कांग्रेस र एमालेको रोग अब माओवादीमा
आफ्नै पार्टीको एउटा नेताले भनेका कुरालाई काट्ने । एउटाले एक थोक भन्नासाथ अर्कोले हुँदै होइन भनेर सार्वजनिक वक्तव्य दिने । मिडियामा खुलेरै विरोध गर्ने । एउटै पार्टीका नेताले एकै विषयमा दश थरी तर्क दिने । आफूलाई मन नपर्ने र विपक्षी पार्टीकोले बोलेका हरेक कुरामा आपत्ति जनाउने । यो रोग पहिले नेपाली कांग्रेस र एमालेमा थियो । कांग्रेसमा नेतै पिच्छे फरक हुन्थे ।
एमालेमा खनाल र ओली पक्षले बोलेका कुरै बुझिँदैनथ्यो । पार्टीको निर्णयनै बुझ्न गाह्रो । किनभने एउटा पक्षले गरेको कुरा र अर्कोले बिरोध गरिहाल्ने गर्थे । अब यो रोग संसदीय व्यवस्थामा आएपछि माओवादीमा पनि सरेको छ ।
भट्टराईले भारतीय संस्थापन पक्षसित भेटेर फर्के लगत्तै माओवादी पार्टीको संबन्ध भारत सरकार र त्यहाँको पार्टीसित सुध्रिएको दाबी गरेका थिए । त्यति मात्रै होइन अब भारतले नेपालको मामिलामा हस्तक्षेपै नगर्ने ठोकुवा समेत गरेका थिए । यदि राजनीतिक पार्टीबिच सहमती भए भारत सरकार माओवादी नेत्रित्वको सरकारका पक्षमा समेत रहेको बताएका थिए । तर उनको दाबी धेरै दिन टिक्न सकेन । किनभने प्रचण्डका विश्वासपात्र भनेर चिनिएका पुलिटब्युरो सदस्य वर्षमान पुन ‘अनन्त’ ले भने भट्टराइको दाबीलाई असत्य भन्दै चुनौती दिए ।
करिब २ वर्षदेखि भारतीय संस्थापन पक्षसित माओवादीको संवन्ध नराम्रोसित बिग्रेको बताइएको थियो । माओवादीलाई सरकारमा जान नदिने खेल भारतको हो भन्दै माओवादीहरु भारतीय संस्थापन पक्षसित आगो भएका थिए । भारतपनि माओवादीलाई कुनै हालतमा सराकारमा जान नदिने पक्षमा रहेको बताइँदै आइएको थियो । त्यही बिग्रिएको संबन्ध सुधार्न माओवादीका नेता बाबुराम भट्टराईले भारतीय नेताहरुलाइ भेटेर अब भारतले कुरो बुझेको भन्दै त्यस्तो दाबी गरेका थिए । तर अनन्तले भने भट्टराईको दाबीलाई पुरै खण्डन गरेर एमाले र काँग्रेसमा रहेको आफ्नै पार्टीका नेताको सार्वजनिकरुपमै गर्ने प्रतिवाद र आलोचनाको रोग टड्कारोसित भित्र्याए ।
भट्टराइको दाबी लाइ चुनौती दिँदै अनन्तले दिल्लीसँग सम्बन्ध नसुध्रिएको, भारतले माओवादी नेतृत्वको सरकार बन्न नदिने दाबी गरे । प्रचण्डको नेत्रित्वमा सरकार बन्ने निश्चित भैसकेका बेला भारतीय विदेश मन्त्रालयका विशेष दूत श्याम शरण नेपालमै आएर भड्काएको आरोप हिजो काठमाडौंमा उनले सार्वजनिक रूपमै लगाए । माओवादी नेत्रित्वको सरकार बन्ने कुरो त परै जाओस् माओवादीले समर्थन गरेकालाई पनि भारतले सरकार बन्न नदिने दाबी गरेर भट्टराई विरुद्ध नयाँ द्वन्द्व स्रिजना गरेका छन् । उनले झलनाथको नेत्रित्वमा पनि बन्न लागेको र माओवादीले समर्थन गरेकोले त्यो पनि भारतलेनै बिगारेको दाबी गरे ।
उनले नेपाली नेता र पार्टी अनुसार फरक फरक कुरा गर्ने र आफू झन् बलियो बन्ने चाल भारतले खेलेको बताए । उनी भट्टराइसितै भारत भ्रमणमा गएकाले पनि भट्टराईको दाबीमा चुनौती थपिएको छ । उता पार्टी अध्यक्ष प्रचण्डले भने भारतसितको संवन्ध सुधार्न सल्लाह अनुसारनै भट्टराईलाई पठाएको र उनको भ्रमणबाट भारतीय पक्षसितको संवन्ध सुध्रिएको बताएका छन् । उनैका विश्वास पात्रबाट भने भट्टराईका दाबीको चर्को आलोचना र खण्डन हुनुले प्रचण्डले दोहोरो भूमिका खेलेको हुनसक्ने अड्कल भट्टराई पक्षका केही व्यक्तिको छ ।
अब एकै पार्टीका दुई शक्तिशाली नेताबाट ९० डिग्रीको भिन्नभिन्नै कोणमा आएका भारत संवन्धि भनाईबारे जनताले के बुझ्ने ? कसका कुरा पत्याउने ? यी दुई मध्ये कसको कुरो ठिक र कसको बेठिक ? बाबुराम भट्टराइ हिरो बन्न बोलेका हुन् अब भारतले गर्दैन हस्तक्षेप नेपालमा भनेर कि बाबुरामलाई खुइल्याउन अनन्तले त्यसको बिरोध गरेका हुन् ? आफ्नै पार्टीका नेताबिच त यस्तो अविश्वास छ जनताले कसरि के पत्याउन भन्ने सोचेका होलान् यी नेताले ? जे होस् यो घटनाबाट कांग्रेस र एमालेभित्रको रोग माओवादीमापनि राम्रै सित सरेको छ । माओवादीमा सर्ने क्रम पालुङटार बैठक तयारी हुनु केही समय अघिदेखि फैलिँदो छ ।




