रुवेल के राष्ट्रकै घर ज्वाइँ हुन ?
-कृपा थापा
संविधान निर्माण र सरकार बनाउने विषयमा राजनीतिक दलहरुवीच सहमति जुट्न सकेको छैन । संविधान निर्माण गर्ने अभिभारा बोकेका दलहरू नै विभिन्न बखेडा झिक्दै संविधान निर्माणको कामलाई ओझेलमा पार्न लागिपरेका छन् । जसले गर्दा मुलुक जटिल अवस्थातर्फ धकेलिँदै गइरहेको छ । कामचलाउ सरकारको भरमा देश चलिरहेको छ । समस्याहरू यति धेरै छन् कि कुनै पनि राजनीतिक दलसँग समस्या समाधान गर्न सक्ने हिम्मत भनौं वा ती समस्या समाधान गर्ने उपायहरू समेत छैन । राष्ट्रिय सहमतिको सरकार बनाउने, शान्ति र संविधान निर्माणको मार्ग खुल्ला गर्ने, शान्ति-सुरक्षा र महँगी नियन्त्रण गर्ने सवालमा सधैँ मत बाझिरहने ठूला दलहरूको बीचमा यस पटक भने सहमति देखियो ।
नेपाली कांग्रेस पार्टी र उपप्रधानमन्त्री सुजाता कोइरालाको घर ज्वाइँ बंगाली रुवेल चौधरीलाई पूर्व युवराज पारस शाहले हवाई फायर गर्यो भन्ने विषयमा उठेको विवाद मिडियाको लागि ‘हट गसिप इन टाउन” झैँ भयो । कांग्रेस नेता सुशील कोइरालाले आफ्ना घर ज्वाइँ माथि हवाई-फायर गर्ने पूर्व युवराज पारस शाहलाई पक्रनका लागि माओवादी लगायत नेकपा एमालेसँग हारगुहार गर्यो । कांग्रेसको आदेश सधैँ झैँ शिरोपर गर्ने एमालेले यो पटक पनि आफ्नो इमानदारी र धर्म निभाइहाल्यो, अपराधीलाई पक्रन र कारवाही गर्नु भन्ने आदेश दिएर । अपराधी जोसुकै भएपनि कारवाही हुनुपर्छ तर कुनै पनि विदेशीले नेपालको राष्ट्रियतामाथि बोल्न पाउँदैन । त्यसैले सुजाताको बंगाली ज्वाइँलाई पनि हिरासतमा लिएर अनुसन्धान गर्नुपर्छ भन्ने कुराहरू प्रष्ट रूपमा प्रेस वक्तव्यमार्फत माओवादी पार्टीले पनि जारी गर्यो ।
देशमा हत्या, हिंसा र असुरक्षा बढेको छ । दिनहुँ कैयौँ मानिस लुटिन्छन्, मारिन्छन् र अपहरणमा पर्ने गरेका छन् । नेपाली जनता अपहरणमा पर्दा, हत्या हुँदा र लुटिँदा अपराधीलाई समाउन प्रहरी परिचालित गर्न नसक्ने काम चलाउ सरकारको यो कदम भने मान्नै पर्छ ।
पूर्व युवराजधिराज पारस शाह र सुजाता कोइरालाको घर ज्वाइँ रुवेल चौधरी बीचको यो आपसी मतभेद कुनै पनि हालतमा राजनीतिक होइन तर राता-रात यो विषयलाई राजतन्त्र र कांग्रेसीतन्त्रसँग जोडेर जुन किसिमले उठाइयो त्यो कांग्रेसको षडयन्त्र नै हो । पूर्व युवराज नेपाली नागरिक नै हुन र रुबेल चौधरी विदेशी नागरिक । व्यक्तिगत विवादलाई चुरो बनाएर कांग्रेसले रुवेल चौधरी नेपालकै घर ज्वाइँ हो भन्ने उदाहरणसमेत दिन पछाडि परेन ।
केही समय पहिले गोरखामा कांग्रेसका नेता-कार्यकर्ताहरू लुटिँदा- मारिँदा र ओखलढुंगाका एमाले नेता छविलाल कार्कीको हत्या हुँदा उपप्रधानमन्त्री सुजाता कोइरालाले किन भन्न सकिनन् अपराधीलाई कारवाही गर भनेर ? एमाले पार्टीको मातहतमा रहेको गृह मन्त्रालयले किन समाउन सकेन ती नेपाली जनता मार्ने अपराधीहरूलाई ? कांग्रेसभित्रै आफ्ना कार्यकर्ताहरू मारिँदा, नेपाली जनता मारिँदा खसी बोका मरेझैँ ठान्ने काँग्रेसले रुवेल चौधरी सुजाताको ज्वाइँ भएकै कारणले गर्दा छिटो समाउनु भन्ने उर्दी जारी गर्यो ।
विगतमा विवादास्पद छवि बनाएका पूर्व युवराज पारस शाह अहिले जनताको माझमा आम नागरिक सरह जीवनयापन गरिरहेका छन् । विगतमा पारस शाह कस्तो र के थिए त्यो बहसको विषय हुँदै होइन । त्यही भएर पारसको व्यक्तिगत जीवनलाई कोट्याउने र मिडियामार्फत अनर्गल बहस गर्नु असान्दर्भीक हुन्छ ।
जोस्टसँग विवाह गरेकी उपप्रधानमन्त्री सुजाता कोइरालाकी छोरी मेलानी र पारिवारिक भिषामा विगत ४ वर्ष देखि उपप्रधानमन्त्री सुजाताको मण्डिखाटारस्थित निवासमा घर ज्वाइँ बस्दै आएका बगंलादेशी नागरिक रुबेल चौधरीको विगत र वर्तमान दुवै विवादास्पद रहेको छ । सुषमा कोइराला मेमोरियल ट्रष्टमा समेत जागिरे रहेका उनी विगतमा नेपाली नागरिकता नभएको विदेशी व्यक्तिले उक्त ट्रष्टमा जागिर खाएर बसेको विषयमा विवाद बढेपछि उनले त्यो काम छाडेका थिए । चौधरी सक्रिय रूपमा गैरकानुनी क्रियाकलापमा संलग्न रहेको प्रमाण नेपाल प्रहरीसँग रहेको छ । तर प्रहरी प्रशासनले पनि सुजाताको ज्वाइँ भएकै कारणले समाउन नसकेको कुरा अगाडि आएको छ ।
मण्डिखाटारस्थित सुजाता कोइराला निवासमा बसेर अपराधिक सञ्जालहरू विस्तार गर्दै बसेका चौधरीलाई पक्रन प्रहरीले हिम्मत गर्न सकेको छैन । किनभने उनी नेपालकै कांग्रेसी ज्वाइँ हुन् । कांग्रेसीहरु उच्च ओहदामा रहँदा पदको भरपूर फाइदा उठाएर संयुक्त राष्ट्र संघको मिसनमा खटिएको नेपाल प्रहरीको कल्याण कोषमा समेत ३५ करोडको घोटालाको मुख्य नायक नै चौधरी रहेका थिए । नेपालमा आउने अन्तर्राष्ट्रिय फोन बाइपास गर्ने कार्यमा समातिएका बंगलादेशीहरुले पनि रुवेल चौधरी नै नाइके रहेको कुरा बताएका थिए । तर उपप्रधानमन्त्री कोइरालाको शक्तिको अगाडि कसैले पनि चौधरीलाई समाउन सकेनन् । बंगलादेशीलाई नक्कली नागरिकता र राहदानी बनाई तेस्रो मुलुक पठाउने कार्यक्रममा समेत चौधरी सक्रिय रहेको देखिएको छ ।
परराष्ट्रमन्त्री सुजाता कोइरालाले सामान्य कर्मचारीलाई कारवाही गर्न दबाब दिइन । तर सो गिरोहका प्रमुख नाइके चौधरीलाई भने उम्काइन् । यस्ता जघन्य अपराधमा संलग्न चौधरी आजसम्म पनि मिडियाको विषयवस्तु बन्न सकेनन् । तर टाइगरटप्स काण्डमा उनी भद्र-भलादमी व्यक्तिको रूपमा परिचित भए । पारस शाहले विगतमा गरेका गल्तीहरूलाई केलाउँदै रुवेल चौधरीको वर्तमानलाई ढाक्ने प्रयास गरियो । पूर्व युवराज पारस शाहलाई पोखराबाट गिरफ्तार गरी चितवन पुर्याइ बयान लिइयो । तर सोही घटनाका अर्का व्यक्ति चौधरीसित भने प्रहरी आफै मन्डिखाटारमा गई बयान लियो । घटनास्थलमा नै पीडक र पीडित दुवैको बयान लिनुपर्ने कानुनी व्यवस्था भए पनि सोको उलंघन कांग्रेसी ज्वाइँ चौधरीले गरेका छन् । एउटै घटनामा संलग्न दुवै व्यक्तिलाई बेग्लाबेग्लै व्यवहार गरेर कांग्रेसले आफ्नो पारिवारिक रवाफ देखाएको छ । सरकारी संयन्त्रहरू पनि उपप्रधानमन्त्रीको शक्तिको दबाबमा परेका छन् । यदि त्यो ठाउँमा सुजाताका ज्वाइँ रुबेल चौधरी नभएको भए प्रहरीले घोक्रेठ्याक लगाएर घिसार्दै लग्थे होला । गणतन्त्र र लोकतन्त्रको वकालत गर्ने कांग्रेसले रुवेललाई बयान लिन उनको ससुराली पुगेको राज्यले गणतन्त्रको धज्जी उडाएको छ ।
ऐतिहासिक कालमै राजतन्त्रको भरपूर फाइदा उठाउन सफल भएको कांग्रेस पार्टी र कोइराला परिवार नै हो । उपप्रधानमन्त्री सुजाता कोइरालाले राजतन्त्र हटाउनु हुन्न र बेबी किङ राख्नुपर्छ भनेर चर्को आवाजमा नारा लगाएकी थिइन । तर आज उनै पारसले उनका ज्वाइँलाई बन्दुक तेर्स्यायो भनेर विदेशबाटै अपराधीलाई नछोडनु भन्ने आदेश दिएकी थिइन । बंगलादेशी नागरिक रुबेल चौधरी नेपालका लागि विदेशी नागरिक हुन् । न त उनी नेपाली नागरिक नै हुन, न उनी कांग्रेसका कार्यकर्ता नै हुन । तैपनि सुजाताले ठाडो आदेश दिएर कोइराला परिवारको रवाफ देखाएर पद र शक्तिको आडमा जेसुकै गर्न सकिन्छ भन्ने व्यक्तिवादी सोचमा बाँचिरहेको छ । गैर न्यायिक व्यक्तिले नेपालको राष्ट्रियताको बारेमा बोल्ने अधिकार छैन तर चौधरीले जे गर्यो त्यो सही हो भनेर अडकल काट्दै पूर्व युवराज पारस शाहको चरित्रलाई नङ्ग्याउने काम सरासर गलत हो ।
मुलुकको राष्ट्रिय ढुकुटी खर्च गरेर विदेश शयर गर्ने उपप्रधानमन्त्री सुजाता कोइराला र उनका परिवारको गतिविधिमा नेपाली जनताले कडा निगरानी राख्नुपर्छ । सामान्य नागरिक भन्न रुचाउने बंगलादेशी नागरिक रुवेल चौधरीले नेपालमा के कस्तो सञ्जालहरू विस्तार गरिरहेका छन्, त्यो पनि नेपाली जनतालगायत सुरक्षा संयन्त्रले पनि चासो दिनु जरुरी छ ।
टाइगरटप्स काण्डमा छानबिन समिति बनाएर राम्रो काम गर्यो तर पूर्व युवराज पारसलाई मात्र पक्राउ गरेर राख्नु र सुजाताका ज्वाइँ चौधरीलाई स-सम्मान सुजाता निवासमा राखिएको छ । देशको नीति निर्माण गर्ने तहमा बसेका नेतृत्व वर्गकै घरबाट कानुन तोड्ने काम गरिएको छ । बंगलादेशी नागरिक चौधरीले प्रहरी कार्यालय नगई दिएको बयानलाई मान्यता दिन मिल्छ ? कानुनभन्दा माथि कोही छैन तर कानुनलाई नै स्वयम् उपप्रधानमन्त्रीको घरबाट मिच्ने काम गरियो, त्यसको विपक्षमा आन्दोलन गर्ने किन कोही छैनन् ?
राष्ट्रियतामाथि ठाडै प्रहार गर्यो भनेर हिजोका दिनमा मधेशीहरुमाथि अनावश्यक कारवाही गर्दा सडक तताउने नेपाली जनताहरूले खै त आन्दोलन गरेको ? उपराष्ट्रपतिले हिन्दी बोल्यो भनेर चोक चोकमा टायर बाल्ने विद्यार्थी संगठनहरु किन कानमा तेल हालेर बसेका छन् ? बंगलादेशीले राष्ट्रियताका विरुद्धमा बोल्दा, अपराधिक सञ्जाल विस्तार गर्दा र कानुन मिच्दा किन कसैले टायर बाल्न सकेनन् त ?
पूर्व युवराज पारस शाहमाथि राजतन्त्रको रिस साध्ने प्रयोजनले कारवाही गरिनु हुँदैन । एउटा सामान्य नागरिकको हैसियतले पारसमाथि उचित व्यवहार गर्नुपर्छ भने उपप्रधानमन्त्रीका ज्वाइँ रुवेल चौधरी कांग्रेसको ज्वाइँको रूपमा नभई एक विदेशी नागरिकको रूपमा व्यवहार गर्नु जरुरी छ । राजतन्त्र रहँदा युवराजधिराज भएका पारस शाहको स्थान त्यो विदेशी नागरिकले कदापि लिन सक्दैन । त्यसैले रुवेल चौधरीलाई पनि घटनास्थलमै राखेर बयान लिनुपर्छ । विधिको शासनमा कानुनभन्दा माथि कोही छैन । रुवेल चौधरीको संलग्नतामा फैलिदैं गइरहेको अपराधिक सञ्जालको छानबिन गरी उनलाई कारवाही गर्नु जरुरी छ । यदि लोकतन्त्रमा कानुनी राज्यले महत्वपूर्ण भूमिका खेलेको छ भने बंगलादेशी नागरिक रुवेल चौधरी उपप्रधानमन्त्री सुजाता कोइरालाको कांग्रेसी ज्वाइँ भएको आधारबाट मुक्त हुन पाउँदैनन् ।




