विश्वभरि नेपाल चिनाउँदै फ्रान्सेली योगी

कहिल्यै नेपाल नगएका बेन्वा क्रेसों रहेछन् नेपालप्रेमी । उनी राजायोगाका गुरु रहेछन् । “म फासे फुसी गुरु हुँ” भनेर चिनाए आफैंलाई । गफगाफ त्यहिँबाट शुरु भो । गफ्फिँदै जाँदा थाह भो, उनी हरेक आइतवार राजायोगा गर्ने रहेछन् । त्यहि योगा गर्ने ठाउँमा भेट्न बोलाए । योगाका अनेक पाटा बारे सुनाए, नेपालबारे जिज्ञासा राखे । उनकापनि एक जना गुरु रहेछन् मिसेल सिमोन । यूरोपभरिका राजायोगा केन्द्रका गुरु ।

बेन्वासित कुरोकानी तन्किँदै जाँदा थाह भयो, मिसेल त राजायोगाका बारेमा सिकाउन संसार घुम्ने रहेछन् । बसाइ सर्ने चरो झैं आज फ्रान्स छ भोली बेलायत । यो हप्ता अमेरिका पुग्यो अर्को हप्ता अफ्रिका । बेन्वाले मिसेलसित गफ गर्ने हो भने फ्रान्सेलीको अनुभव बारेको आगामी पुस्तक लेखनलाई गतिलो पात्र हुन सक्छन् भनेर सुझाए । उनैको सुझावमा करिब ६ महिनापछि भेट भयो । अफ्रिकामा रहेका मिसेलले ईमेलबाट जानकारि दिँदै थिए । पेरिस फर्किएर आफैंले फोन गरिगरि बोलाए ।

योगी न परे, आफुलाई न योगीका बारेमा जानकारी छ । न राजायोगाबारे उति ज्ञान । ज्ञाननै छैन भने के सोध्ने ? आपत पर्‍यो । अनि हाकै भनें “मलाई यस विषयमा ज्ञान छैन । तपाइले नेपालको अनुभव सुनाउनुस् । योग गरेर के फाइदा, के बेफाइदा हुन्छ भन्नुस् । नेपालमा योग गर्न जानु र अन्य देश जानुका भिन्नतापनि बाँडिदिनुस्”। सरर बोल्दै गए उनी ।

नेपालका जेल, कस्टडी र अस्पत्तालहरुमा योग सिकाउँदै, योगको महत्व बुझाउँदै हिँड्ने रहेछन् उनी । करिब १३ पटक नेपाल पुगेका रहेछन् । जति पटक नेपाल गए उनको साथ र कामको केन्द्र योगस्थलहरुनै रहे । कि त प्रहरी कार्यालयमा पुगे थुनुवाहरुलाई योगासन सिकाउन । प्रहरी अधिकारीहरुलाई योगको ज्ञान दिन । दिनभरि प्रहरी कार्यालयमा केरकार गर्छन् । यातना दिन्छन् । थर्काउँछन् प्रहरीहरु । हामीलाई लाग्छ, प्रहरीहरु निर्दयी हुन्छन् । अरुलाई यातना दिएर मज्जा लिन्छन् । अरुलाई यातना दिँदा तिनको मन कुँडिन्न । अलकतिपनि छुँदैन पिडितका रुवाईले ।

तर होइन रहेछ । मिसेलको अनुभवले भन्छ, दिनभरिको यातनाले ति साँझ एकोहिरिन्छन् । रुन्छन् । तनाब झेल्छन् । मानसिक रुपमा बिक्षिप्त हुन्छन् । ति हुटहुटिन्छन् । भौंतारिन्छन् मुक्तिका लागि । प्रायश्चित गर्छन् । त्यसैले तिनलाई मानसिक रुपमा उपचारको खाँचो हुन्छ । यस्ता प्रहरी केन्द्रमा धेरै पटक राजायोगाको ज्ञान दिएका छन् मिसेलले ।

तिनलाई शान्त पार्नु । दिमाख ठण्डा बनाउन सहयोग गर्नु । प्रहरीहरुलाई अलि नरम बनेर अपराधी, आरोपितहरुलाई केरकार गर्न उत्साहित गराउनु । यातना कम गराउनु । जेलमा बसेका, मानसिक समस्या भोगेकालाईपनि योगको माध्यमले, नैतिक शिक्षाको माध्यमले सकारात्मक सोचको बिकास गराउनु उनको ध्येय हो । यातना खप्न बाध्यहरु, अपराधी भनिएकाहरु सबै र सधैं खराब हुँदैनन् । ति बाध्यता र परिस्थितिले वा कहिलेकाहिँ झुक्किएर र उत्तेजनामा परेरपनि गलत काम गरेका हुन्छन् । तिनलाई सुधार्ने हो भने ति समाज र परिवारको लागि असल काम गर्न सक्छन् ।

उनले नेपालका खास गरि तराई क्षेत्रका धेरै जेलनेल घुमेका छन् । थुप्रै अस्पत्ताल पुगेका छन् । अस्पत्तालमा उनी दिर्घ रोगीहरुलाई योग सिकाउँछन् । जिवन र जगतप्रति सकारात्मक बन्न हौसला बाँड्छन् ।

डाक्टरहरुको जिवन देख्दा हामीलाई लोभ लाग्छ । ओहो ! कति पैसा कमाउँछन् । मस्ति हुन्छ । मानव सेवापनि हुन्छ । तर डाक्टरहरुपनि बिरामीको उपचार गर्दा गर्दै बिक्षिप्त हुन्छन् । दुखि हुन्छन् ती । हरेक दिन अर्काको घाउ चिर । सरिर चिर । रोएको हेर । बिलौना सुन । ऐया र आथ्था गर्छन् । घाउ हेर । जिवनकालागि बिन्ति बिसाउँछन् । तर तिनको हातमा जिवन दान हुन्न । खेलाउँदा खेलाउँदैको वालक हातैबाट बिदा हुन्छ । बिलौना गर्दा गर्दैको मान्छेले सदाको लागि आँख चिम्लिन्छ । कहिले टाउको फुटेर रगताम्मे हुँदै आएका बिरामिलाई काखैमा राखेर उपचार गर । तिनको जिवन हामीले देखे बुझे जस्तो हुन्न । हरेक दिन यहि देखे भोगेका डाक्टर साँच्चै दुखि र बिक्षिप्त हुन्छन् । त्यसले गर्दा परिवारमा मनमुटाब हुन्छ । आफन्त टाढिन्छन् । कि त बुझ्नै सक्दैनन् तिनका पीडा । हो मिसेल यस्तै डाक्टरहरुलाई सहयोग गर्न अस्पत्ताल धाउँछन् । आध्यात्मिक ज्ञान दिन्छन् । तिनको पीडा कम गर्न सहयोग गर्छन् । तिनलाई शान्त, सौम्य र बुझक्कि बनाउन सहयोग गर्नु मिसेलको धर्म हो । उनको आनन्द हो, जिवनको उद्देश्यपनि त्यहि हो ।

उनले यस्ता सयौं चिकित्सक, सयौं प्रहरी अधिक्रित र जेलमा यातना भोगेका सयौं ब्यक्तिलाई योग सिकाएका छन् । उनको अनुभवले भन्छ “योगले यस्ता उत्तेजना, आबेग, रिस राग, छटपटी, नैराश्यतालाई कम गर्छ । मान्छेलाई सहि मार्ग दिन सघाउ पुर्‍याउँछ । जिवन र जगत प्रति सकारात्मक बनाउँछ ।”

कुन कुन देश पुग्नु भो ? मैले यो प्रश्न गर्दा एकछिन अकमकिए । बिस्तारै सबै महादेशका देशहरु गन्दा औंला भाँच्दै गए । नाम चलेका, सुनिने, बोलिने देश कहिँ नपुगेझैं उनलाई लागेन । भने “सबै देश त म पुगेको छैन होला विश्वभरिको । तर नगएका देश उति छैनन् होला ।” यत्रा देश चहारेका उनी नेपालको के भिन्नता देख्छन् ? उनको अनुभवमा नेपालीको दया माया र दयालु भावका बारेमा त उनले भनिराख्नु उति खाँचो छैन । किन ? यसबारे धेरै लेखिएकै छन्, हरेक जस्तो फ्रान्सेलीले यसै भन्छन् । उनलाई अचम्म लागेको एउटा पक्ष छ । पाहुना सत्कार । नेपालीहरु पाहुना सत्कार थरी थरी प्रकारले गर्छन् ।

भारतबाट उनी बिरगंज नाका हुँदै छिरेका थिए पहिलो पटक । त्यो दिन स्थानिय एउटा स्कूलमा योगको प्रवचन दिने कार्यक्रम थियो । ओहो हो ! सयौ बिध्यार्थी र बालबालिका साना साना फूलका गुच्छा हातमा बोकेर लाम बसे । उनी आइपुगेपछि थाम्नै नसक्ने गरि उपहार दिए । उनलाई लाग्यो ‘यो क्षेत्रमा मलाई विशेष रुपमा लिईएछ’ । ए होइन पो रहेछ त ! पछि उनी पोखरा, चितवन, बिराटनगर जता जाँदापनि यहि आत्मियता र सम्मान पाए । उनले यो विश्वमा नेपालको मात्रै अनुपम पाहुना स्वागत शैली र आदरका रुपमा बुझ्ने गरेका छन् । विश्वका जति मुलुक जान्छन् उनी नेपालीको प्रशंसा सुनाउँछन् ।

योग त योग नै हो । के फरक छ अन्य देशमा योग गर्नु र नेपालमा ? के भिन्न हुनसक्ला नेपालमा योग गर्दा ? मिसेल भिन्न देख्छन् । नेपालको हावा । नेपाली हिमाली द्रिष्य । नेपाली आतिथ्य । यसले भिन्नै आनन्द दिन्छ । भन्छन् “अफ्रिकाको ४५ डिग्रि तापक्रममा पसिना चुहाउँदै योगाभ्यास गर्नु र पोखरामा टिलिक्क टल्केका सेताम्मे हिमालको काखमा बसेर त्यहाँबाट सिरिरि बगेको चिसो हावाको स्पर्श गर्दै योग गर्नु एकै हुन सक्छ र?”

तपाइँको प्रतिक्रिया