प्रधानमन्त्री नामको हड्डीमाथि अर्को नाटक

हाम्रो देशमा एउटा हड्डी छ । जनताको मासु लुछिसकेकाले अब हड्डी मात्रै बाँकी छ भन्दा हुन्छ । देश र जनताको लागि केही गर्छन् कि भनेर मासु लुछुन्जेल जनताले सहेर पनि बसे । तर लुछ्दा लुछ्दा अब हड्डी बाँकी रह्यो । नेता अब त्यो हड्डी छोड्दै छैनन् । हड्डी चपाउन एउटा निहुँ र पद चाहियो । निहुँ म संविधान बनाउँछु । सहमति गर्छु । जनताका समस्या हल गर्छु भन्ने हाकाहाकी झूट छ । अनि पद हो प्रधानमन्त्री रूपी हड्डी । जनताको रगत, पिर, मर्का, रगत र पसिनाले ठडिएको प्रधानमन्त्री नामको हड्डी । अहिले चार दलका चार नेता त्यही हड्डीका लागि मारामार गरेका छन् । हड्डी कसले लुछ्ने भनेर अब केही बेरमा मतदानको नाटक गरिएको छ ।

हड्डीका लागि जाँगे हल्लाउँदै कस्सिएका छन् चार दलका चार बन्धु- माओवादीका प्रचण्ड । एमालेका झलनाथ खनाल । नेपाली कांग्रेसका राम चन्द्र पौडेल र मधेशी जनअधिकार फोरम (अप्रजातान्त्रिक, प्रजातान्त्रिक भएको प्रजातान्त्रिक भन्नु !) विजय गच्छदार । यिनको हड्डी चुस्ने बङ्गारो हेर्दा देखिन्छ- भोलीपनि त्यो हड्डीमाथि भागबन्डा हुने छैन । फेरी अर्को पटक गर्नु पर्ने छ । किनभने हड्डीको लागि लौ तै खा त नि भनेर छोडिदिन कुनैपनि तयार छैनन् । हड्डी एक्लै सग्लै खान सक्ने सिंगो संख्या कुनै दलसितपनि छैन ।

सकेसम्म यीनले त्यो हड्डी बाँडिचुँडि खाने मेसो गरेका थिए । छ छ, तिन तिन महिना पालै पालो मिलेर चुस्ने । तर त्यसैमा पनि सहमति गर्न सकेनन् । किनभने यी यति लोभी र धूर्त छन् की पहिलो पटक जसको पालो आउँछ उसले कि त सबै निलिहाल्छ । कि चुसेको चुस्यै गरेर अर्कोलाई पालै दिँदैन । त्यही भएर त्यसमापनि यीनले विश्वास गरेनन् । अनि भने- भो बरु सग्लै हड्डीका लागि लडम जे पर्ला पर्ला । अनि हुने भएको छ हड्डी कसले खाने भन्ने मतदान ।

तर जनताका नाममा गर्न लागिएको त्यो हड्डी लडाइँमा भने उहि स्तुति गान गाउने कार्यकर्ता र आफ्नो पार्टीको मन परेको नेतोले जितेमा हँ यसो यस्सो कुम्ल्याउँला भनेर मुख मिठ्याउने जाली, फटाहा, काइतेलाइ भन्दा अरु जनतालाई त्यसको बाल मतलब छैन । बरु जनता त यति आजित भैसकेकि यो नाटक हेर्न नपरे हुन्थ्यो । बरु मिलेर ढुक्कले खाए हुन्थ्यो । घरी घरी यीनको हड्डीको नाटक हेर्न नपरे हुन्थ्यो । तर के गर्ने मन नपरि भएपनि यो नाटक फेरी हेर्नु पर्ने छ । किनभने भोलि हुने यो भागबण्डामा सग्लै हड्डी कसैको भागमा पनि पर्ने छाँटकाँट छैन ।

तपाइँको प्रतिक्रिया