माओवादी भित्रको भाले भिडन्त अब मेडियातिर

मेडियाको महत्व माओवादीहरुले जत्तिको अरू कुनै पार्टीले बुझेका होलान् ? मेडियालाई आफ्नो स्वार्थमा माओवादी पार्टीले जति अरू कुन दलले प्रयोग गर्न सकेको होला ? जनयुद्दकालिन कठिन र जोखिमपूर्ण अवस्थामापनि नेपाली मेडियालाई माओवादीले जत्तिको अरू कुनैपनि दलले प्रयोग गर्न सकेनन् । त्यसैले होला पालुङटार बैठक भेला देखि सतहमा पोखिएको माओवादी भित्रको भाले भिडन्त अहिले माओवादीको आफ्नै मेडियामा छताछुल्ल भएको छ ।

माओवादीमा संस्थापन पक्ष भनेर चिनिने प्रचण्ड र फरक मतका प्रवर्तक डा बाबुराम भट्टराईबिचको भिडन्त अहिले आफ्नै पार्टी नियन्त्रित मेडियामा आइपुगेको छ । दुबै पक्ष एक अर्कालाई निषेध गर्ने, कारवाही गर्ने वा प्रभाव जमाउने भिडन्तमा छन् । 

बिबादको चुरो

पालुङटार बैठकमा बाबुराम, वैद्य र प्रचण्ड पक्ष पार्टी एजेन्डामा एक मत भएर दस्तावेज निकाल्न नसकेपछि अन्तत प्रचण्ड र वैद्यले सहमती गरेर बहुमतको आधारमा दस्तावेज निकालिएका थिए । तर बाबुराम भट्टराईको फरक मतलाई पार्टीको तल्लो निकायसम्म जान दिने सहमती भएको थियो ।

सोमवार माओवादी कार्यकर्ता प्रशिक्षणमा पार्टी नेतृत्वले उपाध्यक्ष बाबुराम भट्टराईलाई आफ्नो फरक मत कार्यकर्ता प्रशिक्षणमा लान नदिएपछि भट्टराई, उनकी पत्नी हिसिला यमी लगायतका केही समर्थक राँक्किए। उनीहरूले काठमाडौंमा आयोजना गरिएको कार्यकर्ता प्रशिक्षण बहिष्कार गरे । यसले आम कार्यकर्तामा अन्यौलता छाएको, कार्यकर्ता र जनता जिज्ञासु बनेको भन्दै जनादेश साप्ताहिकका कार्यकारी सम्पादक मनऋषि धितालले बाबुराम भट्टराईको अन्तर्वार्ता लिए ।

भट्टराई पार्टी प्रचार बिभाग प्रमुख हुन् भने जनादेश साप्ताहिकका प्रधान सम्पादक चाहिँ कोमल बराल । बराल प्रचण्ड निकटका मानिन्छन् । पार्टीमा प्रचण्ड र वैद्यको बहुमत रहेपनि जनादेश साप्ताहिकमा हिसिया यमी, मुक्ति प्रधान लगायतका बाबुराम पक्षको पकड छ । यही वास्तविकता प्रचण्ड पक्षलाई मन नपरेको भट्टराई पक्षले मान्छन् भने प्रचण्ड पक्षले आफ्ना मतहरूलाई भट्टराइ पक्षले दुरुपयोग गरेर बढि लाने गरेको दाबी ।

यही तुस र त्रासका कारण मंगलबार मनऋषी धितालले लिएको डा बाबुराम भटराईको अन्तर्वार्ता नराख्ने निर्णय प्रधान सम्पादक बरालले गरे । तर पार्टी प्रशिक्षणमा भट्टराईको बहिष्कारले गर्दा आम जनता र कार्यकर्ता र जनतामा अन्यौल र अनिश्चय रहेकाले भट्टराईको अन्तर्वार्ता राख्नु पर्ने अडानमा धिताल देखिए । यो विवाद अन्तत पार्टी तहमा पुग्यो । भट्टराई पार्टीको प्रचार बिभाग प्रमुख भएकोले उनले कार्यकारी सम्पादकले लिएको अन्तर्वार्ता राख्न पाउनुपर्ने बताए । उता बरालले भने भट्टराईले बोलेका केही कुरा विवादास्पद हुनाले पार्टीलाई क्षति हुने तर्क गर्दै भट्टराईको अन्तर्वार्ता राख्न नहुने अडान लिए ।

अन्तत भट्टराईले आफ्नो शक्ति र पहुँच प्रयोग गर्दै कोमल बराललाई कारवाही गरी प्रधान सम्पादकमा उनको नाम सहित छापिसकेको जनादेश रद्द गरेर फेरी अरू प्रति छाप्न निर्देशन दिएको बराल पक्षले आरोप लगाएको छ । उनीहरू भट्टराईले बराललाई निकाला गरेको दाबी गर्छन् । तर भट्टराई पक्ष र कार्यकारी सम्पादक धिताल भने भट्टराईको उक्त अन्तर्वार्ता छापिए आफ्नो नाम प्रधान सम्पादकबाट हटाएर मात्रै छाप्न बरालले भनेपछि हटाइएको दाबी गर्छन् । त्यसैले सत्य को हो यसै भन्न मुस्किल छ । तर स्पष्ट के छ भने दुबै पक्ष पाएसम्म पार्टीका मुख पत्र मेडियामा आआफ्नो पकड जमाउन तल्लीन छन् ।  कार्यकारी सम्पादक धिताल माओवादी पत्रकारहरू मध्ये क्षमतावान, लगनशील कुनै गुट उपगूटमा संलग्न नरहेका पत्रकारका रूपमा चिनिन्छन् ।

पार्टी प्रशिक्षणको विवादपछि देखा परेको यो मेडिया भिडन्त पार्टीको माथिल्लो तहमा पुगिसकेको छ । दुबै पक्षले आआफ्ना पक्षको वकालत र बचाउको प्रयास गरेका छन् । यता बाबुराम पक्षहरू यसलाई सामान्य रूपमा लिने प्रयासमा छन् । बहुमतको आड भरोसामा फरक मत र विचारलाई दबाउन खोजेको आरोप लगाइरहेका छन् । बरालले चाहिँ पार्टीमा आफूमाथी अन्याय र अपहेला गरेको भन्दै यो मुद्दालाई पार्टीको माथिल्लो तहमा पुर्‍याएको बताइन्छ । भट्टराई पक्षको बहुमत रहेकाले असन्तुष्ट रहेको प्रचण्ड र वैद्य पक्षपनि यसलाई सहज रूपमा छोड्ने पक्षमा देखिन्न । जे होस पालुङटार बैठक पछि आआफ्ना बिचारहरूलाई पार्टीमा फैलाउन, स्थापित गराउन, अर्को पक्षलाई कमजोर गराउन अब दुबै पक्ष मेडिया भिडन्तमा ओर्लिएका छन् ।

तपाइँको प्रतिक्रिया