प्रचण्ड थोत्रिए, अब भट्टराईको पालो !

पहिले प्रचण्डले के के न गर्थे भन्थे । माओवादी पार्टीले त प्रचण्डले नयाँ सिद्धान्तनै प्रतिपादन गरेझैं प्रचण्डपथनै पास गर्‍यो । शान्ति वार्तामा आए माओवादी । संविधान सभाको निर्वाचनमा संसदको प्रमुख दल बन्यो । माओवादी नेत्रित्वमा सरकार बन्यो । के के न हुन्छ भनियो । माओवादीले आफैँले बाँडेका शिक्षा, रोजगार, स्वास्थ्य, खानेपानी, बाटोघाटो, आर्थिक विकास, नहुनेलाई जग्गा सब पुरा गर्छन् झैँ गरियो । शान्ति संझौता त झन् यसै टुंगोमा पुग्ने विश्वास गरियो । तर रौँ झरेन । झिंगो मरेन ।

उनीहरूको स्पष्ट बहुमत थिएन । समर्थन गर्ने अनेक दल भए । केही गर्न खोज्दा अनेक खाले भाँजो हाले । सडक जाम, हडताल, नारा र जुलुस । अनेक अनेक शर्त र व्यवधान । माओवादी आफैंलेपनि बुद्धि पुर्‍याउन सकेनन् । प्रधान सेनापति कारबाहीमा माओवादीले सरकार बाटै राजीनामा दियो । जसरी हुन्छ अल्झाएर कमजोर बनाउनु, जनताका आँखामा नालायक बनाउनु थियो कांग्रेस, एमाले र मधेशवादी द्ललाई । अनेक गूट, शर्त र व्यवधानले गर्दा प्रचण्डलाई त्यसै थाङ्ने पारियो । प्रचण्ड पछिको आशा लाग्दा व्यक्ति को त ? डा बाबुराम भट्टराई । अब कमजोर, नालायक र थाङ्नो पार्न कस्सिएका छन् भट्टराईलाई । भट्टराईलाइ प्रचण्डलाई भन्दा अझ पंगु बनाउन प्रधानमन्त्री बनाउन लोभ देखाएका छन् थुप्रै दलहरूले ।

कांग्रेस, एमाले र मधेशी दल प्रति भन्दा जनतामा अझैपनि माओवादी प्रतिनै आकर्षण छ । लोकप्रियता उसैको छ । अझैपनि जनताको केही आसा छ भने माओवादी प्रतिनै देखिन्छ । त्यसो हुनुको कारण के भने अन्य दलको भन्दा उ सित परिवर्तनका एजेन्डा छन् । कांग्रेस, एमाले नेता झैँ भ्रष्ट्राचारमा डुबेका, गन्हाएका छैनन् ।

त्यसैले तिनलाई खत्तम पारेर आफू जस्तै भ्रष्टाचारी, पंगु नपारे देश चलाउने आफ्नो पालो आउँदैन । प्रतिस्पर्धा त्यो सित हुन्छ जो आफू जस्तै हुन्छ । कांग्रेस र एमालेले माओवादीसित प्रतिस्पर्धा गर्न माओवादी भ्रष्टाचारमा भासिनु पर्छ । कार्यकर्ता पाखा लाग्नुपर्छ । सबै एनजिओकर्मी बन्नुपर्छ । नेता जति बेकम्मा बन्नुपर्छ । माओवादीका नेता जति सबैलाई जनताबिच पंगु, कवाडी बनाउनुपर्छ । उसले गरेका बाचा पुरा हुन नदिएर, काम गर्नै नसक्ने बनाएर बल्ल जनताका बीचमा कमजोर पार्न सकिन्छ ।

प्रचण्डका मामिलामा कांग्रेस, एमाले र मधेशी लगायत सत्ताको र्‍याल चुहाउने झिना मसिना दल सफल भए । त्यसैले अब उनीहरूले आँखा ताकेका छन् बाबुराम भट्टराईलाई । बाबुराम सफल, स्रिजनात्मक, नेत्रित्वकारी अनि जनताबिच लोकप्रिय भैरहे उनीहरूको स्वार्थ पुरा हुन्न । उनैले माओवादीको नेत्रित्व लिएर हाँक्न सक्छन् । त्यसैले अब जनताबिच लोकप्रिय भट्टराईलाई नंग्याउनुपरेको छ । किनभने संभवत जनताले अहिले सबै भन्दा बढि आशा गरेका नेतानै भट्टराई हुन् । माओवादी नेत्रित्वको सरकार भएका बेला सर्वाधिक लोकप्रिय काम गरेर देखाएकालेपनि उनको लोकप्रियता चुलिएको हो ।

त्यसैले संविधानसभामा प्रतिनिधित्व गर्ने १७ दलले रामचन्द्र पौडेलको उम्मेदवारी सकिनासाथ माओवादी उपाध्यक्ष बाबुराम भट्टराईलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउन प्रस्ताव गर्न खोजेका हुन् । गत मंगलवार १७ दलको सिंहदरबारमा बसेको बैठकले भट्टराई उम्मेदवार भए सहयोग गर्ने निर्णय गरेका रहेछन् । त्यसरी छलफल गर्नेमा मधेसी जनअधिकार फोरम, फोरम लोकतान्त्रिक, तमलोपा, सद्भावना पार्टी, नेकपा संयुक्त, राष्ट्रिय जनमोर्चा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, माले, समाजवादी प्रजातान्त्रिक लोकतान्त्रिक राष्ट्रिय पार्टी, दलित जनजाति, राप्रपा, राजपा, चुरे भावर, परिवार दल थिए ।

यि यस्ता दल हुन् अधिकांश पदका लागि मरि मेटेका छन् । जसले अलि बढि पद दियो उतै नयाँ सरकार बनाउन साथ दिने । यीनको उद्देश्य देशले गति लेओस् । जनताले सुख पाउन् । राजनीतिक स्थिरता होस् भन्ने नै छैन । यसैपनि जनतामा लोकप्रिय छैनन् । सिलो टिपे झैँ एकाध सभासद रहेका यीनको उद्देश्य जसरी हुन्छ बाबुराम भट्टराईको लोकप्रियता खस्काउनु हो । उनीमार्फत माओवादीलाई अझ गिराउनु । नयाँ सरकार बनाउने खेलमा साथ लागेर पदको शर्त राख्नु । प्रचण्डलाई थोत्र्याउन सफल ठान्ने यीनको काम अब बाबुराम भट्टराईलाई थोत्रो पार्नु ।

तपाइँको प्रतिक्रिया