नयाँ संविधानको चिन्ता भन्दा आफ्नै लडाभाँती
संसदको प्रमुख प्रतिपक्ष दल माओवादी । सानातिना दलहरुलाई सँगै लिएर हिँड्नुपर्ने जिम्मेवारी उसैको हो यदि संसदीय व्यवस्थामा उसको विश्वास र भरोसा छ भने । गणतन्त्रको मुख्य बीज रोप्ने किसानपनि उही हो । जसले बीज रोपेर फल पकाउँछ त्यसको बढि माया उसैलाई हुनुपर्ने हो । गणतन्त्रको बीजलाई संस्थागत गर्ने कि जरो निमोठ्ने भन्ने त्रास छ अहिले । यो बेला आफ्नो दल त एक ढिक्का हुनै पर्थ्यो, उसले अरूलाई पनि सँगै हिँडाएर त्यो पुरा गर्नुपर्ने हो । तर गज्जब छ, माओवादीको ध्यान अरू दललाई सराप्ने, आरोप थोपर्ने र आफ्नै पार्टीमा मारामार र लडाभाँती गरेरै बितिरहेको छ ।
माओवादीले पालुङटार बैठक गरे । लामो समयदेखि थाँती रहेका विवाद र असहमति त्यसबाट टुंग्याएर शान्ति संविधान निर्माणमा ध्यान केन्द्रित गर्ने भनेका थिए । तर पालुङटार बैठकपछि माओवादीहरु शान्ति र संविधान निर्माणमा केन्द्रित भएनन् । बरु पार्टीमा भित्र भित्रै बाबुराम भट्टराई, पार्टी अध्यक्ष प्रचण्ड र अर्का वरिष्ठ नेता मोहन बैद्यबिच तानातान र भाँडभैलो बढ्दो छ । लडाभाँती चर्कँदो छ ।
उनीहरूको भात्री संगठन अनेरास्ववियु (क्रान्तिकारी) को राष्ट्रिय सम्मेलन भयो अघिल्लो महिना । माओवादीका यी तिन नेता पार्टी महाधिवेशनमा झैँ खटे । आआफ्ना समर्थकलाई भित्र्याउन अनेक आरोप लगाए । लडे । एकले अर्को पक्षकालाइ पाखा लगाउन लागेको भन्दै कहिले बैठकै बहिष्कार गरे ।
अहिले पालुङटार बैठकबाट पारित हुन नसकेको दस्तावेज वैद्य र प्रचण्डको सहमतिमा बन्यो । उनीहरूकै एजेन्डा पास भयो । तर बाबुराम पक्षहरू सहमत भएनन् । पार्टीमा कार्यकर्तालाई आफ्ना एजेन्डामा विश्वास गराउन, सहमतिमा लिनपनि नसक्ने अनि अरूले बहुमत पुर्याएपछि सहमतपनि नहुने । आफ्ना एजेन्डा नपरेपछि संसदीय दलको नेतामा बाबुराम भट्टराईलाई चुन्नुपर्छ भन्ने शर्त अगाडि सारेका छन् । मैले यहाँ बाबुराम भट्टराई र उनी पक्षको विरोध गर्न खोजेको पटक्कै होइन । तर उनीहरू नत पार्टी कार्यकर्तालाई विश्वासमा लिन सकिरहेका छन् नत अरुका एजेन्डामा सहमत नै । उता वैद्य र प्रचण्ड पनि आफूसित बहुमत भएकोले पेल्ने मनसायमा देखिन्छन् ।
यी दुबै पक्षले पार्टीभित्र आफ्ना एजेन्डा स्थापित गराउन, बर्चस्व कायम गर्न र अर्कोलाई पाखा लगाउन मरिहत्ते गर्दै समय बितेको छ । उनीहरूको ध्यान पार्टीमै आफ्नो प्रभाव बढाउनमा खर्चिएको छ । संविधान सभा उनीहरूको महत्वमा छैन । नयाँ संविधान बनाउन उनीहरूलाई हतारो छैन । लडाकूहरूको समायोजनका लागि पनि गम्भीरतापूर्वक लाग्ने समय छैन । प्राथमिकता पार्टीमा महत्वपूर्ण पदमा आफ्ना पक्षकालाई पुर्याउनु छ । पार्टीमा आफ्नै एजेन्डा पास गराउनुमा छ । आफू इतरकालाई सकेसम्म पाखा लगाउनुमै छ हित । उनीहरूले नयाँ संविधानमा भन्दा त्यसैमा देश र जनताको हित देखेका छन् सायद ।
संविधान बनाउने समय पाँच महिनापनि बाँकी नरहँदासमेत त्यसकालागि गम्भिर हुनुभन्दा पार्टीमै किचलो मच्चाउनै मरिमेट्ने माओवादी नेताको ध्येयले भन्छ- माओवादीहरुपनि नयाँ संविधान बनाउन गम्भिर छैनन् । नयाँ संविधान माओवादीलाईपनि चाहिएको छैन ।




