सिंगो राष्ट्रको ध्यान दुई जना जँड्याहामाथि !

दुई जना जँड्याहा पारस शाह र रुबेल चौधरी मस्ती गर्न गए चितवनको एक रिसोटमा । पारस हो ज्यानमारा । अपराधी । जँड्याहा । अर्को नेपाल ठग्न बसेको ठग । कालो व्यापारी र जँड्याहा । दुबैले लुटेको, चुसेको सम्पत्तिको सन दिँदै मस्ती गरे । पारसको सत्ता खुस्केर इन्तु न चिन्तु भएको । अर्कोको सासू सुजाता कोइरालाको शक्तिले मात लगेको । एउटालाई हाम्रो सत्ता खोस्ने यसैको सन्तान हो भन्ने सनक । अर्कोलाई तिमीहरूलाई सत्ताबाट खसाल्ने मेरै सन्तान हो भन्ने सान । बास दुबैले खाए । मोज गरे । भनाभन भयो ।

एउटासित रहेछ हतियार । अर्को खाली । शक्तिको तुजुक देखाउने काम बढ्दै गयो । भनाभन शुरु भयो । दुबैलाई झोँक चल्यो । हातमा हुनेले आकाशतिर फर्काएर तँलाई मार्छु भन्दै पड्कायो । हतियार नहुने सुइँकुच्चा ठोक्यो । दुबैले आआफ्नो शक्ति देखाए । बास भएको यत्ति हो । दुई जना जँड्याहाको झगडा । तर यसैमा किन यत्रो राष्ट्रको ध्यान एकिक्रित ?

झगडा किन भयो यी दुई बीच ? किन एक अर्काबिच भनाभन, रिसारिस भयो ? कुरो स्पष्ट छ- राजतन्त्र मासिनु पहिले पारसको मस्ती थियो । सारा राज्य एकलौटी । मनपरी । राजकुमारलाई कसले छुने ? महिलालाई हातपात गरे’नि भयो । कलाकार र ट्याक्सीवालाको ज्यान लिएपनि कसैले छुन्थेन । सडक बत्ती फुटाएपनि को बोल्ने ? ड्युटीमा बसेका प्रहरीलाई थप्पड मारेपनि कसले बोल्ने ? रातारात गैँडाका सिङ ओसारेनी भयो । हात हतियारको कारोबार गरेपनि खुल्ला । राज्यको सम्पत्ति मनलागी खर्च गर्‍यो । डिस्कोमा तहल्का मच्चायो । देश विदेश घुमेर राष्ट्रिय धन स्वाहा पार्‍यो । अघिपछि गुण्डा राखेर सडक जाम गर्दै फूर्ति लाएर हिँड्यो । सारा सन्तानलाई मोज मस्ती गरायो । तर राजतन्त्र मासिएपछि त्यो सबै गोपिक्याँच भो । बास पारसलाई झोंक चलेको यसैले हो ।

त्यसपछिको मोज कसले गर्‍यो त ? कोइराला परिवारले । ठेक्का पट्टा । विमान खरिदमा घोटाला । सारा परिवार राजनीतिमा । दिनरात भ्रष्टाचार । सत्ता र शक्तिमा उनीहरूनै । सुरक्षा उनीहरूकै तजविजमा । तामझाम कोइराला खलकको । शाह परिवारले गरेको लूट, भ्रष्टाचार, मस्ती, राष्ट्रिय धनमा रजाई, आफन्तलाई रोजगार, विदेश भ्रमण । सबै शाह परिवारबाट सर्‍यो कोइराला परिवारतिर । अनि त्यो लुट्न नपाएकोमा झोंक नचलोस त ? आफूले लुटिरहेको जसले खोसेर लग्यो त्यसलाई देख्दा पारसको कंचट नतातोस् त ?

अनि रुबेल के कम ? त्यत्रो मोज मस्ती जुराउने, कालो धन्दाको मेसो मिलाइदिने, सत्ता र शक्तिमा पुर्‍याउने सासू र उनको परिवारको सान उसले नदिने त ? बास रिसा रिस र झगडा त्यही प्रतिशोधले भएको हो । यसमा सम्पूर्ण राष्ट्र लाग्नुपर्ने कारण के छ ?

संविधान बन्ने समय गुज्रिन लाग्यो काँग्रेस सभापति पार्टी कार्यालय धाउन सकेका छैनन् नेतासित छलफल गर्न । जनताका टाउकामा दिनरात महँगीको मार पारेका छन् कसरी घटाउन सकिन्छ चिन्ता छैन । इन्धनको मूल्य बढेर जनता आत्तिएका छन् त्यसलाई दुई पैसो भए’नि कम गराउन सकिन्छ की भनेर पार्टीहरू बैठक बस्दैनन् । जनतालाई कसरी राहत दिने छलफल चलाउँदैनन् । तर कांग्रेसका सभापति सुसिल कोइरालाको ताल हेर्नुस् त । जँड्याहाको झगडामा कति चासो । रुबेल चाधरीलाइ धम्काउने पारसलाई कारवाही गर्नुपर्‍यो भन्दै एमालेका अध्यक्ष झलनाथ खनाल र एमाओवादीका अध्यक्ष प्रचण्डको ढोका घचेट्दै हिँडेका छन् । आफ्नै पार्टीका वरिष्ठ नेता केबि गुरुङ बिरामी परेर अस्पत्ताल भर्ना भएको हप्तौं भयो । उनलाई भेटेर सहानुभूतिका दुई शब्द खर्चिने समय सुशिललाई रहेनछ । तर सुजाताका ज्वाइँ भएकै कारणले पारसलाई कारवाही गर्नुपर्छ भन्दै नेता नेताका घर दैलो चहार्न, पार्टीमा छलफल चलाउन चाहिँ फुर्सदै फुर्सद ? 

यही विषयमा पार्टीका नेताको भनाई, प्रतिक्रिया, सोध खोज, बक्तब्यबाजी सारा आइरहेको छ । राष्ट्रिय स्तरका छापा, रेडियो र टिभीमा यीनै विषयले ढाकेका छन् । नेताहरू तँछाडमँछाड गर्दै प्रतिक्रिया दिइरहेका छन् । जिल्ला देखि केन्द्रसम्मका प्रहरी, सशस्त्र प्रहरी र सैनिक कार्यालयसम्म यसैको पछाडी कुदेका छन् । दुई जना गुण्डा, भ्रष्टाचारी, जँड्याहाको लागि राष्ट्रिय ध्यान खिच्दै हिँड्ने यी नेतालाई खै राष्ट्रका महत्वपूर्ण विषयमा चिन्ता ? सर्वसाधारण जनता अनेक समस्याले तड्पिएका छन् । जनताको ज्यान जाँदा कसैको ध्यान जाँदैन । तर दुई जना अलि उपल्लो तहका जँड्याहाको जाँडे झगडामा चाहिँ सम्पूर्ण राष्ट्र लाग्नुपर्ने ? के हाम्रा यी भन्दा महत्वपूर्ण मुद्दा छैनन् । दुई जना जँड्याहाको झगडा मिलाउनु र कारबाही गर्नु बाहेक अन्य महत्वपूर्ण प्रथमिकता छैनन् हाम्रा ?

तपाइँको प्रतिक्रिया