क्रान्तिकारी दिदीलाई खाडीबाट भाइको पत्र
-सरिता खनाल / कपिलवस्तु
प्यारी दिदी निलिमा
कुशल रही कुशलताको कामना गर्छु । खास लेख्नु पर्ने त केही थिएन एक दिन नेपालप्लस डट कम मा तपाईंको पत्र देखे । त्यसपछि यो खाडी मुलुकबाट यो पत्र मार्फत पोखिदैं छु । आशा छ १० मिनेट समय दिनु हुनेछ ।
दिदी,
देश र जनताको मुक्तिको लागि हिँड्नु भएको कहाँ पुग्नु भो ? र के गर्दै हुनुहुन्छ ? देश कता छ तपाईं लाई थाहा होला नि ? बुवा आमाबाट इतिहास बुझ्नुभएको तपाईंले इतिहासको घर कसरी रङाउँदै हुनुहुन्छ ? सामन्तवादी, साम्राज्यवादी आर्थिक, राजनैतिक र सांस्क्रितिक संरचनाका विरुद्ध विद्रोह गरेर सत्ता कब्जा गर्नु भएको तपाईंले सत्तामा बसेर के गर्नु भयो ? महँगी, लोड सेडिङ र हत्या, हिंसा, आतंक, बन्द, हडताल त रोकियो होला नि है ? जन युद्धका बेला तपाईं र मेरो सधैँ बहस चल्ने । म लोकतान्त्रिक समाजवादी आन्दोलन गरौं भन्ने । तपाईं पुरातनवादी सामन्ती पुँजीवादी क्रान्तिकारी आन्दोलन रे । तपाईंलाई शान्ति चाहिएको मलाई न्याय ।
दिदी,
तपाईंलाई समाज, घर, परिवारले कति सम्मान गर्थ्यो थाहा छ ? उति बेला तपाईंको भाषण सुन्न ३ दिन पैदल हिँडेर बा आमा जान्थे नि । तपाईं आवाजमा क्रान्तिको बुलन्द स्वर सुनेर बा आमा मक्ख पर्थे र जोडदार तालीले तपाईलाई सम्मान गर्थे । ऐले किन बा आमा को ओठ मुख सुकेको छ ? शरीर किन कापेको छ ? र मलाई १८\१८ घण्टा यो खाडी मुलुक मा काम गर्नु परेको छ किन ? बेरोजगार र आर्थिक क्रान्तिको तपाईंको भाषण खै आज ? रेडियो टी भी वाइयात हुन भन्ने तपाईंले आज तपाईंका कमरेडहरु किन हिरोइनसँग कम्मर मर्काइ मर्काइ नाच्छन् ? सुकिला मुकिला सँग बोल्नु हुँदैन, हिँड्नु हुँदैन । उनीहरू शोषक हुन भन्ने तपाईं का कमरेडहरु किन टाइ सुटमा ठाँटिएर चिल्ला कारमा कुदछन ? जनतालाई चप्पल लगाउन सक्ने नबनाइकन लाखौँ लाख पर्ने गाडीमा नेता कुद्नु कति जायज हो ?
दिदी,
तपाईंको भाषणमा कति निर्दोष शब्द उच्चारित थिए है । विदेशी प्रभुले देश रित्याए भन्ने तपाईंका कमरेडहरु त्यही विदेशीको साथ लागि धन कुम्ल्याएका छैनन् र ? तपाईंको क्रान्ति कस्तो क्रान्ति हो ? पुरातन, सामन्ती पुँजीवादी या सर्वहारा समाजवादी ? सामन्ती हो भने किन सामन्ती राज्य सत्ताको जरा उखेल्नको लागि अदम्य शाहस र उच्च विवेकले क्रान्तिको रथ कुशलतापूर्वक निरन्तर रूपमा हाँक्न अगाडि बढ्नु भएको छैन ? यदी सर्वहारा समाजवादी हो भने अधिनायकवादी कदमलाई आत्मसाथ गरी शासनको नाममा शोषण, न्यायमा अन्याय र पराक्रमी भ्रष्ट भएर चिनिन चाहनुहुन्छ ? लोकतन्त्र र गणतन्त्रका नाममा तपाईंका आवाजहरू कहाँ के गर्दै छन् ? तपाईंहरुले किन अझै पनि हिंस्रक आक्रमण गर्दै हुनुहुन्छ देशमा ? अझै पनि असंवैधानिक तरिका अपनाएर हतियार उचाली जनतालाई किन अपमानित गर्दै हुनुहुन्छ ?
दिदी,
महिला शसक्तीकरणमा तपाईंको आवाज खै ? नारी अस्मिता, हेपिएका चुलो चौकोमा सीमित महिलालाई घरको चार पर्खालबाट खै त बाहिर निकालेको ? तपाईं आफै पनि त नारी हो नि होइन र ? आधा आकाश ओगटेका नेपालका वास्तविक स्रिजनकर्ता महिलाहरू आज लिंगिय शोषणका कारण आँसुको घुट्को पिउँदै र पसिनाको नदी बगाएर कष्टपूर्ण दासता को जीवन जिउन बाध्य देख्दै छु म किन ? अपहेलना र पशु सरह जीवन जिउन बाध्य हृदयविदारक व्यथाहरू नेपालका महिलाहरूमा देख्दै छु म किन ? अशिक्षाको अँध्यारोबाट बिहानी प्रभाततिर समाज लम्किरहेको सुने पनि तपाईंको राजनीतिले फोस्रो भाषण दिएर बुद्धि र चेतनाको आँखाको नानी गुमाएको जस्तो छ किन ?
दिदी,
तपाईंको निर्दोष आत्मा र त्यो कलम चलाउने कोमल हातले किन बन्दुक समाउनु भयो ? दाजुभाइ लडाएर के पाउनु भो ? हिउँमा हिँडेका नाङा पैताला र फुटेका कुर्कुच्चाले लाखौँ पर्ने चिल्लो कार ? स्वार्थ र रवाफको आडम्बर ? अहिले तपाईंको कुर्लाइमा न्याय छैन राष्ट्र प्रति अगाध आस्था छैन । छ त केवल कायर र नामर्दिपन । अहिले जनताका आँखाबाट पिडा र विवशताका आँसु बगिरहेका छन् । तपाईंहरुका भने बैठक र सभा हलमा जिब्रो लपलपाउँदै ओठहरू मुस्कुराइरहेका देख्छु म । के यही हो तपाईंको १० वर्षे जनयुद्धको परीक्षाफल या प्रमाणपत्र ? जवाफ चाहियो दिदी मलाई ।
अन्त्यमा,
दिदी, देशलाई शान्ति होइन न्याय चाहिएको छ । शान्तिको नाममा अशान्ति भएको कसले हेर्ने ? न्याय हुन्छ भने शान्ति त्यसै हुन्छ । मृत्यु होइन जीवन चाहिएको छ जनतालाई । रगत होइन पसिना चाहिएको छ धर्तीलाई । आदर्श खाएर कसैले पेट भर्न सक्दैन यहाँ । त्यसैले भ्रष्ट कुट्नैतिक षडयन्त्रका विरुद्ध संगठन गरेर क्रान्तिको ज्वारभाटा दन्काउँदै परिवर्तनको शङ्ख बजाउनुस् अनि बल्ल बन्नेछ नयाँ नेपाल । गणतान्त्रिक नयाँ नेपाल । नत्र नेल्सन मन्डेला वा अब्राहम लिङ्कन बनाउने सपना देखेका बा आमा ले हिट्लर भन्नेछन् तपाईंलाई ।
बाँकी भेट मा ।
उही तपाईंको भाइ
अजेय
साउदी अरेवियाबाट
पुष ३, २०६७




