माओवादी र एमालेको लाप्पा, कांग्रेसलाई क्या मज्जा

-सरोजदिलु विश्वकर्म

गणतान्त्रिक संसदमा पनि भेडे जुधाई । जुध्नेहरु, नयाँ नेपाल बनाउन जनताका प्रतिनिधि भएर गएका मान्य सभासदहरु । विशेषतः एमाले र माओवादी मान्यहरु । सर्वहारा क्रान्तिका अध्ययता । साम्यवादका सम्वाहक कम्युनिष्टहरुले एकआर्कालाई गोदे । यो भन्दा अगाडि एमाले र फुटेको माले २०५५ सालमा यसरी नै लाप्पा खेलेका थिए । त्यति वेला माले बलियो, यसपल्ट माओवादी बलियो । उसकेा यो महान कार्यलाई धेरैले खैरो खन्ने प्रयाश गरे, उदण्डता, हिंसा, अराजकता र सत्ता कब्जाकेा आरोपमा गाली गलौज गरे ।

तर जे भएपनि माओवादी त यो उदण्डताको कर्ता मात्र हो । वास्तविक खेल त १२ वाहुनको तेह्र टुप्पीकै हो । एकले अर्कालाई निषेध गर्ने, अर्कोको सहअस्तित्व स्वीर्कार्दै नस्वीकार्ने र घुमाउरो पाराले खेल आफ्नो पक्षमा पार्ने दाऊले गर्दा संसदभित्रै यो परिणाम आएको हो ।

माओवादीको संसदीय अभ्यासमा पोख्त छैन । त्यसैले पटक पटक गोता खान्छ । यसपल्ट पनि जंगलमा सिकेका कुरा संसदभित्रै पुनर्अभ्यास गर्नाले गोता खान पुग्यो । उसले यो पनि अध्ययन गर्नै सकेन- चीन, भारत, अफ्रिकालगायत विश्वमा धेरै देशका उदाहरण छन्- मुक्तिपछि विरोधी सँगका सहकार्य गर्दा परिवर्तन सजिलो गरी स्थायी भएका । नेपालमा समेत राणा शासन ढलेपछि त्रिभुवनले प्रधानमन्त्री मोहनशम्शेरलाई नै दिए । जसले गर्दा राणा शासन सदाका लागि विदा गर्न सजिलो भयो । अफ्रिकाको राजनीतिक परिवर्तनपछि मण्डेलाले रक्षा र अर्थमन्त्री नै शत्रुपक्षलाई दिए । फलतः आज अफ्रिका विश्वस्तरीय कार्यक्रमहरु आयोजना गर्नसक्ने अवस्थामा पुगेको छ । तर माओवादीले यस्तो सहज खेल खेल्नै जानेन । हो, यो परिवर्तनको पहिलो जस माओवादीलाई जानुपर्दछ । तर त्यो प्रतिष्ठालाई उसले दिगो राख्न परिवर्तित अवस्थाको शत्रुपक्ष र सहयात्री दलहहरुकेा सहअस्तित्वलाई सम्मान गर्नै जानेन । परिणामतः माओवादी आज अन्य दलहहरुले विश्वास नै गर्न नसक्ने मत्ता हातीजस्तो बन्न पुगेको छ ।

हामी नागरिक समाज, पत्रकार अनि केही एमालेहरुसमेत त्यस मत्ता हातीलाई झैं जिस्कयाईरहेका छौं, नांङ्लो ठटाएर तसाईरहेका छौं । त्यसले ऊ दिनदिनै बिच्किदै गएको छ भने त्यसको फायदा नेपाली कांग्रेस लगायतका केही अवसरवादी मधेसीया दलहरुले उठाईरहेका छन् । फलतः राष्ट्रिय राजनीति जवजव सहमतिको नजिक पुग्छ तव तव एनेकपा माओवादी एक न एक उदण्डा मच्याईहाल्छ । त्यसले सम्पूर्ण सहमति बिग्रन्छ र पुनः शुन्यमा झर्दछ । त्यसले मुलुकलाई मात्र होईन स्वयं माओवादीलाई पनि घाटा पुगिरहेकेा छ र राजनीतिक सरोकारवालाहरुको नजरमा ऊ दिनदिनै अविस्वसनीय बन्दै गईरहेको छ । त्यसैवेला माओवादीले केही अहमता र मतहापना नदेखाएको भए आजसम्म संविधान आईसक्थ्यो । तर भदौ चरेकेा साँढे गोरुले चैत्रमा पनि हरियो देख्छ भन्ने झैं माओवादीको मत्तापनाले फलतः नेपाली जनताले आजको परिणाम भोगीरहेका छन् । परिणामतः सिंगो कम्युनिष्ट आन्दोलन गोलरहित अन्त्य हुने खेलतिर उन्मुख भइरहेकेा छ । र, यो महान खेलको महाखेलाडी हो- नेपाली कांग्रेस । जसले नेपाली कांग्रेसले कम्युनिष्टहरुलाई कमजोर बनाई लाभ उठाउने खेल इतिहासदेखि नै खेल्दै आएको हो । र, आजपनि रामचन्द्र पौडेललाई एउटा पात्र बनाएर चटकेले भेडा जुधाए झैं कम्युनिष्टहरुलाई जुधाइरहेकेा छ । र, आज माओवादीलाई यो उग्र अवस्थामा ल्याउन र एमालेलाई हत्केलामा राखेर नचाउन साईलेन्स किलरकोरुपमा नेपाली कांग्रेस खेल्न सफल हुँदै आएको सत्य हो । 

कांग्रेसले टंकप्रसाद आचार्य र पुप्पलाललाई कहिल्यै एक हुन दिएन । राजा महेन्द्रलाई उक्साएर जहिलेपनि कम्युनिष्टमाथि प्रहार गरिरह्यो । त्यसपछि केशरजंग रायमाझीलाई दरवार प्रीय बनाएर मनमोहन र पुष्पलाल वीचमा ठूलो दरार खडा गरिदियो । विपीले पञ्चायतकालिन राजनीतिमा कहिले मनमोहनलाई उचाल्ने कहिले डिपी अधिकारीलाई खेलाएर टुटे फुटेकेा कम्युनिष्टहरुलाई कहिल्यै एक हुन दिएनन् । तर गणेशमानको उदारनीतिले सात वामघटक एकैस्थानमा आउन सफल भएपछि मात्र पञ्चायती ब्यवस्था फालियो । गिरिजा प्रसाद कोइरालाले पनि १० वर्ष त्यही रणनीति अपनाए । ‘कम्युन’ भन्ने अक्षर देख्दासमेत उनलाई निद्रा नपर्ने भयो । तर जव देउवाले प्रजातन्त्रलाई राजा ज्ञानेन्द्रका शरणमा विसर्जन गरि दिए, तव मात्र उनको घैंटोमा घाम लाग्योे र शाहीतन्त्रविरुद्ध कम्युनिस्टहरूलाई एकगठ्ठा गरेर मात्र ज्ञानेन्द्र फाल्न सफल भए । त्यसैले मर्ने वेलामा यही अजय कर्तब्यले उनी नेपाली जनता माझ कालजयी रहन पुगे । अहिले शुशिल कोईराला र पौडेलहरु त्यही पुरानै खेल खेलिरहेका छन्, कम्युनिस्ट-कम्युष्टिवीचमा लडाएर दीर्घकालीन फायदा उठाउन खोजिरहेका छन् ।

कम्युनिष्टहरुको पनि आफ्नै किसिमको स्वभाव छ- यिनीहरु तत्कालिन लाभका लागि छताछुल्ल हुनेगरी बाझाबाझ गर्दछन् । कांग्रेस दिर्घकालिन र ठूलो प्रतिफलका लागि धर्य गरेर अरुले थाहै नपाउने गरी खेल्दछ । उसका मनमुटावहरु परालको आगो जस्तो बल्छन्, निभ्छन् । तर कम्युनिष्ट पार्टीहरुमा धेरै विद्धानहरुको भीड भएर नै हो, भुसको आगो बल्दछ, इेगो जलिरहन्छ । विशेषगरी एकअर्कोलाई कसरी सिध्याउने र कसरी आफूमात्र सुरक्षित रहने भन्ने दाऊको खेल हुन्छ । त्यसैले कम्युनिष्टमा खेल नीति नै खराव छ । नियतमा राष्ट्रिय भवनाभन्दा ब्यक्तिगत भावना हावी भएकेा छ, हामी कम्युनिष्टहरुमा । अहिले संसदभीत्रको तमसासमेत पनि यसैको उपज हो । संविधानसभाको परिणामदेखि नै काँग्रेस विभिन्न वहानामा निहुँ खोजीरहेको छ । यसलाई कम्युनिष्टहरुले बुझेर पनि बुझ पचाईरहेका छन् ।

सरकारसमेत संसदभित्रको यो उदण्डताको दोषबाट मुक्त रहन सक्दैन । जवकी माओवादीसंग धारा ८५ अनुसार विध्ययेकमार्फत वजेट ल्याऔं भन्ने माओवादीको आग्रह थियो । तर राष्ट्रपतिले वाधा अड्काऊ फुकाउने भईसकेपछि धारा ९३ अनुसार नै चोर बाटोबाटै जितिछाड्ने कुरामा सरकार गयो । यतिमात्र होईन, सो कुस्ती भइसकेपछि पुनः सरकारले धुर्तता देखायो । जवकि राजीनामा दिईसकेको अवस्थामा त्यसलाई टुंगोमा पुर्याउन छलफल हुने थलो भनेको नै संसद हो । तर एकाएक राष्ट्रपतिलाई अधिवेशन समाप्त भएको घोषणा गर्न बाध्य गरायो । यस चलख्याईंबाट सरकारले आफ्नो आयु त बढाउने चेष्टा त गर्यो नै यसका अलावा राजनीतिक समस्या थप अन्यौल हुने स्थिती सरकार आफैंले निम्त्याएकेा छ ।

यता, यो निर्णायक घढीमा सरकार विदेश गएकेा छ । हाम्रो सरकार दक्षिण अफ्रिका वा परिवर्तनपछि सामाजिक, सांस्कृतिक र आर्थिकरुपमा समृद्ध भएका मुलुक पुगी जनतालाई कसरी समृद्ध बनाउने र गणतन्त्रलाई कसरी बचाउने भन्ने विषयमा सिक्न खोज्दैन, तर वन विराला जोगाउने, फ्याउरा मार्ने सम्मेलनमा भाग लिन संसद नै बन्द गराएर विदेश भ्रमण जान्छ । त्यसैले सवै दोष माओवादीलाई थोर्पनु भन्दा हामीले आफू उभिएको धरातलपनि एकपल्ट हेर्नुपर्दछ । विचरा माओवादी भनेको एउटा पात्र मात्रै हो । त्यो पात्रलाई खेलाउने खेलाडी त नेपाली कांग्रेस नै हो भनेर हामीले बुझौं ।

तपाइँको प्रतिक्रिया