नेपाललाई पराधीन बनाउने प्रचण्डपथ
–शेखर ढुंगेल
नेपाल आज निर्लज्ज नेताहरूको गैह्र जिम्मेवार, नैतिकहीन राजनीतिको शिकार भएर असह्य पिडा मा छटपटाईरहेको छ । मोरललेस नेताहरू बासि हाडको खोसाखोसमा लागेर गन्तव्य बिहिन भएका छन् । नेपाल रूपी सुन्दर बगैँचामा विषाक्त बीज छरेर जातीय, क्षेत्रीय, धार्मिक, सामाजिक द्वन्दको सिस्नुघारी उमारेका छन् । विदेशीहरू त्यसमा मलजल गरिराखेका छन् । निमुखा नेपाली जनता आज ओल्टे फर्के नि कोल्टे फर्के नि परतन्त्रको शिकार भएका छन् । तमाम विकृतिको खिल निचोरेर फ्याँक्न एउटा लडाई लड्नै पर्यो जनता अब आफै उठ्नु पर्यो ।
संसारमा भएको क्रान्ति इतिहासका अध्यतालाइ थाहा नै भएको कुरो हो क्रान्ति देश र जनताको भलाइका लागि जनताद्वारा गरिन्छ । नेपालमा विडम्बना विदेशीको लागि विदेशीको सहयोगमा क्रान्ति भएको छ । जनताको तन्त्र भनेको जनताको लागि अर्थात् जनताले इच्छाइएको तन्त्र हो र जनताको इच्छा शान्ति, स्थिरता, सुरक्षा अनि वाक एवं प्रकाशन स्वतन्त्रता नै हो । खोइ त तथाकथित पहिलो र दोस्रो आन्दोलन ले जनताको तन्त्र स्थापना गरेको ? पहिलो आन्दोलनले एक व्यक्तिको तानाशाही दियो । दोस्रोले तिन दलका तिन टाउकेको तानाशाही दियो खोइ जनता को तन्त्र ? संविधान सभा औचित्यहीन बनाइएको छ । सभासदको मूल्य घरमा पालेको हलीको जत्तिकोपनि छैन । होटेल र रिपोर्टबाटै सबै काम चल्ने रहेछ त किन रचियो यो संविधान सभाको नाटक ? किन रित्याइयो राष्ट्रको ढुकुटी ६०१ जनालाई तबल भत्ता खुवाएर ? यो प्रश्नको जवाफ पाउन अब लड्नै पार्ने भएको छ ।
स्पष्ट देखिएको तथ्य के हो भने नेपालमा बन्दुकको युद्धले बन्दुकतन्त्र स्थापना भएको छ । राजनैतिक दल नै जनतासित लुटेको सम्पति फिर्ता गर्दिन भन्छ यो भन्दा अर्को अपराधिक तन्त्र संसारमा कहाँ छ ? २७ वटा कथित राजनैतिक दल (बन्दुक तन्त्र का समर्थकहरू) ले सवा सय सशस्त्र अपराधिक समूह पालेका छन् । यो भन्दा बढी नेपालमा गनतन्त्रको साम्राज्य रहेको के प्रमाण चाहिन्छ ?
नेताहरू झूटो बोलिरहेछन संक्रमणकाल भन्दै । आफ्नो जिम्मेवारीबाट उम्कन खोज्दैछ । वास्तवमा नेपाल र नेपाली, यो देशको धर्म संस्कृति, सामाजिक विशिष्टता, हाम्रो एकता, स्वाधीनता, राष्ट्रिय अस्मिता, माथि विदेशीले आक्रमण गरेको काल हो । यस बाट मुक्ति पाउन उठौं एउटा लडाई लड्नै पर्छ ।
प्रचण्ड पथ लगायत च्याउ झैँ उम्रिएका मानवअधिकारवादी देखि अनेक एन जि ओ, आइ एन जि ओ, नेपाल मा आतंक हुर्काउन, द्वन्द्व बढाउन मात्र चाहन्छन् । देशमा राम राज्य भैदियो भने त तिनको के काम ? ती सब बेरोजगार हुन्छन् । देशको अस्थिरता र द्वन्द्वका पृष्ठपोषक यस्ता राज शाही ठाँटका विदेशी भाडाका टट्टूहरूलाई नांगेझार पार्न एउटा लडाई लड्नै पर्छ । यिनीहरु कै कारण नेपालमा नर्वेतन्त्र, स्विडिसतन्त्र, फिनिसतन्त्र, विहारी तन्त्र चलेको छ । उनीहरूको तन्त्र कायम रहन नेपालमा गनतन्त्र नै चाहिन्छ । यिनीहरुले कुनै न कुनै बहानामा बन्दुक बिकाइरहन्छन । त्यसैले यिनीहरुको विरुद्धमा एक भएर खबरदारी लडाई नलड्ने हो भने नेपालमा सोमालिया, अफगानिस्तानमा झैँ गनतन्त्र लामो समय सम्म चलीरहन्छ ।
गनतन्त्र कै कारण नेटो तन्त्रले इस्ट टिमोरलाइ इन्डोनेसियाबाट छुट्याईदियो । गनतन्त्र कै कारण झन्डै झन्डै टुक्रिएर श्रीलंका भने बचेको छ । शान्तिदूत को खोल ओढेर गनतन्त्रलाइ प्रोत्साहन गर्ने नर्वे, स्वीडेन अनि अन्य युरोपेली देशको अभीष्ट नेपाललाई जनजातिको अधिकारको नाममा लडाएर श्रीलंका नेपाल जस्ता देशमा इसाईहरूको साम्राज्य कायम गर्नु हो । रूसी महा संघको विघटनपछि उदाएको नया शक्ति चीनलाई प्रजातन्त्र, मानवअधिकार नाममा तहस नहस पारेर गनतन्त्र भित्र्याउन दक्षिण एसियामा अति सामरिक महत्वको देश नेपालमा स्थिर सरकार, कुसल नेता रहेमा नेटो तन्त्रले आफ्नो गन बिकाउन नसक्ने भएकोले यहाँ अस्थिरताको खेती गरिराखेको छ । यसको पर्दाफास गर्न एउटा लडाई लड्न कम्मर कस्नुपर्यो ।
गनतन्त्रका नेता प्रचण्ड पथको धर्म निरपेक्षता, स्वाधीनता अनि झन्डै बदल्ने आवाज अस्थिरता लाद्ने विदेशीकै आवाज हो । प्रचण्डपथ एउटा निमित्त नायक मात्र हो । निर्देशक पर्दा पछाडी रहेको तथ्य त दिल्लीमा त्वमशरणम गर्नु, नेपालको दरबार ढाल्न दिल्ली दरबार गुहार्नुबाट छर्लङ्ग भइसक्यो । प्रचण्डपथ नेपाल र नेपालीको विरुद्ध हो । एकातिर स्वाधीनताको लडाई भन्छन् अर्कोतिर आँखा चिम्लेर तत्कालीन दरबारले रोकेर राखेको विवादास्पद राष्ट्रघाती नागरिकता विधेयकलाई पास गर्न अगाडी बढे ।
अहिले पनि निर्वाचन आयोगले गरेको अर्को राष्ट्रघाती असंवैधानिक नागरिकता बिना नै मतदाता परिचय पत्र बनाउन सहमत भएको बिषयलाइ थाहा नपाए झैँ चुप चाप बसेको छ । स्मरण रहोस् अहिले वितरण गरिएको मतदाता परिचय पत्र नै राष्ट्रिय परिचय पत्र अर्थात् नागरिकता प्रमाण पत्र हो । यस्तो विषयमा नबोल्ने प्रचण्ड पथले स्वाधीनताको लडाइ गर्छु भनेको हाँस्यास्पद मात्र होइन भारतलाई नेपालमा राज गर्न (हस्तक्षेप) निम्तो दिएको हो भन्दा फरक पर्दैन । अर्को शब्दमा प्रचण्ड पथ नयाँ लेण्डुपदोर्जे बन्दै छन् ।
जुन दिन प्रचण्डले दिल्ली दरबारमा आफूलाई समर्पण गरि नेपाल दरबार भत्काए त्यसै दिनबाट प्रचण्डपथको तथाकथित भारत विरोधी प्रसंग आर्यघाटबाट बगिसक्यो । जनतालाई झुक्याउनु नैतिक आधार नै छैन । नेपाल प्रचण्डपथ नआउँदासम्म स्वाधीन थियो । प्रचण्डपथलेनै नेपाललाई पराधीन बनाएको हो । संयुक्त राष्ट्र संघ (अन्मिन) मार्फत परोक्ष नेपालले आफ्नो अधीनता गुमाईसक्यो । अनमिन नेपालको सरकार नामको बुख्याचालाई धक्क्याउँछ । यो गर त्यो गर भन्छ । हाम्रो राष्ट्रिय सेनाको रेख देख गर्छ । त्यो पराधीनता होइन ? अनमिन बोलाउने प्रचण्डपथ होइन ? विभिन्न आवरणमा विदेशीको ओइरो लगाउने प्रचण्ड पथ नै हो । भारतीय झन्डा बोकेको बस चढेर रमाउँदै संविधान सभा जाने प्रचण्ड पथका दूतहरू नै हुन् ।
आज नेपालीले लड्नुपर्ने लडाई हो देशको अस्मिता छिया छिया पार्ने तीन दलको निरंकुशताको विरुद्ध । हाम्रो एकता, सद्भाव, भाइचारालाई चकनाचूर पार्ने तत्वको विरुद्ध । हाम्रो धर्म संस्कृति, भाषा, सामाजिक विशिष्टतालाई विस्थापित गर्न खोज्ने राष्ट्रघातीहरूको विरुद्ध । जातीयता, क्षेत्रीयता अधिकारको नाममा द्वन्द्व चर्काएर नेपाल भूमिलाई आफ्नो स्वार्थ सिद्धिको मैदान बनाउन खोज्ने अन्तरराष्ट्रिय एजेन्टहरूको विरुद्धमा । संविधान संविधान भन्दै नेताहरू नेपाली जनतालाई मूर्ख बनाएर आआफ्नो अनेक कुकृत्यलाई धुन पखाल्न खोजिराखेका छन् । जबसम्म अहिलेका नेताहरूको नीति, नियति र प्रवृतिमा परिवर्तन आउँदैन संविधान बन्नु र नबन्नुमा केही फरक पर्दैन । खोइ त बेलायतमा आजसम्म अलिखित संविधानले चलिराखेको छ । आफ्नो मति भ्रष्ट अनि विदेशीको धुनमा नाच्ने नेताहरुबाट मुक्ति नै आजको मुख्य लडाई हो । उठौं जागौं नेपाली हो अर्को एउटा लडाई लड्न उठौं ।




