वेल्जियम एनआरएन र आगामी अधिवेशन

युवराज गुरुङ / एन्टर्पेन, वेल्जियम

वेल्जियम एनआरएनले आगामी तेश्रो अधिवेशनको मिति तोकि सकेको छ । संस्थाले चाँडै निर्वाचन कार्यक्रम र आवस्यकीय उपसमितिहरू तोक्ने जानकारी सार्वजनिकसमेत गरिसकेको छ । प्रवाशमा रहने नेपालीहरुको साझा संगठन एनआरएनको घोषित यस कार्यक्रमलाई वेल्जियमका आम नेपाली र यहाँका संघ संस्थाले महत्वका साथ चासो दिन थालेका छन् ।

एनआरएनको आगामी अधिवेशन प्रति चासो मात्र हैन, केही संघ संस्थाहरूले गृहकार्य गर्न समेत थालिसकेको चर्चा सुन्नमा आएको छ । चर्चा परिचर्चा र तयारी आफैमा गलत अवस्य पनि हैन । वेल्जियममा तीन दर्जन भन्दा बढि संघ संस्थाहरू क्रियाशिल रहेतापनि एनआरएनको सन्दर्भमा सबैभन्दा बढि चासो दलीय राजनीतिक पार्टीका भाइचारा संगठनहरुलाई हुने गर्दछ । दलीय आस्थामा संगठित संघ संस्थाले एनआरएनमा बढि सक्रियता देखाउनुलाई स्वाभाविक मान्नेको जमात अपेक्षाकृत बढि देखिन्छ । तरपनि एनआरएनको मूल्य मान्यता र तिनका आदर्शलाई आत्मसात गर्ने हो भने त्यो पटक्कै नसुहाउने विषय हो भन्न करै लाग्दछ । अझ एनआरएनको अघिल्लो प्रवृत्तिलाई निरन्तरता र बढावा दिने हो भने त आगामी अधिवेशन, त्यसको नतिजा प्रति वेल्जियमवासी नेपाली समुदायको मोह भंग हुने निश्चित प्राय देखिन्छ ।

एनआरएन एक गैर राजनितिक, नाफा रहित सामाजिक संस्था हो । यद्यपि यसका कयौं एजेन्डा, उद्देश्य तथा कार्यक्रमहरू राजनितिक छन् । अर्थात् राजनैतिक तहमा मात्र यसका मागहरू संवोधित र अनुमोदित हुने हैसियत राख्छन् । तर त्यसमा कुनै दलगत राजनैतिक पार्टी विशेषसँग मात्र एनआरएनका मुद्दाहरू संवन्धित हुने गर्दैनन । यसर्थ, एनआरएनले राजनितिक सरोकारको विषयमा दलीय राजनीति भन्दा माथि उठेर राष्ट्रिय राजनीतिलाई चाहिँ विशेष प्रभाव राख्दछ भन्नुमा यथार्थता देखिन्छ । यस सन्दर्भमा राष्ट्रिय राजनीति र दलीय राजनीति बीचको स्पष्ट रेखांकनलाई नजर अन्दाज लगाउँदै दलीय स्वार्थ पूरा गराउन प्रवाशमा एनआरएनलाई उपयोग गर्ने राजनितिक दलको इशारामा स्थानीय शक्तिहरू उद्यत देखिन्छन् । दलीय चिन्तन र स्वार्थको अस्वस्थ प्रतिस्पर्धाको दौडमा गैरआवासीय नेपालीहरुको एक मात्र साझा र पवित्र संस्थामा खास गरि ती राजनितिक दलका भाइचारा संगठनहरुले एनआरएनको मूल्य र मान्यता विपरीत अघोषित रुपमा कब्जा जमाउन खोज्ने जुन प्रवृति र शैली देखिन्छ, त्यो आफैमा दुखद र अशोभनीय मान्न सकिन्छ ।

वेल्जियम नेपाली समुदाय भित्रका सतहमा देखिएका तमाम् चरित्रका वावजूद फेरि एक पटक एनआरएनको आगामी अधिवेशनको तिथिले हामी सबैलाई गम्भिर भएर सोच्ने चुनौती दिएको छ । एनआरएनको आगामी अधिवेशनलाई सम्पन्न गराउन हामी सँग दुईवटा विकल्प छन् : यहाँका अन्तर संस्थागत, अन्तर समूहगत र अन्तर गूटविचका हिजो देखीका सारा प्रतिस्पर्धाका अस्वस्थ सूत्रहरू अरू सशक्त ढंगले एनआरएनको आगामी अधिवेशनमा प्रयोग गर्न छुट दिने या आम वेल्जियमवासी नेपाली समुदायको भावनारुप एनआरएनलाई अरू पवित्र र सशक्त बनाउने । निश्चय नै हामीले दोश्रो विकल्पलाई स्थापित गराउन र पहिलो पवृत्तिलाई निरुत्साहित गर्न संकल्पका साथ अघि बढ्नु पर्दछ ।

एनआरएनको गिर्दो साखलाई सुधार गर्न, दोश्रो पुस्ता तथा सबै नेपालीको आस्थाको धरोहर बनाई राख्न र मातृभमी प्रति अझ उत्तरदायी बनाउन एनआरएनलाई थप शुद्धीकरण र सबलीकरण अपरिहार्य देखिन्छ । हामीले हिजोका कमी कमजोरी र अस्वस्थ प्रतिस्पर्धालाई सामूहिक रुपमा सबै संघ संस्था र जिम्मेवार व्यक्तिहरू बसेर निदान गर्दै साझा दृष्टिकोण र कार्यक्रम तय गर्नु पर्ने देखिन्छ । कुनै पनि  दलीय, क्षेत्रीयता, जातीयता, गुट उपगुटको संकिर्णताबाट जोगाई एनआरएनलाई अरू जिम्मेवार, उत्तरदायी र अभिभावकीय संस्थाको दर्जामा पुर्याउन आजको चुनौती र अवसर दुवै हो ।

व्यक्तिको जस्तै संगठनको पनि शरीर, अंग, स्वभाव, शैली र पवृत्ति हुन्छ, जसलाई क्रमिक सुधार र उर्जावान बनाउँदै लैजान समय, मेहनत र त्यागको आवश्यकता पर्नेमा कसैको दुईमत हुन सक्दैन । निश्चय नै विश्वव्यापी संजाल भएको एनआरएन जस्तो वृहद संस्थामा आफ्नो वर्चस्व कायम राख्न व्यक्ति समूह वा संघ संगठन उद्यत हुनु आफैँमा अनौठो पनि नहोला । तर एनआरएनका अन्तर्निहित मूल्य मान्यताको साखनै धूमिल गराउने तरिकाले गरिने अस्वस्थ प्रतिस्पर्धा कदापि पुनरावृत्ति गरिनु हुन्न ।

वेल्जियम एनआरएन भित्र चरम महत्वकांक्षा राख्ने राजनितिक संघ संगठन समूह र व्यक्तिहरूद्वारा नै अहिलेको असहज परिस्थिति श्रृजना भएको यथार्थतालाई स्विकार्दै तिनिहरूकै सक्रियतामा आगामी अधिवेशनलाई सन्तुलित बनाउन जिम्मेवार र उत्तरदायी भूमिका निर्वाहको नितान्त जरुरी छ । राजनितिक संघ संगठन बाहेक दर्जनौ अन्य संघ संस्था र स्वतन्त्र एनआरएनहरुको पहिचान र अस्तित्वलाई सम्मान गर्दै सहअस्तित्वको आधारमा सबैको भावनाको प्रतिनिधित्व हुने साझा र सम्मानित संस्था एनआरएन स्थापित गर्नु सबैको कर्तव्य हो । वर्तमान नेतृत्वको समन्वयात्मक पहलकदमीमा वेल्जियम एनआरएनसँग प्रत्यक्ष सरोकार राख्ने क्रियाशिल व्यक्ति व्यक्तित्व र संघ संस्थाहरूको सामूहिक छलफल, अन्तर संवाद र अन्तरक्रिया गरेर साझा मूल्य मान्यतालाई सहमतिका आधारमा तय गरिनुपर्छ । त्यस्तै, विस्तृत आचार संहिताको दायरामा ल्याई आसन्न एनआरएन बेल्जियमको अधिवेशन गराउनु आजको आवश्यकता हो भन्ने ठान्दछु । हामी सबैको संयुक्त पहलले एनआरएन अरू पवित्र हुनेमा शंकै छैन । एनआरएन प्रति झाँगिदैं गएको वितृष्णाको खेतीमा हरियाली छाउने निश्चित छ । आखिर नेपाली मन न हो, एनआरएनको माया सबैलाई छ । आज नभए नि भोलि त पलाई हाल्छ नि ! 

लेखक एन आर एन, बेल्जियमका पूर्व अध्यक्ष हुन् ।

तपाइँको प्रतिक्रिया