यवाद हो । त्यसको प्रमुख नाइके राजतन्त्र हो । त्यो राजतन्त्र फाल्नु पहिलो शर्त हो । त्यसपछि साम्राज्यवाद कमजोर हुन्छ । उसले फेरी सामाज्यवादका नयाँ एजेन्टहरु, पिछलग्गुहरु खोज्छ । नयाँ भेष र नारामा सामाज्यवादका संरक्षहखरुले फेरी मुन्टो उठाउँछन् । अहिले साम्राजवादका नयाँ रुप फेरीएका छन् । त्यसको प्रनिधित्व मूलत नेपाली कांग्रेस, तराईका फोरम लगायतका दल र नेकपा एमालेको एक समूहले गर्छ । अन्तत त्यसका बिरुद्दपनि नलडी सुखै छैन । त्यहि कारण थियो- माओवादीले भक्तपुर भेलामा नेपाली कांग्रेसलाई प्रमुख शत्रु घोषणा गर्नु । उहिल्यै नेपाली कांग्रेसलाई उनीहरुले प्रमुख शत्रु घोषणा गरिसकेकै थिए । अनि अहिले ध्रुवीकरण भयो भनेर कुर्लनुको औचित्य के ?

उनीहरुले वाम ध्रुवीकरण हुनु पर्छ भनेरै एकता केन्द्र, मसाल लगायतका अनेकौं साना दलसित एकता गर्दै आएका हुन् । वाम ध्रुवीकरण अनिवार्य छ भनेर उनीहरुले नढाँटी भन्दै आएका छन् । उनीहरुको मूल्यांकन योपनि छ- यो ध्रुवीकरण झन बढ्दै जान्छ । अनि कम्युनिष्ट खोलमा साम्राज्यवादको प्रिष्ठपोषक गर्ने (खासगरि भारतीय साम्राज्यवादलाई भन्न खोजिएको) केपी ओली, माधव नेपाल र अन्य खनाल, ज्ञवाली लगायतका एमालेका दुई धारबिचपनि ध्रुवीकरण हुने छ । र अहिले एमालेमा देखिएको टकराव पनि त्यहि हो । केहि समयकालागि थामथुम पारिएपनि त्यो संभव छैन । भारतप्रति तुलनात्मक रुपमार अनुदार मानिएको एमालेको खनाल पक्ष र माओवादीलाई कुनैपनि हालतमा सरकारमा जान नदिने भारतीय नीति देखिनु कतै माओवादीले गर्ने गरेको विष्लेषणकै निकट त होइन ? सोचनिय छ ।

लम्बे चौडे हेर्नै पर्दैन । यत्ति हेर्दापनि बुझिन्छ- माओवादी जहिलेपनि हुनेखाने, पूँजिपती, धनीमानी, शामन्तको जग्गा जमिन गरिवलाई बाँड्छ । जनयुद्द कालमा कांग्रेस नेता बिनयध्वज चन्द लगायतका नेताको जग्गा जमिन त्यसैगरि खोसेर बाँड्यो । अहिलेसम्म फिर्ता गरेको छैन । सुकुम्बासी जनतालाई बिकल्प दिएर मात्रै त्यो फिर्ता गर्न सकिने भन्छ । उता नेपाली कांग्रेस सधैं आफ्ना राष्ट्रिय स्तरका नेता, कार्यकर्ता र उद्दमीहरुको कब्जा गरिएको सम्पत्ती फिर्ता गर्नुपर्छ भन्छ । उसले गरिव, निमुखा, सुकुम्वासीको कहिल्यै नाम लिँदैन । उसको शर्त नै जनयुद्द कालमा खोसेको जग्गा जमिन फिर्ता दिनु पर्ने । माओवादीको अझै खोसेर बाँड्ने । यहिँ बाट प्रस्ट हुन्छ- यि दुई पार्टीका स्वार्थ भिन्न छन् । यिनले हक र अधिकार सुरक्षा गर्नुपर्ने वर्ग नितान्त फरक छन् । एउटाले सुकुम्वासी, निम्न वर्गको स्वार्थ हेर्नु छ । तिनकलागि राज्यसत्ता स्थापना गर्नु छ । अर्कोले उद्दोगी, नवधनाढ्य, पूजीपती वर्ग, साम्राज्यवाद (यो माओवादीको भाषामा है ) को स्वार्थ रक्षा गर्नु छ । अनि यि दुई भिन्न वर्गले के आफ्नो स्वार्थ रक्षाकालागि कम्मर कस्दैनन् त ? कांग्रेस, एमाले, राप्रपा र माओवादी सँगै रहनु भनेको एउटै खोरमा बाघ, भालू, गैंडा र हात्तीलाई मिल कि मिल भन्दै घचेटेर राख्नु हो । के त्यो संभव छ ? यि पहलवानहरु आपसमा लडाई गरिहाल्छन् । यीनीहरुबिच लडाइ भएर कुनै न कुनैले जित्नै पर्छ । अर्कोलाई लखट्नै पर्छ ।

राजतन्त्र फालुन्जेल यिनको प्रमुख उद्देश्य एकै थियो । त्यो पूरा भयो । अब अहिले संविधान बनाउने बेला छ । संविधान भनेको देशको, सरकार सञ्चालनको मेरुदण्ड हो । यसैमा कसले कसका र कुन वर्गका स्वार्थहरु सुरक्षित गर्ने भन्ने हुन्छ । माओवादीहरु कम्तिमापनि जनवादी खालको संविधान बनाउन चाहन्छन् । जसलाई उनीहरुले जनगणतन्त्रपनि भन्दै आएका छन् । नेपाली कांग्रेस त्यो चाहन्न । भारतको जस्तो देखाउने गणतन्त्र तर सारमा उहि २०४७ सालको जस्तो संविधान जहाँ राजतन्त्रले फेरि गुट्मुट्याउन नपाओस् । एमालेको एक पक्षलाई डमरु बजाउन पाए भयो । अर्को पक्ष केहि प्रगतिशिल धारको छ । जो माओवादीसित निकट हुन सक्छ । फोरम लगायतका दललाई सकभर नेपाल भारतलाई सुम्पिने खालको संविधान चाहिएको छ । राप्रपा लगायतका दललाई राजतन्त्र फर्काउनु छ । त्यसैले अहिलेको ध्रुवीकरण एकदम वास्तविक छ । यसमा अचम्म मान्नुपर्ने प्रश्नै छैन । र यो ध्रुवीकरण अझै गहिरिने छ । हामीलाई ये दलहरु मिलिदिए हुन्थ्यो । मिलेर संविधान बनाइदिए हुन्थ्यो । थप टक्कर र हत्या हिंसा नभए हुन्थ्यो जस्तो लाग्छ । तर तितो सत्य त्यहि हो कि टकराव र ध्रुवीकरण नभइ सुखै छैन ।

तपाइँको प्रतिक्रिया